घट्यो बागलुङमा बजारमा व्यापार, गाउँमा बढ्दै

डम्मर बुढा मगर, बागलुङ
कुनै बेला बागलुङ बजार धौलागिरी क्षेत्रको व्यापारीक केन्द्र थियो । बागलुङका दूर दराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीडनै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारीक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा स–साना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् ।

बागलुङमा खास गरि दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुङ्गा नाका अर्को हाँडीखोला नाका । मालढुङ्गा नाकाबाट भित्रिने अधिकांश सामान विरगञ्ज, काठमाडौ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ । मालढुङ्गादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्मिच बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ ।

गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँ–गाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना संक्रमणकालपछि झन् सुस्ताएको छ । पछिल्लो समय आर्थिक मन्दिका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्ष यता व्यापार पचास प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषिराम गौतमले बताउनुभयो ।

कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दिका कारण व्यापारी समस्यामा परेको गौतमको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महङ्गो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उहाँले बताउनुभयो । पछिल्लो छ महिनामा बागलुङ बजारका एक बढी सटरमा गरिदै आएको पसल बन्द भएको महासचिव गौतम बताउनुहुन्छ । केही समय अगाडि बागलुङमा संचालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका संचालकले व्यापारीको करोडौँ रकम हिनामिना गरे फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

“चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्” महासचिव गौतमले भन्नुभयो – “व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर विक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका/नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।”

बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आउनु भएका डिल्ली गौतमले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिती आउन थालेको बताउनुभयो । संघीयताको प्रभावले गर्दा ६ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको भन्दै कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताउनुभयो । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँगाउँसँग व्यापार बाडिएको बताउनुभयो ।

गौतमले भन्नुभयो – “तीस वर्ष अगाडिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त संघीयताको प्रभाव हो, त्यसपछि गाउँ–गाउँमा मोटरबाटो पुग्नु, दुई÷तीन वर्ष कोरोना र अहिले आर्थिक मन्दि मुख्य कारण हो, बजारको अवस्था हेर्नु हुन्छ भने कहिले त एउटा सामान पनि विक्री हुँदैन, दिनभरी पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेकाहरु गाउँ फर्किनुको विकल्प हुँदैन ।”

निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले ६ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताउनुभयो । एक दशक अगाडिसम्म सुनसान गाउँमा अहिले व्यापारीक चहलपहल बढ्दै गएको बताउनुभयो । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, बडावनखोला, निसी, भल्कोट र सिपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताउनुभयो । पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उहाँ बताउनुहुन्छ ।

“अहिले गाउँमा खान लागनको दुःख हरायो, पहिले दोकान, पसलहरु धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौसम्म सुरक्षित तरिकाले लगाउनु पथ्यो, नुन, तेल र चामल लामो समयसम्म पुग्ने गरि अड्कल गरेर खानु पथ्र्यो,” क्षेत्रीले भन्नुभयो – “अहिले घर–घरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महङ्गोमा बेच्नु पर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो ।

पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोङ्गादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडा लगायतका गाउँहरुमा व्यापार बढ्दो क्रममा रहेको व्यापारीको भनाइ छ । अहिले जिल्लाको बस्ती बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि स–साना पसलहरु संचालनमा आएका छन् । जसले स्थानीयको दैनिकीलाई सहज बनाइ दिइको छ । बर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा संचालन हुन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *