डम्मर बुढा मगर, बागलुङ
आज साउन १ गते अर्थात साउनेसक्रान्ति । साउने सक्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले धुमधामका साथ मनाउने गर्छन् । विहानदेखि साँझसम्म चेलीबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने दुःख सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । तर पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको छ ।
बजारमा त यो प्रचलन हराइसकेको छ भने बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलनमै छ । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएको प्रति बुढापाका चिन्तित बनेका छन् । आफूहरुले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको र अहिलेका पुस्ताले कुनै पनि परम्परा संरुक्षणमा चासो नदिँदा हराउँदै गएको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताउनुभयो ।
पहिले–पहिले आउने सक्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपाते जस्ता औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौती लगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको उहाँको भनाइ छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फु बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको पुनले बताउनुभयो । यसरी तुलो फाल्दा रोग व्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको उहाँको भनाइ छ ।
“पहिले–पहिले साउनेसक्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जंगल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडाहरु जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैको बारीमा फलिन्थ्यो, लुतो फाल्दा दुःख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने ?” पुनले भन्नुभयो – “मैले त अहिलेसम्म अलिअलि आँखा देख्छु फल्दै आएको छ, मेरो परानपछि त कसले फाल्ला र ?, लुतो फाल्ने विधि सिक्न कसैले चासो दिदैनन् ।”
स्थानीय युवा प्रेम बुढा मगरले असारमा किसानहरुले बारीमा रुज्दै भिज्दै खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद लगाएको रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको बताउनुभयो । उहाँले आफूहरुले बुढापाकाबाट नसिक्दा लुतो फाल्ने प्रचलनसहित थुप्रै परम्परा हराउँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामी सानो हुँदा बाउ बाजेले विभिन्न विधि पद्धती अपनाएर लुतो फाल्ने गर्नु हुन्थ्यो, तर अहिले उहाँहरु हुनुहुन्न, उहाँहरुको देहान्तपछि लुतो फाल्ने प्रचलन पनि हरायो, हामीहरुले उतिबेला सिकिएन, अलिअलि त देखियो, अब हामी पछिका पुस्ताले त झन् सुन्न पनि नपाउने भए ।”
लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाहरुले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनुका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । व्रत बस्ने, हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भने बढेको छ । यसले विकृतिसमेत भित्राएको बुढापाको गुनासो छ ।