कागबेनीमा बाढी : १५ घर बगायो

अमृत बास्कुने, म्याग्दी
आइतबार राती मुस्ताङको कागखोलामा आएको बाढीले २२ घर बगाएको छ । हालसम्मको प्रारम्भीक विवरण अनुसार ३१ संरचना पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । घरसँगै विद्यालय, प्रहरीचौकी, एक पक्की पुल, काठेपुल तथा आ?म बगाएको उहाँको भनाइ छ । १६ घर उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।

बाढीले विद्युतका पोलहरु बगाउँदा यस क्षेत्र अन्धकारमय बनेको छ । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङका अनुसार माथिल्लो झोङदेखि आएको बाढीले कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षती प¥याएको हो ।

उहाँले भन्नुभयो– ‘अहिले सबै जनप्रतिनिधिहरु कागबेनी क्षेत्रमा उद्धार तथा क्षति विवरण संकलनमा लागेका छौं, क्षतिको एकिन तथ्याङ्क निकाल्न समय लाग्ला तर सबै संरचना एवम् भैतिक श्रोतहरु हेर्दा एक अर्ब हाराहारीको क्षती भएको हुन सक्छ तर पनि एकिन भन्न सकिने अवस्था भने छैन ।’

बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमन्थाङ एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत वितरण गर्दै आएको निलगिरी उपभोक्ता सहकारीका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो ।

स्थानीय व्यवसायीको गाडी बगाएको भए पनि मानविय क्षतीको अहिले सम्म कुनै जानकारी नआएको उहाँको भनाई छ । घर बगाएको तथा क्षती पुगेर बस्न नसक्ने अवस्था पुगेका घरका नागरिकलाई छिमेकीहरुकोमा आश्रय लिने व्यवस्था मिलाइएको छ । केही मोटरसाइकल तथा स्कुटर बगाएको र एउटा डोजर बाढीले पुरेर क्षती पु¥याएको केसीको भनाई छ । उपल्लो मुस्ताङ हुँदै चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगतको कागबेनीमा रहेको कागखोलाको पक्की पुलका साथै काठको पुल समेत बाढीले बगाएको छ ।

जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावासमा रहेको ९० विद्यार्थीलाई सुरक्षीत तबरले कागबेनीकै क्याराभान होटलमा राखिएको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो । बाढी आउन थालेपछि विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगेर राखेको उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) रबिन्द्र पौडेलका अनुसार प्रहरी चौकीको मोटर साइकल सहित कागबेनी क्षेत्रका १० वटा सवारी साधनमा क्षती पुगेको भनिएको भए पनि एकिन गर्न बाँकी छ । उहाँले भन्नुभयो–‘पशु चौपाय, व्यक्तिका धनमाल तथा भौतिक संरचनाको क्षतिको अहिले नै एकिन गर्न सकिदैन तर क्षती निकै ठूलो भएको छ ।’

रातको समयमा एक्कासी बाढी आएको भए पनि स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको मुस्ताङका प्रजिअ केसीले बताउनुभयो । कागबेनी प्रहरी चौकीको भवन रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थीत राजखोलामा बाढीले गर्दा सडक अबरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क बिच्छेद भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्य गरीरहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *