आदर्श अनलाइन, बागलुङ
बागलुङमा संघीय सरकारको विकास खर्चमा उल्लेख्य सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा पूँजीगत अर्थात विकास खर्च बढेर ७१.९४ प्रतिशत पुगेको हो । आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत खर्च जम्मा ५८ प्रतिशत मात्रै खर्च भएको थियो ।
आर्थिक संकटका कारण विकास बजेटको भुक्तानीमा असहजता, व्यापार व्यवसायमा आएको संकट लगायतका समस्याका बीच संघीय सरकारले बागलुङका लागि आर्थिक वर्ष २०७९÷८० बिनियोजन गरेको रु. २ अर्ब ३३ करोड ८३ लाख २६ हजार ६५० मध्ये रु. १ अर्ब ६८ करोड २० लाख ८० लहजार १६४ रकम खर्च भएको छ ।
उक्त खर्च रकम आर्थिक वर्ष २०७८/७९ को भन्दा १३.६९ प्रतिशत बढी खर्च भएको पाइएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७८/७९ मा बिनियोजन भएको पूँजीगत खर्चको ५८.२५ प्रतिशत भएकोमा गत आर्थिक वर्षमा पूँजीगत खर्चमा उल्लेख्य वृद्धि भएर ७१.९४ प्रतिशत खर्च भएको पाइएको छ ।
गत आर्थिक वर्षमा रु. ६५ करोड ६२ लाख ४६ हजार ४८६ विकास बजेट खर्च नभएर फ्रिज भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्षको विकास बजेट १३ प्रतिशत भन्दा बढी खर्च भएको पाइएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक २०७९/८०मा पूँजीगत तर्फ संघीय सरकारको बजेट झण्डै १४ प्रतिशत विकास खर्च बढेर गएको छ भने र गण्डकी प्रदेश सरकारको भने विकास बजेट भने अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिनुभयो ।
“गत आर्थिक वर्षमा संघीय सरकारको विकास बजेट बढेर गएको छ भने गण्डकी प्रदेश सरकारको विकास बजेट थोरै मात्र घटेको पाइएको छ, गण्डकी प्रदेशको बजेटको अघिल्लो आर्थिक वर्षको दायित्वका कारण गत आर्थिक वर्षमा बजेट कम खर्च भएको पाइएको थियो तर व्यवहारिक रुपमा प्रदेश सरकारको विकास निर्माणको बजेट बढी नै खर्च भएको छ” बस्यालले भन्नुभयो “आर्थिक संकटका कारण संघीय, प्रदेश र स्थानीय तहले लक्ष्य अनुरपको राजश्व संकलन नगरेको अवस्थामा समेत संघीय सरकारको ७१ प्रतिशत र गण्डकी प्रदेश सरकारको ७३.८० प्रतिशत विकास बजेट खर्च हुनु समग्रमा राम्रो मान्न सकिन्छ ।”
गण्डकी प्रदेशको विकास खर्च ७३ प्रतिशत
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा ७३.८० पूँजिगत अर्थात विकास बजेट खर्च गरेको छ ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विकास बजेट तर्फ बिनियोजन गरेको रु. २ अर्ब ४१ करोड ९ लाख ८५ हजार ९६५ बजेट मध्ये रु. एक अर्ब ७७ करोड ९३ लाख ६ हजार बजेट खर्च भएको पाइएको छ । जसमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८७ प्रतिशत कम विकास बजेट खर्च भएको पाइएको हो ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको कुल बजेटको रु. ६३ करोड १६ लाख ७९ हजार ९६१ विकास बजेट खर्च नभएर फ्रिज भएको पाइएको छ ।
गण्डकी प्रदेश सरकारको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको विकास बजेट कम देखिएपनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को दायित्व भुक्तानी भएकाले तथ्याङ्कमा कम देखिएको भएपनि विकास खर्चमा उल्लेख्य सुधार भएको कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले बताउनुभयो ।
कोष नियन्त्रणको कार्यालयले गत आर्थिक वर्षमा जिल्लामा दुई हजार ८६० जना मध्ये हाल सक्रिय रहेका दुई हजार २१८ जनालाई निवृतिभरण बापतको रु. ७६ करोड ४१ लाख ७९ हजार ४१६ भुक्तानी गरिएको छ । कोष तथा लेखा नियन्त्रणको कार्यालयका अनुसार स्थानीय तहको खर्चको तथ्याङ्क साउन २१ पछि मात्रै कोष तथा लेखा नियन्त्रणमा आउने छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले पछिल्लो समय अनलाइन सफ्टवयर मार्फत नै भुक्तानीको काम थालिएकाले आगमी वर्ष स्थानीय तहको समेत तत्कालै खर्च हेर्न सकिने छ ।
कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा संघीय सरकारको चालु बजेट तर्फ रु. ८ अर्ब १३ करोड १६ लाख ६३ हजार ३५२ बजेटको ९२.९२ प्रतिशत खर्च भएको थियो भने गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको चालु बजेट तर्फ रु. ७६ करोड १२ लाख ७८ हजार ७६४ मध्ये रु. ६१ करोड ७७ लाख १५ हजार ९८ बजेट अर्थात ८१.१४ प्रतिशत चालु बजेट खर्च भएको पाइएको छ ।