ताराखोला गाउँपालिकामा पुग्यो पहिलो पटक कालोपत्र सडक


आदर्श अनलाइन, बागलुङ

कुनै दिन दुर्गम गाउँका रुपमा चिनिथ्यो ताराखोला ।

अहिलेको ताराखोला गाउँपालिका अन्र्तगतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन ।

एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला ।

तर स्थानीय तहपछि ताराखोलामा विस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाको रुपम चिनिएको ताराखोला विकासले क्रमस सुगम बन्दै गएको छ ।

भौगोलिक विकटताका कारण विकासमा पछाडी परेको ताराखोला गाउँपालिकामा पहिलोपटक कालोपत्र सडक पुगेको छ ।

ताराखोला गाउँपालिकाको त्रिसुल चोक देखि माझखर्क गाउँ सम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ ।

ताराखोला गाउँपालिकाको रिजालचोक माथी रहेको त्रिसुल चोकदेखि माझखर्क हुँदै खरीखोला सम्म सडक कालोपत्र भइरहेको छ । १० किमि सडकमध्ये अहिले छ किमि सडक कालोपत्र भइसकेको छ ।

गाउँपालिकामानै पहिलोपटक ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भएको ताराखोला गाउँपालिकाका अध्यक्ष हिमाल बिकले बताउनुभयो ।

“गाउँपालिकामा पहिलोपटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद् क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु. २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ” अध्यक्ष बिकले भन्नुभयो “अब गलकोटबाट ताराखोला तर्फ समेत कालोपत्रको काम शुरु भएको छ, रिजालचोक देखि ताराखोलाको केन्द्र तर्फ आउने शहिद मार्ग सडक आगमी वर्षमा कालोपत्रको शुरुवात हुनेछ, यि तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।”

सडकको ट्रायक मात्रै रहेको ताराखोला गाउँपालिका पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको रिजालचोक देखि भुस्कात हुँदै भाँतखाने डाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिसुल चोक हुँदै माझखर्क हुँदै खरीखोला पुग्ने तीन वटा सडकहरु स्तरोन्नती संगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ ।

जसमध्ये अहिले ताराखोला सरपाण्डी खरीखोला सडकको ६ किमि सडक कालोपत्र भइसकेको छ भने गलकोट हुँदै गाइघाट झरना सम्मको सकड समेत कालोपत्रेको चरणमा पुगेको छ । गाउँपालिकाको पहिलो प्राथमिकताको रुपमा रहेको रिजालचोक हदेखि भाँतखाने डाँडा हुँदै रुम फेद पुग्ने २६ किमि सडक जस्लाई गाउँपालिकाले शहिद मार्गको नामाकरण गरेको छ उक्त सडकको भने काम अघि बढ्न सकेको छैन ।

ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीयहरु खुसी भएका छन् । ताराखोला गाउँपालिका–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महशुस भएको स्थानीय बल बहादुर रोकामगरले जानकारी दिनुभयो । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेकोे माझखर्कका रोकामगरको भनाई छ । उहाँले सडक कालोपत्र भइसक्दा समेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गर्नुभयो ।

पूर्वाधार विकास कार्यालय बागलुङले ताराखोलाको त्रिसुल चोक देखि सरपाण्डी हुँदै खरिखोला सम्मको सडक २०७७ मंसिर चार गते रु. २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभी संग ठेक्का सम्झौता गरेको थियो ।

दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाई भएको थियो । २०७९ मंसिरमा कालोपत्रे सक्नुपर्ने भएपनि सडकको कार्यप्रगतिका आधारमा २०८० मंसिर सम्म म्याद थप गरिएको छ ।

उक्त सडक खण्डकोे ६ किमि कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमि सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रमा पुन अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्र बहादुर पुनले जानकारी दिनुभयो । उहाँले वर्खा लगत्तै बाँकी रहेको चार किमि सडक कालोपत्रको काम थालिने बताउनुभयो ।

ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायी रसुवा एलाईट जेभीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हाल सम्म उक्त सडकको भौतिक प्रगती ७५ प्रतिशत रहेको बताउनुभयो । मौसमले साथ दिएमा आगमी मंसिर सम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताउनुभयो ।

गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको शहिद मार्ग भने कालोपत्रेका लागि संघीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ ।

निरन्तरको प्रयास र पहलका बीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको जसमध्ये ताराखोला गाउँपालिकामा पहिलोपटक ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भएको छ । गलकोट देखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *