डम्मर बुढा मगर, बागलुङ
अचेल बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्ली–गल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही लोग्ने मान्छे मुखुण्डो, रंङ्गीबिरङ्गी कपडा लगाएर नाच्छन् । नाच्ने मान्छेको अनुहार मुखुण्डोले छोपिएको हुँदा चिन्न सकिदैन । त्यो नाच हेर्नेको बजारमा भीडनै लाग्ने गर्छ । साउने चर्तुदर्शीदेखि नाच्न सुरु भएको यो नाच तीजको दिनसम्म नाचिन्छ । जसलाई नेवार समुदायले लाखे नाच भन्छन् । रहेक वर्ष यो याममा नाचिने लाखे नाच खास गरि निकै आकर्षक र अनौठोको हुन्छ ।
पहिले–पहिले लाखे नाच नाच्ने र बाजा बनाउनेको संख्या पनि ठूलो हुन्थ्यो, तर पछिल्लो समय निकै कम भएको छ । खास गरि नेवार समुदायले नाच्ने लाखे नाच कहिलेबाट नाच्न सुरु भएको भन्ने यकिन छैन । करिब तीन वर्ष वर्ष अगाडि काठमाडौँ, भक्तपुर, पाटन लगायतका स्थानबाट नेवार समुदाय बागलुङमा आउँदै उतैबाट यो नाच नाच्ने प्रचलन लिएर आएको भन्ने गरिको छ । नेवार समुदायबाट बागलुङमा अन्य समुदायले लाखे नाच नाच्ने गरेको पाइँदैन । नेवार समुदायसँग सम्बन्धित यो नाचलाई बागलुङ शाक्य समाजले संरक्षण गर्दै आएको छ ।
नाच्ने तथा बजाउने कलाकार बजारमा टिकाउन नसक्दा लाखे नाच संरक्षणमा निकै चुनौतिसमेत देखिएको छ । कही समय अगाडिसम्म चतुर्दशीदेखि तीजसम्म दिनदिनै बजारमा नाच देखिने गरे पनि अहिले त्यत्ति देखिदैन । यस अवधी बाहेक विभिन्न मेला महोत्सवमा पनि नेवार समुदायले लाखे नाच प्रदर्शन गर्ने गर्छन् । पछिल्लो समय युवा पुस्ताले यस नाचप्रति चासो नदिँदा संरक्षण गर्न समस्या भइरहेको स्थानीय ७३ वर्षीय मुकुण्ड शाक्यले बताउनुभयो । उहाँले आफ्ना पाका पुर्खाले जोगाउँदै आएको यो संस्कृतिलाई अहिलेसम्म ल्याइ पु¥याउँदा निकै चुनौति भएको बताउनुहुन्छ ।
आफूको पालामा नाच्ने बजाउने कला धेरै युवामा भएको तर अहिले नयाँ पुस्तामा त्यो कला नभएको उहाँको भनाइ छ । कला भएको व्यक्तिबाट नयाँ पुस्तालाई सिकानका लागि शाक्य समाजले पहल गरेको भन्दै लाखे नाच संरक्षणका लागि बागलुङ नगरपालिकालाई आग्रह गरे पनि अहिलेसम्म कुनै पनि सुनुवाई नभएको शाक्यले गुनासो गर्नुभयो । पुस्ता हस्तान्तरण भए लाखे नाच अझै दशकौँसम्म रहि रहने उहाँको भनाइ छ ।
“अहिलेसम्म शाक्य समाजले धान्दै आएको छ, खर्चिलो भएर हो की के हो, धान्नै गाह्रो भयो, अहिले एक÷दुई जना युवा छन्, ति कतै गए भने नाच रोकिन्छ, मान्छे टिकाउन गाह्रो भयो, नगरपालिकालाई सहयोग माग्यौँ तर भएन,” शाक्यले भन्नुभयो – “लाखे नाचको चार ताल हुन्छ, एउटा ताल लोप भइ सक्यो, अहिले तीन ताल मात्रै नाचिन्छ, अब क्रमैसँग तालहरु लोप हुँदै जान थालेका छन्, अन्य ठाउँको भन्दै बागलुङको नाच निकै उत्कृष्ट छ, यहाँको जस्तो मुकुण्डो कतै पनि छैन, अबको मुख्य समस्या भनेको बजाउने र नाच्ने मान्छे छैनन् ।”
स्थानीय लालचन्द्र राजभण्डारीले नयाँ पुस्ताले चासो नदिँदा लाखे नाच लोपोन्मुख अवस्थामा पुगेको गुनासो गर्नुभयो । ४०० वर्ष भन्दा अगाडिदेखि नै यो नाच्दै आएको अनुमान गरिए पनि यसको सुरु कतिले भएको भन्ने यकिन नभएको उहाँको भनाइ छ । नेवार समुदाय मध्य पनि शाक्यहरुले बढी नाच्ने प्रचलन रहेको राजभण्डारीको भनाइ छ । अहिले बजारमा नाचिने लाखे पहिलेको तुलनामा निकै कमजोर भएको उहाँको ठम्याइ छ ।
राजभण्डारीले भन्नुभयो –“पहिलेका कलाकारहरु निकै राम्रो नाच्थे, बाजाको ताल उस्तै राम्रो हुन्थ्यो, अहिले त नाच्ने बजाउने नयाँ युवा भएर होला, सिकारु पनि छन्, त्यही भएर त्यत्ति राम्रो छैन, अहिलेका बुढापाकाले जस्तो नाच्न र बजाउन जान्दैनन्, केही युवाले संस्कृति जगेर्णा गर्न खोजेको त पाइन्छ, तर एक्लैको प्रयासले हुँदैन, स्थानीय सरकारले पनि कला, संस्कृति र पुरा सम्पदा संरक्षण्मा ध्यान दिनु पर्छ ।”
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सदियौँदेखि मनाउँदै आएका स्थानीय मौलिक कला, संस्कृति, मेला पर्व, परम्परा र भेषभूषाको संरक्षण सम्वद्र्धन र प्रचारप्रसार गर्न नगरपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले केही समयमै नगर पर्यटन विकास समिति गठन गर्ने र त्यस मार्फत सबै संस्कृतिलाई पर्यटनसँग जोड्ने बताउनुभयो । आगामी वर्षदेखि लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिलाई समुदायसँग सहकार्य गरेर तालिम तथा प्रशिक्षण दिएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरि काम गर्ने उपप्रमुख खड्का बताउनुहुन्छ ।
“हाम्रो बागलुङ नगर भित्रै थुप्रै कला संस्कृति, रीतिरिवाज र पम्परा छन्, त्यस मध्ये कतिपय हराउँदै गएका छन्, हराउँदै गएका संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ, नयाँ पुस्तालाई सिकाएर हुन्छ, रोकिएकालाई निरन्तरता दिएर हुन्छ, फरि चलायमान बनाउने काम गछौँ” उपप्रमुख खड्काले भन्नुभयो – “त्यसका लागि बजेटको व्यवस्थापन गर्ने र सबैलाई पर्यटनसँग जोड्ने नीति बनाउँदै छौँ, पर्यटनसँग जोडिएको भने छिट्टै लोप भएर जाने संभावना घट्छ, नयाँ पुस्तालाई संरक्षणका लागि आकर्षित गर्ने गरि काम गर्ने योजना हाम्रो छ ।”