उत्तर गंगामा पुल नबन्दा सास्ती

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटनमा बर्खा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीडनै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजागनै छ । यद्यपी आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो सिजन ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावा पानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरु सितलताका लागि बर्खा याम ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै ढोरपाटन पुगे पनि उत्तर गंगा नदी तर्न गाह्रो पछ ।

रहेक वर्षातको समयमा उत्तर गंगा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारी पट्टीका सेलपाखे, शिकार आरक्ष कार्यालय क्षेत्र लगायतका ठाउँमा पुग्न पैदल यात्रानै गर्नु पर्ने बाध्यता छ । विशेष गरि सेलपाखे र शिकार आरक्ष क्षेत्र घुम्नका लागि अति उपयुक्त मानिन्छ । तर पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यि ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् ।

बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो तर उत्तर गंगामा पुल निर्माण गर्ने तर्फ कसैको ध्यान जान सकेको छ । उत्तर गंगा नदि हिउँदमा वरपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहज रुपमा वारपार गर्न सक्छन् ।

केही दिनदेखिको वर्षाले उत्तर गंगा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यति बेला वनफूलसँगै विभिन्न प्रकार फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटकहरु लोभिने गरेका छन् । उत्तर गंगा नदीमा पुलको माग गरेको वर्षौ भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि बनढेको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । उहाँले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक शिकार आरक्ष कार्यालय क्षेत्र तथा ठूलो समरथर मैदानमा पुग्न सक्ने बताउनुभयो ।

सुनारले भन्नुभयो – “ढोरपाटन मोटरबाटोले जोडिएदेखि हामी यहाँका गाउँलले सरकारलाई धेरै पटक पुल मनाउनका लागि माग ग¥यौँ तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाई हुन सकेको छैन, मान्छे तर्ने झलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सहजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारि पुग्नु पर्ने अवस्था छ ।”

ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तर गंगा नदिमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताउनुभयो । हिउँदको समयमा कुनै समस्या नपर्ने भन्दै बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उहाँको भनाइ छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा नबी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको बताउनुभयो । डिपीआर गर्दा नगरपालिकाले १० लाख रुपैयाँ खर्च गरेको उपप्रमुख कायतको भनाइ छ ।

“ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूला–ठूला विकास निर्माणका कामहरु हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालको लागि उत्तर गंगामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ,” उहाँले भन्नुभयो – “पुल नबन्दा ढोरपाटन पुगेको हजारौँ पर्यटकले वास्तविक ढोरपाटन देख्न र घुम्नबाट वञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।”

ढोरपाटन पुग्न छैन सहज
बुर्तिबाङ बजारदेखि वडा बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताउनुभयो ।

वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउनुहुन्छ । यो सडक राष्ट्रिय प्राथमिताको योजना अन्तरगतको सालझण्डी–ढोरपाटन आयोजना अन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेक बेसी गर्न सकस पर्ने पुनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *