बस्तीनै पहिरोको उच्च जोखिममा : स्थानीय घर छोड्दै

डम्मर बुढा मगर, बागलुङ
गत वर्ष भदौमा गाउँ नजिकै ठूलो पहिरो गयो । पहिरोले सिंगो गाउँनै जोखिममा प¥यो । स्थानीय बासस्थान छोडेर भागाभाग गरे । बर्खा सकिएपछि जोखिममा रहेकै घरमा फर्किए । अहिले फेरि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अरुको आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहाडै खसेपछि जोखिममा परेको रामतोला बस्तीमा अहिले पनि पहिरो झर्न थालेको छ । पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको छ । उनीहरु रातभर जागराम बस्ने गरेका छन् ।

रामतोलाका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिरोको खतरामा छन् । पहिरोले खानेपानीको दुई वटा ट्याङ्कीसमेत बगाउँदा गाउँमा खानेपानीको समस्यासमेत थियो । केही समयमै व्यवस्थापन भएको थियो । अहिले फेरि उस्तै जोखिमा परेको छ । घर, गोठ र जग्गा जमिन पहिरोको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीयले बर्खा भरीका लागि गाउँ छोड्न बाध्य भएका छन् । हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने स्थानीय कुलराज शर्माले बताउनुभयो ।

उहाँले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्दा साथ अरुको घरमा बस्न थालेको बताउनुभयो । अहिले पनि वस्तुभाउ जोखिम रहेकै गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माको भनाइ छ । बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको उहाँको भनाइ छ । पौडेल र नेपालीको अघिल्लो वर्षमै घर गोठमा क्षति पुगेको उहाँले बताउनुभयो ।

शर्मा भन्नुहुन्छ – “पोहोर साल पहिरोले भए भरको बारी बगायो, घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरुको घरमा बसेका छौँ, रातभरी निन्द्रा लाग्दै, उनीहरु आएर घर खाली गर्न भने कहाँ जाने ?, के गर्ने दैवी लाग्यो, रोक्न पनि सकिएन, अहिले थोरै बारी छ, त्यहीमा काम गरेर परिवार चलाएको छु, त्यही पनि यस वर्ष बगाउँछ जस्तो छ, अलिअलि हुने खाने गाउँ छोडेर गए, मेरो त अन्तै जाउँ भने पनि जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ ।”

चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको शर्मा बताउनुहुन्छ । पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उहाँले गुनासो पोख्नु भयो । गत वर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुको साथै जमिन भासिरहेको शर्माले बताउनुभयो ।

सोही गाउँका विरबहादुर क्षेत्री पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिनु भएको छ । क्षेत्रीको पहिरोले गत वर्षनै खेतबारी बगाइ दिएको थियो । घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको क्षेत्रीले बताउनुभयो । गत वर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको सुनाउनुभयो ।

“यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पु¥याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासी पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,” क्षेत्रीले भन्नुभयो – “अहिले पनि पोहोर सालको जस्तै पहिरो गयो भने यो गाउँनै रहँदैन, अहिले पनि बर्खाले माथिको पहाड झर्न थालेको छ, यो पहाड झ¥यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरु बगाउँछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *