रात्माटाका १८१ घरमा धारा निर्माणपछि स्थानीयलाई सहज

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारसंगै जोडिएको गाउँ भएपनि खानेपानीको चरम संकट भएको रात्माटा गाउँमा अहिले खुसीयाली छाएको छ । बागलुङ नगरपालिका–३ रात्माटा गाउँमा खानेपानीको दुख आजको नभएर सय वर्ष पहिला देखिएको समस्या भएको स्थानीयको भनाई छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर १८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।

तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रात्माटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साझेदारीमा रु. एक करोड ९ लाख खर्चेर घर–घरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताउनुभयो । २०५८ सालबाटै छरिखोलाबाट पानी ल्याउन थालेपनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४ सै घण्टा खानेपानीको सुविधा भएको उहाँको भनाई छ ।

“काठेखोला पुगेर पानी लिएको पुर्खाहरुले बताएको सुन्दै आएका थियौ, अहिले घर–घरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो” स्थानीय मुरारी शर्माले भन्नुभयो “बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौं, बागलुङ बजारसंग जोडिएको गाउँ भएपनि बत्तिमुनीको अध्यारो जस्तो भएको थियो रात्माटा, यहाँको खानेपानीको दुख, संघर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महशुस गरेका छौं ।”

पटक–पटक खानेपानी आयोजनाहरु परेपनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग बागलुङ नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा १८१ घारा बनेकोमा १७५ घर र ६ वटा सार्वजनिक, विद्यालय लगायतका स्थानमा धारा निर्माण भएको हो ।

रात्माटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले तीन महिनामा रु. एक करोड ९ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताउनुभयो । श्रेष्ठले आफ्नो कार्याकाल भित्रै सर्र्वेे गरेको योजना यतिछिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएको बताउदै नेवालाई धन्यवाद दिनुभएको छ ।

“नेवाको साझेदारीमा एक वर्ष भित्रै संकटग्रस्तक्षेत्र लङ्गाउँमा लिफ्ट मार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रात्माटामा १८१ घरमा खानेपानी पु¥याएको छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “खानेपानीको दुःख रहेको रात्माटाका घर–घरमा धारा बन्दा स्थानीयहरुको दैनिकी फेरिने भयो ।”

नेपाल स्वास्थ्यका लागि पानी नेवाको रु. ६७ लाख ५९ हजार ९८५, बागलुङ नगरपालिकाको रु. १६ लाख ९३ हजार ७९४, स्थानीय समुदायको नगद रु.६ लाख ३४ हजार १८३ र स्थानीयको श्रमदान बराबरको रु.१९ लाख ६९ लाख ९१६ गरी रु.एक करोड ९ लाख ७५ हजार ७५७ रकममा उक्त खानेपानी आयोजना निर्माण शुरु भएको तीन महिनामै सकिएको रात्माटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवा संग २०७९ पुष २६ गते सम्झौता भएपनि चैतबाट निर्माणको काम थालिएकोमा निर्माण शुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम समिएको हो ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाईन सहित घरमा घारा पु¥याउदा सम्म १८ किलोमिटर पाइपलाईन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्याङ्की मार्फत रात्माटा गाउँको घर–घरमा धारा वितरण गरिएको छ ।

खानेपानीको चरम संकट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा एक घर एक धारा निर्माण गरिरहेको बताउदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले नेवाले बागलुङको रात्माटा सहित पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताउनुभयो । २०५८ सालमा रात्माटाको नारा घर–घरमा खानेपानीको धारा भन्ने उक्ति अहिले आएर मात्रै पुरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

“पहिलेको पानी व्यवस्थित थिएन, बिहान बेलुका मात्रै पानी आउथ्यो, हिउँदमा त खानेपानीको भर नै थिएन, अहिले खानेपानी जतिबेला खोल्दा समेत आउछ” शर्माले भन्नुभयो “अहिले त महिलाको दैनिकी पानीका लागि व्यवस्थापन गर्नु पर्दैन, खानेपानीले रात्माटावासीमा खुसीयाली छाएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *