खुम्रे किराको प्रकोपले कोदोबाली सखाप

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे किराको प्रकोप देखिएको छ । खुम्रेकिराका कारण कोदोबाली धमाधम शुक्न थालेपछि बागलुङ नगरपालिका भित्रका किसानहरु चिन्तित बनेका छन् ।

बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिम लगायतको क्षेत्रमा लगाइएको कोदोमा खुम्रे किराको प्रकोप देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोजरामा खुम्रे किरा र डाठमा गबारो देखिएको छ भने धान खेतिमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तिब्रता दिएको छ ।

बागलुङ नगरपालिका–८ सिगाना, वडा नम्बर ५ मालिका, वडा नम्बर ६ सिम लगायतको स्थानमा खुम्रे किराको प्रकोप अत्याधिक रुपमा पाइएको बागलुङ नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो ।

कोदोको जरामा खुम्रे किरा, डाठमा गबारो र धानमा ढुसीरोगको संक्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लािग किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतिमा खुम्रे किराको प्रकोपले समस्या देखिएको सापकोटाको भनाई छ ।

“अहिले समस्या भएको किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रे किराको प्रकोप देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ” शाखा प्रमुख सापकोटाले भन्नुभयो “अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु. ८० हजार बजेट विनियोजन गरेर समस्या ग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ ।”

हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको बागलुङ नगरपालिका–८ सिगानाका किसान चित्र बहादुर कार्कीले बताउनुभयो । कार्कीले कोदोमा डढेलो लागेजस्तै भएर मरेपछि वडा कार्यालय र नगरपालिकाको कृषि प्राविधिकहरु आएर अनुगमन गरेको जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–७ र वडा नम्बर ११ बाट समेत खुम्रे किराको प्रकोप भएको भन्दै अनुगमनका लागि कृषि शाखामा खबर आएको कृषि शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
नगरपालिकाले सूचना प्रकाशन गरी खुम्रे किराको प्रकोपको समस्या आएमा र आवश्यक रोगथामका लागि विषादी लैजानका लागि कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बागलुङ नगरपालिका–८ सिगानामा मात्रै ६० रोपनी जग्गामा लगाइएको कोदोमा खुम्रे किरा र गबारोको प्रकोप र ३० रोपनी जग्गामा लगाइएको धान खेतिमा ढुसीलागेर जरा कुहिने समस्या देखिएको वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै वडा ६ को सिम, भान्सा, लंगाउमा लगाएको कोदोमा खुम्रे किरा, धानको गुबो मर्ने र सुन्तलामा सेतो ढुसीले पात नष्ट भएर किसानहरु समस्यामा परेको वडा अध्यक्ष रुद्र बहादुर केसीले जानकारी दिनुभयो । क्षतिको विवरण वडाले संकलन गरिरहेको र विषादी वितरण गर्न थालिएको केसीको भनाई छ । लगातारको वर्षाका कारण खुम्रेकिराको प्रकोप बढी फैलन पाएको कृषि प्राविधिकहरुको भनाई छ ।

विषादी छर्कदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्नेछ हाल सम्म ३०० रोपनी जग्गामा लगाइएको कोदोबालीमा खुम्रेकीराको प्रकोपले कोदोबाली सखाप भइरहेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे किरा फैलन पाएको प्राविधिकहरुको भनाई छ ।

आगमी दिनमा मकै लगाउने सिजनमा माटोमा विषादीको प्रयोग गरेर खुम्रे किरालाई नियन्त्रण गर्नेगरी किसानलाई सेचत गराइने कृषि शााले जनाएको छ । बागलुङ नगरपालिकाका १४ वटै वडामा खुम्रे किराको प्रकोपका कारण कोदामा समस्या देखिन थालेकाले कोदोको उत्पादनमा गिरावट आउने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *