लक्ष्यको ९० प्रतिशत राजश्व संकलन

खेमराज गौतम, बागलुङ

आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक संकट, विकास निर्माणमा कम खर्च भइरहेको सन्र्दभमा समेत लक्ष्यको ९० प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजश्व कार्यालयले आथिक वर्ष २०७९/८० मा रु. ९५ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७९/८० मा अनुमान गरेको राजश्व भन्दा रु. १० करोड १९ लाख ६४ हजार कम राजश्व रकम संकलन भएको आन्तरिक राजश्व कार्यालय बागलुङले जनाएको छ ।

गत आर्थिक वर्षमा रु.१ अर्ब ५ करोड ५१ लाख ४ हजार राजश्व संकलनको लक्ष्य रहेकोमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको हो । आर्थिक संकटका कारण आम्दानी कम हुनु, विकास निर्माणमा खर्च कम हुनु, भइसकेको विकास निर्माणको समेत आर्थिक अभावका कारण भुक्तानी नहुनु लगायतका कारण आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्य भन्दा रु. १० करोड कम राजश्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालयका प्रमुख शालिकराम आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुल्य अभिवृद्धि करबाट रु. २६ करोड १५ लाख ४ हजार, कर्पोरेट आयकरबाट रु.१२ करोड २९ लाख १ हजार, व्यक्तिगत आयकरबाट रु.३९ करोड ५६ लाख १८ हजार र लगानी आयकरबाट रु.१३ करोड ७० लाख ५३ हजार, अन्त शुल्क बापत रु. ३ करोड ६० लाख ३९ हजार संकलन भएको छ ।

“गत वर्षको तुलनामा पाँच करोड बढी राजश्व संकलन भएको छ, यस्लाई सकरात्मक लिन सकिन्छ, तर लक्ष्य अनुसार रु.१० करोड कम राजश्व उठ्नुको पछाडी विकास बजेटको भुक्तानी गत आर्थिक वर्षमा नहुनु नै हो” आचार्यले भन्नुभयो “ठूला सडक तथा आयोजनाको काम सम्पन्न हुँदा समेत भुक्तानी नहुँदा लक्ष्य अनुसारको राजश्व नउठेको हो, तर देशको आर्थिक संकट, कोरोना पछिको प्रभाव तथा व्यवसायको आम्दानीमा आएको गिरावटका बीच रु.९५ करोड राजश्व संकलनलाई राम्रो मान्न सकिन्छ ।”

आचार्यका अनुसार व्यवसायीहरुले राज्यलाई समयमै कर तिर्नुपर्दछ भन्ने भावना विस्तारै वृद्धि हुँदै गएको पाइएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा रु. ९० करोड ४० लाख ८९ हजार संकलन भएकोमा आर्थिक वर्ष २०७९/८० मा ५.४३ प्रतिशतले राजश्वमा वृद्धि भएको हो ।

आन्तरिक राजश्व कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० असारमा मात्रै रु.२४ करोड ४५ लाख ४७ हजार राजश्व संकलन गरिएको छ ।

कार्यालयको सेवा क्षेत्र भित्रको जिल्लाहरु बागलुङ, म्याग्दी र मुस्ताङ गरी उक्त राजश्व संकलन गरेको छ भने पर्वत जिल्लामा करदाता कार्यालय कुश्मा मार्फत आन्तरिक राजश्व कार्यालय बागलुङले कर संकलन गर्र्दै आएको छ ।

कार्यालयको कोड प्रयोग गरी अनलाईन मार्फत जुन सुकै स्थानबाट समेत कर बुझाउन सक्ने आन्तरिक राजश्व कार्यालय बागलुङले जनाएको छ । यस्तै आन्तरिक राजश्व कार्यालय बागलुङ अन्र्तगत रहेको करदाता सेवा कार्यालय कुस्मा अन्तृगत गत आर्थिक वर्षमा लक्ष्यको ९७ प्रतिशत कर संकलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङका अनुसार करदाता सेवा कार्यालय कुस्मा मार्फत रु. २७ करोड ८९ लाख कर संकलन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *