गलकोट नगर अस्पताल : जनशक्ति र उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिकाले स्थानीय तह स्थापनापछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्ना साथ बागलुङ, पोखरा र काठमाडौंका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् । गलकोट नगरपालिकाले पोहोर साल पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सख्या पनि दिनदिनै बढ्दै गएको छ ।

हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत लगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिदै छन् । जनशक्तिसँगै नगर अस्पतालमा आधुनिक उपकरण पनि थपिदै गएका छन् । उपकरण थपिएसँगै स्थानीय सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै पाउन थालेका छन् । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा. राजेश पौडेल र डा. अर्जुन बरालले सेवा दिइ राख्नु भएको छ । विशेषज्ञ डाक्टरसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउण्ड’ पनि आएको छ ।

नगर अस्पताललाई गलकोट समाज जापान ३५ लाख रुपैयाँको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेका छन् । समाजल नगर अस्पताल संचालनका यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । अस्पताल संचालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । विदेशमा रहेर पनि गलकोटेहरुले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरि रहेको उहाँको भनाइ छ ।

अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शैया, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सी लगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताउनुभयो । एक वर्षदेखि गलकोटमा १५ शैयाको सेवा प्रवाह गर्दै आएको उहाँ बताउनुहुन्छ । यही अस्पालमा गुणस्तरी सेवा दिन थालेपछि गलकोटबाट उपचारका लागि बाहिर जानेको संख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

“गलकोट समाज जापानले अहिले मात्रै होइन, वर्षौँदेखि सहयोग गर्दै आएको छ, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन नगरपालिकासँग सहकार्य गर्दै आएको छ, अहिलेसम्म लाखौँका सामग्री प्राप्त भएको छ,” प्रवक्ता भण्डारीले भन्नुभयो – “अहिले स्वास्थ्यमा ठूलो परिवर्तन आएको छ, पहिले बिरामी हुँदा बित्तिकै हजारौँ रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न अस्पतालमा पुग्ने स्थानीय अहिले यही आएर उपचार गराउनु भएको छ, सन्तुष्ट पनि उत्तिकै हुनुहुन्छ ।”

गलकोट क्षेत्रमै सहर बजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरुले जापानमा सहयोग जुटाएरको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताउनुभयो । गलकोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ । लामो समयदेखि समाजिक कार्य गदै आएको गलकोट समाज जापानले १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उहाँको भनाइ छ ।

नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले सेवा थपिदै गएपछि बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गलकोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक १७० देखि २०० जना बिरामीले उपचार सेवा लिने गरेको डाक्टर पौडेलले बताउनुभयो ।

हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् । अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिका लगायतबाट बिरामी आउन थालेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *