दरमका असला माछा संरक्षण गर्दै गलकोट

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । गलकोटको दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाएको गलकोट नगरपालिकाले जनाएको छ ।

दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको र गलकोटको पहिचानसंग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लागाइएको हो । दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानुनी र परम्परागत दुबैतरिकाले माछा मार्न रोक लगाइएको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेलले जानकारी दिनुभयो ।

दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेट समेत ल्याइएको बताउदै भुजेलले भदौ र असोज महिनामा दरमखोलामा माछा मार्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको भन्दै अटेरी गर्नेलाई जरिवाना गर्ने बताउनुभयो ।

“यहाँको पहिचानसंग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने गलकोट नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यवीधि २०८० बनाएर कार्यान्वयन थालेको छ” भुजेलले भन्नुभयो “विशेषगरी वर्षा ऋतुमा असला माछाले फुलपार्ने अवधी भएकाले भदौं र असोज महिनामा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लङ्घन भए कार्यविधिको दफा १४ बमोजिम रु. एक लाख सम्म जरिवाना गर्नेछौं ।”

असोज महिनापछि भने परम्परागत तरिकाले माछा पार्न पाइने छ । यहाँको असला माछा विदेशमा समेत कोसेलीको रुपमा निर्यात हुने गरेको छ । निकै स्वादिष्ट मानिने दरमखोलाको माछा लोप हुन थालेपछि नगरपालिकाले संरक्षणको नीति बनाएको हो ।

बागलुङको ताराखोलादेखि गलकोट नगरपालिका हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइनेमध्येको खोला रहेको स्थानीयको भनाई छ । यहाँको चिसो पानीमा पाइने माछा सबैको रोजाइमा पर्छ । यहाँ परम्परागत शैलीमा ढडिया र जाल हालेर माछा संकलन गरिदै आइएको छ ।

असला माछा पोखरीमा नपाल्ने र हिउँखोलामा पाइने भएकाले यसको स्वाद अरू पोखरीमा पालिने माछाका प्रजातिको तुलनामा फरक हुने भन्दै माछाका पारखीहरूले दरमखोलाको माछा अत्याधिक रुचाउने गरेका छन् ।

यहाँका सय भन्दा बढी स्थानीयहरुले दरमखोलाको माछा मार्ने पेशालाई मुख्य आम्दानीको स्रोतको रुपमा लिएका छन् । नगरपालिकाले भदौै र असोजमा माछा मार्न रोक लगाएपछि दरमखोलाका माछा संरक्षणमा ठूलो सहयोग पुग्ने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शमा गैरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *