एकता सहकारीको रजत वर्ष शुरु : प्रविधिमैत्री सेवामा जोड

आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बागलुङ २५ औं वर्षमा प्रवेश गरेको छ । रजत वर्ष शुभारम्भको अवसर पारेर आर्थिक वर्ष २०८०/०८१ भरी संस्थाको सामाजिक सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

संस्थाले सञ्चालन गर्दै आएका वित्तीय तथा गैर वित्तीय सेवाहरुलाई थप प्रभावकारी बनाउने, जिल्लाभर कार्यक्षेत्र रहेकाले सबै पालिकाहरुमा संस्थाको सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माले बताउनुभयो ।

संस्थाको सेवालाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने, संस्थाको दिगोपनाका लागि आवश्यक योजना तथा रणनीतिहरु तयार गरी कार्यान्वयन गर्ने, सदस्य केन्द्रीत गतिविधिलाई वर्षभरी नै सञ्चालन गरिने शर्माले बताउनुभयो ।

संस्थाका संरक्षकहरु देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले रजत वर्ष शुभाम्भको शुभकामना व्यक्त गर्नु भएको थियो । बागलुङ बजारमा वचत तथा ऋणको कारोबार गर्ने नेतृत्वदायी संस्थाका रुपमा रहेको एकता सहकारी संस्थाले जिल्लाको सहकारी अभियानलाई अगाडि बढाउन समेत महत्वपूर्ण योगदान गरेको छ ।

राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन पूर्व प्रतिनिधिसंस्थाका रुपमा काम गर्नुका साथै जिल्ला सहकारी संघ गठन र सञ्चालनमा समेत संस्थाको महत्वपूर्ण भूमिका रहेको थियो । संस्थाले विगतमा गरेका महत्वपूर्ण कामहरुलाई निरन्तरता दिदै थप सक्रियताका साथ आगामी दिनमा कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष शर्माले बताउनुभयो ।

१ हजार ७ सय जना शेयर सदस्यसंग कारोबार गर्दै आएको संस्थामा ९ करोड ५० लाख शेयर पूँजि, २७ करोड वचत, ४ करोड जगेडाकोष, ३३ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

आफ्नै भवनबाट कारोबार सञ्चालन गरेको संस्थाले उपल्लाचौर, काठेखोला गाउँपालिका–५, बिहु र गलकोट नगरपालिकामा सेवाकेन्द्र सञ्चालन गरेको छ ।

संस्थाले ४ वर्षे रणनीतिक योजना बनाएर १५ हजार सदस्यसंग कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । संस्थाले वित्तीय, गैर वित्तीय सेवाका साथै सामाजिक अभियानहरु पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा सबै गतिविधिलाई थप प्रभावकारी बनाउदै लगिने प्रवन्धक राजभण्डारीले बताउनुभयो । यसैबीच संस्थाको गलकोट सेवा केन्द्रमा पनि रजत वर्ष शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले पछिल्लो समय केही सिद्धान्त विपरित काम गर्ने सहकारीका कारण आम सहकारीप्रति देखिएको नैरास्यता र नकारात्मक भावनालाई चिर्दै सहकारीहरु अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *