बागलुङमा २० प्रतिशत धान रोपाई गर्न बाँकी


आदर्श अनलाइन, बागलुङ

साउन पहिलो हप्ता लाग्दा समेत बागलुङमा अझै २० प्रतिशत रोपाई गर्न बाँकी रहेको छ ।

आकाशे पानीको भरमा रोपाई गरिने बागलुङको केही स्थानका खेतमा अझै धान रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

समयमा बर्षा नहुँदा साउन महिना लाग्दा समेत बागलुङमा ८० प्रतिशत मात्रै धान रोपाई भएको हो । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार बागलुङमा ५ हजार ८ सय ८३ हेक्टर जमिनमा धान रोपाई हुन्छ ।

त्यो मध्ये हाल सम्म ४ हजार ७०६ हेक्टर खेतमा मात्रै धान रोपाई गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

१० स्थानीय तह रहेको बागलुङमा अझै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकाको केही स्थानमा रोपाई गर्न बाँकी रहेको छ । जिल्लाको गलकोट नगरपालिकामा सबैभन्दा पहिला रोपाई सकिएको भट्टराईको भनाई छ ।

“सिंचाई सुविधा भएको खेतमा रोपाई भइसक्यो, कतिपय स्थानमा आकाशे पानी र मौसमी मुलको भरमा रोपाई गर्नुपर्ने खेतमा रोपाई गर्न अझै बाँकी रहेको छ, अहिले समेत किसानले प्रयाप्त पानी नपरेको भन्दै रोपाइमा ढिलाई भएको जानकारी दिनुभएको छ,” भट्टराईले भन्नुभयो “खोलानाला भएका क्षेत्रमा यो बर्षको रोपाई सकिएको छ, तर आकाशे पानीको भरमा रोपाई गर्ने स्थानमा मात्रै बाँकी हो, साउनको दोस्रो हप्ता भित्रै बागलुङमा रोपाई सकिन्छ ।”

बागलुङ नगरपालिकाको सबैभन्दा बढी धान खेती हुने बलेवामा धान रोपाई गर्न बाँकी रहेको छ ।

बागलुङ नगरपालिकाको बलेवाको पैयुपाटा, नारायणस्थान र अमलाचौर, जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाको केही वडामा मात्रै रोपाई बाँकी रहेको छ भने गलकोट, ताराखोला, तमानखोला, निसीखोला, बरेङ र ढोरपाटनमा रोपाई धान रोपाई सकिएको हो ।

असारमा बढी पानी परेमा मात्रै धान रोपाई गर्ने क्षेत्रफलमा वृद्धि हुने अपेक्षा गरिएकोमा त्यो पुरा नभएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

बागलुङमा गत आर्थिक बर्षमा १८ हजार ६ सय ९० मेट्रिक टन धान फलेको थियो । त्यो मध्ये ५ हजार ८ सय ७३ हेक्टर खेतमा १८ हजार ६ सय ५५ मेट्रिक टन बर्खे धान र १० हेक्टर खेतमा ३५ मेट्रिक टन चैते धान फल्ने गरेको तथ्यांक छ ।
जिल्लाको बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३, १४, ४, ५ मा जिल्लामै सबैभन्दा बढी धान खेती हुने गरेको छ ।

राम्रो वर्षा हुँदा धान खेतीको क्षेत्रफल बढेर ६ हजार हेक्टरमा पुग्ने गरेको भएपनि ११७ हेक्टर जमिनमा धान फल्ने जग्गा बाँझो रहेको तथ्याङ्क रहेको छ ।
जिल्लामा बागलुङ नगरपालिकामा एक हजार ५६६ हेक्टर, जैमिनी नगरपालिकामा एक हजार ७३ हेक्टर, गलकोट नगरपालिकामा ९९६ हेक्टर, ढोरपाटन नगरपाकिलामा २९१ केक्टर, काठेखोला गाउँपालिमा ७२६ हेक्टर, बरेङ गाउँपालिकामा २४२ हेक्टर, बडिगाडमा ४७३ हेक्टर, ताराखोला गाउँपालिकामा २१० हेक्टर, तमानखोलामा ६८ हेक्टर र निसीखोला गाउँपालिकामा १९८ हेक्टर खेतमा धान खेती हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *