३४ करोडको खानेपानी आयोजना त्रुटीपूर्ण

खेमराज गौतम, बागलुङ

रु.३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर वृहत लिफ्ट खानेपानी आयोजनाको पाइपलाइन छ पटक सम्म फुस्कियो । क्रंकिटको पोलमा राखेर पाइपलाइन विस्तार गरेपनि खानेपानीको चाप धान्न नसकेर क्रंक्रिटको पोल सहित पाइप फुस्किदा आयोजनाको डिजाइनमै त्रुटी रहेको सहजै अनुमान गर्न सकिन्छ । पाँच वर्षअघिदेखि शुरुभएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परिक्षणमै समस्या देखिएको हो ।

अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारबासीले सहज ढंगले खानेपानी पाइने भयो भन्ने आशामा थिए । तर भौगोलिक अवस्थाका कारण परिक्षणका लागि काठेखोलाको पानी लिफ्ट मार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परिक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइपलाईको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।

पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइपलाईको डिजाइनमै समस्या देखिएको स्थानीयको बुझाई छ । खानेपानी आयोजनाको पाइपलाईनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउदा समेत सुनुवाई नभएको स्थानीय रुद्र महतले बताउनुभयो । उहाँले अहिले परिक्षण असफल भएपछि बल्ल विभाग झस्केको दाबी गर्नुभयो ।

आयोजनामा अहिले डिआई पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कंक्रिटको पोल सहित फुस्केको नगरखानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटर माथी रातामाटामा पु¥याउनेगरी आयोजना अन्तिम चरणमा पुगेपनि पाइपलाईनमा त्रुटी देखिदा आयोजना थप अन्योल बनेको छ ।

बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबनधक हिमाल प्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआई पाइप उपयुक्त नहुँने भन्दै पाइप खरिद गर्नु भन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताउनुभयो ।

उहाँले हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दुख दिइराखेको अनुभव रहेको बताउदै लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मत संभार गर्न समेत पछि समस्या पर्ने बताउनुहुन्छ ।

“लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परिक्षणका लागि पानी सञ्चालन समेत ग¥यो, लिफ्ट चलाएको पाँच÷दश मिनेटमै पाइपलाईनको जोइन गरेको स्थानबाट वासर सहित फुस्किएर क्रंक्रिटको पोल नै भत्काउछ” शर्माले भन्नुभयो “छ पटक सम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरे जस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाल्नुभयो, अहिले उक्तपाइपलाईनबाट पानी चल्न छोड्यो ।”

उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डिआईपाईप पटक–पटक फुस्केका कारण बैकल्पिक रुपमा सानो जिआई पाइप जोडेर खानेपानी रातमाटा पु¥याइएको जानकारी दिनुभयो । “प्राविधिक कुरा हामीलाई थाहा हुँदैन, अहिले जिआईपाइप तत्कालै मर्मत समेत गर्न सकिन्छ भनेर जोडेका छौं, डिआईपाइपलाई मर्मत गर्नमात्रै दुई हप्ता लाग्छ, उक्त पाइपलाई ढलान गरेर जमाउन आवश्यक हुन्छ, कामका हिसावले र भूगोलका हिसावले जिआई पाइप उपयुक्त देखियो, खानेपानी तथा ढल विभागले पठाएको अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा आयोजना पुन अगाढी बढ्ला”–भारीले भन्नुभयो ।

बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाको रुपमा रहेको बागलुङ नगर वृहत लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइपलाईनमा त्रुटी देखिदा आम उपभोक्तामा पुन निरासा छाएकाले वैकल्पिक रुपमा सानोपाइपबाट भएपनि पानी वितरण गर्न थालेको भारीले जानकारी दिनुभयो ।

२०७५ असार ३१ गते कन्काई जयमाता जेबीले २०७७ सालमा निर्माण सक्नेगरी रु. ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चार पटक म्याद थप्दा समेत आयोजना स्थलको भौगोलिक कठिनाई र कोरोना कहरका कारण निर्माणमा ढिलाई भएकोे दाबी गर्दै आएको छ । लिफ्ट आयोजनाको लागत अहिले बढेर रु. ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीको तर्फका इन्जिनियर बिक्रम अधिकारीले बताउनुभयो ।

अधिकारीले विभागले दिएको डिजाईन अनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दा समेत पाइपलाईन पटक–पटक फुस्किदा पानी माथी पु¥याउन नसकिएको बताउनुभयो ।

“निर्माण व्यवसायीले विभागले दिएको डिजाईन अनुसार खानेपानी आयोजना निर्माण गर्ने हो, हामीले खानेपानीको प्रशोधन कक्ष, विद्युतीय जडान र खानेपानी ट्याङ्की सहित पाइपलाईन समेत विस्तार गरिसकेका थियौ” अधिकारीले भन्नुभयो “परिक्षणका क्रममा पटक–पटक खानेपानीको फाइपलाईन फुस्किएर पानी तान्न सकेन, विभागले समस्याको विषयमा अध्ययन गर्न पठाएको थियो, आयोजना निर्माण भइसकेको छैन, निर्माण व्यवसायीले डिजाइनमा दिइएको पाइप जडान गरेका थियौ तर पाइपलाइनमा समस्या देखियो, अध्ययन प्रतिवेदन र विभागको सुझाव आएपछि काम अगाढी बढ्छ ।”

अधिकारीका अनुसार निर्माण कम्पनीको गल्ती भए हामी सच्चाउन तयार भएको बताउदै डिजाइनमै त्रुटी भए विभागले सचाउनुपर्नेछ । संघीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नविन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले विभागले विज्ञ समूहलाई खानेपानीको पाइपलाईन र भौगोलिक अवस्थाको अध्ययन गर्न दुई हप्ता अघि पठाएको बताउनुभयो । विभागले खटाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदन अनुसार मुख्य समस्याको विषय बाहिर आउने सुवेदीले बताउनुभयो ।

“आयोजनाको भोगलमै समस्या देखिदा रु.चार करोड लागत समेत बढेर गइसकेको छ, अहिले पाइपलाइनमा समस्या देखिएपछि अध्ययन भइसकेको छ प्रतिवेदन पछि विभागले दिएको सुझाव अनुसार अगाढी बढ्छौं” इन्जिनिएर सुवेदीले भन्नुभयो “आयोजना सम्पन्न गरेरै हस्तान्तरण गर्नेछौं, केही ढिलाई भएको छ, अहिले उपभोक्ता समितिले छुट्टै जिआई पाइप जोडेर अस्थायी रुपमा पानी पु¥याउन थाल्नुभएको छ, उक्त भूगोलमा प्रयोग गरिएको डिआई पाइप भूगोल अनुसार सहि थिएन की भन्ने स्थानीयको गुनासो छ, अध्ययनको प्रतिवेदन नआउदा सम्म डिजाइनमा त्रुटी भन्न मिल्दैन तर भौगोलिक जटिलताले उक्त पाइपबाट पानी ल्याउदा दीर्घकालिन रुपमा समेत समस्या नआउला भन्न नसकिने प्रारम्भिक अध्ययन हो ।”

तत्कालै आयोजनाको काम अगाढी नबढ्दा उपभोक्तालाई पानी पु¥याउन बैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाई उपभोक्ताले गरेको पाइएको छ । उक्त आयोजनाको ८८ प्रतिशत वित्तिय र ९० प्रतिशत भौतीक प्रगती भएको छ ।

लिफ्ट आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी निर्माण भएको थियो । पानी तान्नका लागि मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मर समेत जडान भइसकेको छ ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा अहिले मुस्किलले प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । खानेपानीको समस्या टार्न लिफ्ट मार्फत पानी ल्याउन थालिएको थियो । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी लिफ्ट मार्फत आपूर्ती हुँदा वर्षोदेखिको बागलुङ बजारबासीको खानेपानी अभाव टर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *