पहिराले मुहान र पाइपलाइन बगाउँदा रिघामा खानेपानीको समस्या

डम्मर बुढा मगर, बागलुङ
निरन्तर वर्षाको कारण पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिंगो गाउँमा पानीको समस्या भएको छ । रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर लाइनसहित मुहान क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो ।

खानेपानीको समस्या समाधान गर्न वि.सं. २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालका–१० पाण्डपवखानी स्थित मुलबाट पाइपलाइनमार्फत पानी ल्याएको अध्यक्ष श्रीको भनाइ । चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नु परेको बताउनुहुन्छ ।

“चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयले समस्या भोग्नु परेको छ, पहिरोले २५ मिटर जिआइ पाइप बगाएको छ, मुहानमा पनि ठूलो क्षति पु¥याएको छ,” अध्यक्ष श्रीसले भन्नुभयो – “गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधानका गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायी रुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पनि दीर्घकालीन रुपमा समाधान गर्ने गरि काम गर्नु पर्छ ।”

रिघा खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताउनुभयो । पहिराले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था भएको उहाँको भनाइ छ । अहिले आकाशे पानीको भरमा स्थानीयले दैनिकी चलाएको पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो – “गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेहरुले सुखका स्वाश फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुख्खा छन्, पुरानो मुलको पानी ल्याउने कोशिस पनि गरि रहेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *