बुकीमै पुगेर गोठालाको स्वास्थ्य उपचार

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको संगम स्थल हो । यसलाई स्थानीयले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यो सिजन गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोला गाउँपालिकासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरी गाउँपालिकाका विभिन्न स्थानबाट गोठालाहरु पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्ने गर्छन् ।

करिब चार महिना लेकमै बस्ने गोठालाले यस अवधीका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसीनै झर्नु पर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो । गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठालाहरु बिरामी पर्दा पनि बेसी झर्दैनन् । स्वास्थ्य संस्था जानुको सट्टा जंगली जडिबुटी खाने र धामी झाक्री गर्ने गर्छन् । बुकीमा एउटा पनि धारा छैनन् । गोठालाले पोखरी, रुखको टोड्का र खुला मुलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान पनि गएको पाइन्छ ।

तमानखोला गाउँपालिकाले गोठालाहरुलाई लक्षित गरि बुकीमै पुगेर स्वास्थ्य शिविर संचालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जाने हुँदा गर्छन् । बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविर मार्फत गोठमै स्वास्थ्य सेवा दिएइको छ । गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आउका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

बर्खाको समय लेकमा बस्दा विभिन्न किसिमका रोग लाग्ने र उपचारका लागि स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा स्वास्थ्यकर्मीको टोली लिएर बुकी गएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा लाग्ने भन्दै अहिलेसम्म त्यहाँ सडक नपुगेको उहाँको भनाइ छ । बेकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको भन्दै अन्य समयमा फेरि यस्ता कार्यक्रम लिएर बुकी जाने अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

“गुर्जाघाटमा अहिले धेरै गोठालाहरु बसोबास गर्ने गर्छन्, त्यहाँ वरपर स्वास्थ्य उपचार गर्ने ठाउँ छैन, कि ढोरपाटन पुग्नु पर्छ, कि बोङ्गादोभाननै आउनु पर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसले गर्दा यस पटकदेखि बुकीमै गएर समान्य भए पनि स्वास्थ्य सेवा दिने प्रयास गरेका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “जंगलमा काठ मुडामा काम गर्नु पर्छ, कोहीको हात काटेको हुन्छ, कोहीको खुट्टा काटेको हुन्छ, उनीहरु अस्पतालमा पुग्न सक्दैनन्, हामीहरुले धेरै गोठालालाई जम्मा गरेर स्वास्थ्य परीक्षण गरि बिरामी भएकालाई औषधी दिएर आएका छौँ ।”

शिविरका लागि बुकी पुग्नु भएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालाहरुमा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचाप भएका बिरामीहरु फेला परेको बताउनुभयो । ति मध्ये केही गोठालामा गम्भीर किसिमको रोगसमेत देखा परेको भन्दै उनीहरुलाई तत्काल सुविधायुक्त अस्पतालमा जान सुझाएको बताउनुभयो । शिविरमा अध्यक्ष बुढा मगरसहित चार जना स्वास्थ्यकर्मी, वडाअध्यक्ष, कार्यपालिका सदस्य गरि १२ जनाको टोली बुकीमा पुगेर विशिर संचालन गरेको छन्त्यालको भनाइ छ । विशिरबाट एक सय बढी गोठालाले स्वास्थ्य सेवा लिएको उहाँ बताउनुहुन्छ ।

विशिरबाट सेवा पाएपछि तमानखोला गाउँपालिका–१ घर भई गुर्जाघाटमा गोठालो गर्दै आउनु भएका ६० वर्षीय झगबहादुर छन्त्यालले खुसी व्यक्त गर्नुभयो । लामो समयदेखि ज्वरो आएर गोठमै आराम गर्दै आएको सुनाउँदै छन्त्यालले गाउँपालिकाले गोठालाको समस्या बल्ल बुझेको बताउनुभयो । गोठमा धेरै गोठालाहरु बिरामी हुने गरेको भन्दै उनीहरु कहिल्यै पनि अस्पताल नजाने छन्त्यालको भनाइ छ ।

“घरबाट बुकीमा आएपछि धेरै पटक बिरामी भए, यहाँको जरा, कन्दमुल खाएर खास्सै निको भएन, बिरामी भए पनि के गर्ने गोठमा काम गर्नै प¥यो, गोबर सोर्नै प¥यो, घाँस काट्नै प¥यो,” छन्त्यालले भन्नुभयो – “हाम्रो अध्यक्ष साहेवले डाक्टर ल्याएर आउनु भयो, चेक जाँच गरेर औषधी दिनु भएको छ, यो खाएपछि निको होला, गोठमै आएर उपचार गरेको यो पहिलो पटक हो, राम्रो भयो, हामीहरुलाई जाती लागेको छ ।”

ग्यास्ट्रिक र टाइफाइडले लामो समयदेखि ग्रसित ५६ वर्षीया गौसरा गोतामेले बिस्तारामै औषधी पाउनु भएको छ । डेढ महिनादेखि थलिएर गोठको काम गर्न नसकेको भन्दै अब औषधी खाएपछि निको हुने गोतामेले विश्वास व्यक्त गर्नुभयो । बिरामी भएर अस्पताल पुग्न पनि दुई दिन लाग्ने हुँदा अहिलेसम्म घरेलु औषधी सेवा गरेर बसेको उहाँको भनाइ छ । अब असोजमा बेसी झरेपछि मात्रै अस्पताल जाने गोतामेले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *