सुनसान छन् बागलुङका घरबास

डम्मर बुढा मगर, बागलुङ
बर्खाका कारण बाटाघाटमा घाँस पलाएका छन् । गाउँ–गाउँसम्म पुग्ने सडक अवरुद्ध बनेका छन् । यतिबेला गाउँ शान्त छन् । बागलुङका ग्रामीण क्षेत्रमा संचालनमा रहेका घरबास (होम–स्टे) पनि बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । असारदेखिनै बागलुङमा पर्यटकको आगमनमा कमी भएको थियो । साउनदेखि घरबासमा पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको छ । घरबासमा पाहुना आउन छोडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । जिल्लामा पछिल्लो समय घरबास संचालन गर्नेको संख्या बढ्दै गएको छ ।

पर्यटकीय स्थल वरपर संचालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । बर्खाको कारण घरबाससम्म पुग्ने सडक तथा पदमार्ग हिलाम्मे हुँदा पर्यटक पर्यटकीय स्थल र घरबासमा पुग्न सकेका छैनन् । यो समय घरबास मात्रै होइन जिल्लाका पर्यटकीय स्थल पनि सुनसान जस्तै छन् । जिल्लाको चर्चित घरबास मध्येको काठेखोला गाउँपालिका–३ धम्जा स्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डे लगायत घरबासमा पाहुना कम पुग्ने गरेका छन् ।

बजार वरपरका धार्मिक पर्यटकीय स्थलबाहेक अन्य ठाउँमा पर्यटकको चहलपहल शून्य जस्तै छ । बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पसल, पञ्चकोट र सालिग्राम संग्राहलय बाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको संख्यामा पनि कमी आएको छ । अब असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बेलढुङ्गा सामुदायिक घरबासका संचालक गोपाल श्रीसले बताउनुभयो । असारदेखि हालसम्मका हरेक महिना फाट्टफुट्ट पाहुन आएको उहाँ बताउनुहुन्छ ।

बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोहरुमा घाँस पलाउँदा पाहुन कम आएको श्रीसको भनाइ छ । गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीय स्थलहरुमा पर्यटक भित्राउन नसकिने उहाँले बताउनुभयो । बर्खा रोकिएपछि बाटाघाट सहज रुपमा संचालन हुन थाले भने घरबासमा पाहुन आउन थाल्ने श्रीस बताउनुहुन्छ ।

“अहिले त होम–स्टे बन्द जस्तै छ, पाहुना आएपछि त खाना खुवाउनु प¥यो, खुवाइन्छ, बास पनि दिइन्छ, तर हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, होम–स्टेलाई व्यवस्थित बनाउने र पाहुन मैत्री बनाउने विषयलाई बढी ध्यान दिएका छौँ” श्रीसले भन्नुभयो – “अहिले त मकै पाक्ने बेला भयो, मकै भित्राउने, आलु खन्ने, बारीमा काम गर्ने बाहेक अरु केही गर्न सकिएको छैन, पाहुना नआउने भएपछि अरु काममै व्यस्त हुने गरेका छौँ ।”

घरबासमा आउने पाहुनालाई पूरै अर्गानीक उत्पादन खुवाउने उहाँको भनाइ छ । यहाँ विशेष गरी कोदोको ढिडो, लोकल कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको उहाँको भनाइ छ । वर्षा रोकिएर सडक खुले भने पर्यटकीय स्थल बेलढुङ्गा आउने पर्यटक आफुहरुले संचालन गरेको घरबासमा आउने श्रीस बताउनुहुन्छ ।

बागलुङ नगरपालिका–१० भकुण्डे स्थित अतिथी सत्कार सामुदायिक घरबासमा पनि अहिले पाहुनाको आगमन निकै कम भएको संचालक मुना थापा मगर बताउनुहुन्छ । बर्खामा बादल लाग्ने र दृश्यावलोक गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उहाँको भनाइ छ । बागलुङ बजारदेखि यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ । कहिले काहीँ मात्रै पाहुन घरबासमा बस्न आएको थापाको भनाइ छ । तिज सुरु भयो भने पर्यटक बजारबाट भकुण्डे उक्लिन थाल्ने उहाँले बताउनुभयो ।

“बजारबाट दूरीका हिसाबले टाढा होइन, जिल्लामा बागलुङ बजारदेखि सबैभन्दा नजिकको होम–स्टे अतिथी सत्कार हो, नजिक भएर के गर्नु यहाँसम्म आउने सडकको अवस्था निकै खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ,” थापाले भन्नुभयो – “पाहुना नआएपछि घरको काम कम भएको छ, त्यही भएर होमस्टे संचालकहरु कोदो गोड्ने र मकै भित्राउने काममा व्यस्त हुनुहुन्छ, हिउँदमा धेरै पाउना हुनुहुन्छ, त्यस बेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भएको छ ।”

प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमश्रृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ । घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनसँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रद्धर्शन गर्न सक्ने भएका छन् । जिल्लाको विभिन्न स्थानमा घरबास संचालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्णसमेत हुन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *