सिसाखानीका बाँदर पीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँच मुरी मकै भित्राउनुभएको बारी अहिले बाँदरले रित्तै बनाइदियो ।

बसाईसराईका कारण बाँदर बस्तीमा आएपछि यो वर्ष मकै भित्राउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारम घर्ती सहित जीवन घर्ती लगायत बाँयचौर गाउँका सबैकिसानको मकैबाली नष्ट भएको भएको छ ।

बाँदरले मकैबारीमा क्षति पु¥याएपछि यहाँका किसानहरु चिन्तामा परेका छन् । “दुई वर्ष अघि पाँच मुरी मकै भित्राएको थिए, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभरी बारीमा विताइन्छ खान खाना घर आएपछि बाँदरले १० मिनेटमै मकै सत्यानास पार्छ, न समय रह्यो न मकै” घर्तीले भन्नुभयो “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामी जस्ता किसानलाई हेर्नुप¥यो सम्पन्नसालीहरु बसाईसराई गरेर जाने हामीजस्ता किसानहरुलाई बाँदरले निकै समस्या पा¥यो ।”

बाँदर हेर्न छोडेर घाँस काटे गाईभैसीले खाने भन्दै पछिल्लो समय बाँदर धपाउन जानै छोडिएको किसानको भनाई छ । बाँदर हेर्न दिनभरी बारीमा बसेपनि मकै जोगाउन नसक्दा किासनको समय र मकै दुबै खेर गएको छ ।

अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदरहरु गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ ।

बाँयचौरमा बसाईसराई कम भएपनि अन्य स्थानका घरहरु खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौर लगायतको क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालिन समस्या नभएपनि अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनका लागि समेत स्थानीय पालिकामा वडा मार्फत जानकारी गराएपनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानहरुको गुनासो छ ।

“अहिले मकैका घोगा छैनन्, डाठ मात्रै छन् भाँचेर गाइभैसीलाई खुवाउन समेत नमिल्ने गरी बाँदरले सत्यानास बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जंगलका बाँदरहरु यहाँ आउन सहज भयो” अर्का पीडित किसान जीवन घर्तीले भन्नुभयो “बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्काएर आउछ, यहाँ स्थानीय जातको लंगुर बाँदरको बथानै छ, पहिला एक÷दुई पटक बाँदर आएको देखिन्थ्यो अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्यनै नभएपछि त्यसै छोडियो ।”

सिसाखानीका स्थानीय दान बहादुर श्रीसका अनुसार पछिल्लो समय सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको बताउनुभयो । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भएपनि अहिले उक्त चलन समेत नभएकाले बाँदरको संख्यामा वृद्धि भएको छ । बाँयचौर लगायत सिसाखानीका एक दर्जन गाउँमा अहिले बाँदरले सताइरहेको बताउदै बाँयचौर गाउँमा भने भित्राउनै नपर्नेगरी मकैबाली सत्यानास बनाएको श्रीसको भनाई छ ।

७० भन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सत्यानास पार्ने गरेको स्थानीय किसानहरुको भनाई छ । सिसाखानीमा पछिल्लो समय बाँदरको समस्या बढ्दै गएको बडिगाड गाउँपालिका–३ का वडा अध्यक्ष खड्क बहादुर पुनले जानकारी दिनुभयो । पुनले बाँदरका कारण किसानहरु अहिले पीडित बनेको भन्दै पालिकामा राहतका लागि जानकारी गराउने बताउनुभयो ।
पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्याङ्क संकलन गर्ने र राहतका लागि पहल गर्ने वडा अध्यक्ष पुनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *