‘स्वास्थ्य कर्म सेवा मात्र होइन, सेवामुलक व्यवसाय पनि हो’

अमृत बास्कुने, म्याग्दी

युवालाई स्वदेशमा रोकिराख्न निकै ग्राहो छ । आजभोली नागरिकता बनाएकै दिन राहादानीको फारम भर्ने युवाहरु प्रशस्त छन् । विहान बेलुकीको छाक टार्न, परिवार पाल्न बाध्यता र परिवन्दले विदेशिने हजारौं युवाहरुको भिडमा नेपालका सयौं दक्ष युवाहरुले पनि दक्षता र क्षमता अनुसारको रोजगारी, तलब सुविधाकै लागि दैनिक विदेशलाई रोज्दै छन् ।

तर, म्याग्दीका दुई युवा आफ्नो दक्षता र क्षमताले आफ्नै भुगोल र क्षेत्रलाई स्वस्थ बनाउन खटिरहनु भएको छ । बेनी नगरपालिका–८ का मोचन श्रेष्ठ र बेनी नगरपालिका–४ सिंगाका कुमार बानियाँ यतिबेला व्यवसायीक रुपमै बेनीका जनतामाँझ स्वास्थ्य पेशलाई सेवामा विस्तार गर्न लागि रहनु भएको छ ।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यामिक विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तिर्ण गर्नुभएका श्रेष्ठले २०७६ सालमा डेण्टल सर्जन उत्तिर्ण गरेपछि बेनी बजारमै डेण्टल क्लिनिक सञ्चालन गर्नु भएको छ । उहाँको क्लिनिकमा ३ जनाले रोजगारी समेत पाउनु भएको छ ।

डेण्टल सर्जन उत्र्तिण गरेपछि २ वर्ष इन्टर्न गरेका श्रेष्ठले परिवारसँग बसेर आफ्नै क्षेत्रका व्यक्तिको सेवा गर्ने निधो गर्नुभयो । अन्य रोग प्रति मानिसहरु सम्वेदनशिल भएपनि दाँतको उपचारमा अझै मानिस सम्वेदनशिल नभएको श्रेष्ठलाई लाग्छ । दाँत विग्रिएर अनुहारको स्वरुपनै परिवर्तन नहुँदासम्म, दाँतको दुखाईले अन्य समस्या ननिम्त्याएसम्म मानिसहरु दाँतको उपचार गर्न नआउने गरेको उहाँको भनाई छ ।

‘दाँतले मानिसको सुन्दरलाई प्रतक्ष प्रभाव पार्छ, बालबालिकादेखि वृद्ध वृद्धासम्म जो कोहीको पनि घरमै जबरजस्ती दाँत निकाल्नु हुँदैन,’ श्रेष्ठ भन्नुहुन्छ ‘तर, मानिसहरु दन्त उपचार सम्बन्धी अझै सचेतना र संवेदनशीलता देखिएको छैन ।’

२०७९ चैतमा श्रेष्ठले बेनी बजारको गणेशटोलमा ‘स्माइल डेण्टल’ सञ्चालनमा ल्याउनु भएको छ । परिवारसँग बसेर आफ्नै घरमा डेण्टल सञ्चालन गर भन्ने आमाको सल्लाह अनुसार ‘स्माइल डेण्टल’ सञ्चालनमा ल्याएका श्रेष्ठले दाँत विग्रिएर मुस्कुराउन विर्सिएकाहरुका लागि मुस्कान फर्काउने सेवामा लाग्दा सन्तुष्टी मिलेको बताउनु हुन्छ ।

स्वास्थ्य सेवा मात्र नभएर सेवासँग जोडिएको पवित्र व्यवसाय पनि भएका अर्का युवा कुमार बानियाँ बताउनु हुन्छ । २०७५ सालदेखि बानियाँले बेनी बजारमै ‘बेनी सञ्जिवनी हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याएर स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ ।

२०६१ सालमा बेनी बजारको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नु भएका बानियाँले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौबाट डिप्लोमा इन फार्मेसी सक्नु भएको छ ।

बानियाँले सञ्चालन गर्नुभएको हेल्थ क्लिनिकमा एक जना एमबिबिएस डाक्टर (मेडिकल अफिसर), एक जना अनमी, एक जना ल्याब टेक्निसियन, एक जना अहेब र एक जना फार्मासिस्टले रोजगारी पाउनु भएको छ । उहाँ आफै पनि क्लिनिकमा खट्नु हुन्छ ।

स्थानीय सरकारको नयाँ मापदण्ड अनुसार ‘स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका–२०७५’ बमोजिमका मापदण्ड पुरा गरेर म्याग्दी जिल्लामै पहिलो पटक ‘बेनी सञ्जिवनी हेल्थ क्लिनिक’ दर्ता भएको बानियाँको भनाई छ ।

क्लिनिक सञ्चालन गर्नु, बिरामी जाँच्नु र पैसा कमाउनु मात्र आफ्नो उद्देश्य नभएको भन्दै बानियाँले हरेक वर्ष निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको बताउनु हुन्छ । ‘स्वास्थ्यलाई सेवा मात्र भनेर व्याख्या गरिन्छ, यो क्षेत्रमा लाखौ खर्चेर पढेका स्वास्थ्यकर्मीहरु सेवामात्र गरेर स्वदेशमा टिक्न सक्ने वातावरण छैन्,’ बानियाँले भन्नुभयो ‘यसलाई सेवासँगै व्यवसाय पनि हो भन्ने स्थापित गर्न केन्द्रसँगै स्थानीय सरकारले पनि सहयोग गर्नु पर्छ ।’

पछिल्लो ४ वर्षमा गरिएका विभिन्न स्वास्थ्य शिविरबाट जिल्ला र जिल्ला बाहिरका ८ सय नागरिकले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बानियाँको भनाई छ । धौषधि व्यवसायी संघ म्याग्दीको कोषाध्यक्ष र विभिन्न क्लबहरुमा समेत आवद्ध रहेका बानियाँले हरेक दिन सञ्चालन हुने क्लिनिकको ओपिडी सेवा निशुल्क प्रदान गर्ने गरेको बताउनु भयो ।

बेनी नगरपालिको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीका अनुसार म्याग्दीको बेनी बजार क्षेत्रमा छ वटा डेण्टल, २ वटा एक्सरे सेवा, ४ वटा स्वास्थ्य क्लिनिक तथा पोलि क्लिनिक, ५ वटा ल्याब सेवा, ५ वटा फार्मेसी सेवा र ४ वटा आयुर्वेदीक औषधालयले स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनु भयो ।

उल्लेखित सेवाहरु मध्ये जिल्लाको नगरपालिका क्षेत्र भित्र मोचन श्रेष्ठको कोर स्माइल डेण्टल केयर गणेश टोल र कुमार बानियाँको बेनी नगरपालिका–८ न्यूरोडमा ‘बेनी सञ्जिवनी हेल्थ क्लिनिक’ रहेको सेवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *