व्यवस्थित बन्दै गाईघाट झरना

डम्मर बुढा मगर, बागलुङ
बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बाह्रै महिना सफा पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरि रहेको छ । गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरे पश्चात यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको छ ।

झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले झरनासम्म पुग्ने गरि दरमखोलामाथि ट्रस पुल निर्माण गरेको छ भने तालसमेत निर्माण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट झरना वरपरको क्षेत्रमा सोलार बत्तिसमेत जडान गरेको गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोका मगरले जानकारी दिनुभयो ।

पहिले सडकदेखि झरनासम्म जोड्ने गरि निर्माण भएको झलुङ्गे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको उहाँको भनाइ छ । झरनाको सौन्दर्यकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि १५ लाख र पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष रोका मगरले बताउनुभयो ।

उपाध्यक्ष रोका मगरले भन्नुभयो – “अहिलेसम्म झरनाको अवलोकन उज्यालोको समयमा मात्रै गरिन्थ्यो, अब झरनाको रातको समयमा पनि अवलोकन गर्न सकिन्छ, अहिले सोलार बत्ति जडान भएको छ, पहिलेको तुलनामा अहिले धेरै पूर्वाधारहरु निर्माण भइरहेका छन्, हामीहरुले पनि धेरैभन्दा धेरै पर्यटक भित्राउने गरि झरनाको सौन्दर्यकरण गर्ने र त्यस वरपर विभिन्न किसिमका संरचनाहरु बनाउने योजनामा छौँ, थप व्यवस्थित बनेपछि पर्यटक पनि बढी आउनुहुने छ ।

पाँच वर्ष अगाडिको तुलनामा अहिले झरनाको स्वरुपमा धेरै परिवर्तन आएको स्थानीय अम्मरबहादुर नाइसाले बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक ५०÷६० जना भन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ । बिदाको समय र चाडपर्वको बेला तीन सयको हारहारीमा पर्यटक आउने गरेको नाइसा बताउनहुन्छ । झरनाले गर्दा मध्यपहाडी लोकमार्ग हुँदै ढोरपाटन र पातीहाल्ने जाने पर्यटक पनि यहाँ आउन थालेको उहाँको भनाइ छ ।

“यो झरना धेरै वर्ष पुरानो हो, पहिले झरना हुँदै हिड्ने यात्रुहरुले पानी पिउने ठाउँ थियो, अहिलेको जस्तो यस्सतो चििर्चत थिएन, पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्,” नाइसाले भन्नुभयो – “ठाउँ अलिकति विकट थियो, यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै धेरै पर्यटक आउने थिए ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *