गलकोटमा आउला त इलाका प्रशासन ?


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि सकरात्मक पहल भएको छ ।

गलकोटमा इलाका प्रशासन कार्यालय राख्नुको औचित्यता र आवश्यकताको प्रतिवेदन सहित सर्वसहमतीको निर्णय सहित जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा सिफारिस गरिएपछि प्रशासनको एकिकृत सेवा पाउनेमा गलकोटवासी आशावादी भएका छन् । इलाका प्रशासनको माग भने चार वर्ष देखि गरिदै आइएको छ ।

गलकोटको हरिचौरमा रहेको बागलुङको जिल्ला सदरमुकामलाई २०१९ सालमा बागलुङ बजार ल्याइएको इतिहासमा पढ्न पाइन्छ । बागलुङ जिल्ला सदरमुकाम बागलुङ जिल्लाको छेउमा हुँदा सेवाग्राहीलाई मर्का पर्दै आएको छ ।

बागलुङको तारखोला गाउपालिका, गलकोट नगरपालिका, बडिगाड गाउपालिकाको वडा नं १,२,३,र बरेङ गाउपालिकाको वडा नं ४ र ५ सेवा क्षेत्र रहने गरी बागलुङ जिल्लाको सर्वदलिय, सर्वपक्षिय संयन्त्रले जिल्ला प्रशासन कार्यालयको रोहबरमा गलकोटमा ईलाका प्रशासन कार्यालयका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग लिएर २०७६ सालमा समेत सिफारिस गरिएपनि कार्यालय स्थापनको औचित्य पुष्टी नगर्दा हालसम्म कार्यालय स्थापना गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले प्रकृया पु¥याएर इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि सिफारिस गर्न आग्रह गरेपछि वडा तह, पालिका र जिल्ला तहको सर्वसहमतीको निर्णय र कार्यालय स्थापना गर्नुपर्ने आधार सहितको प्रतिवेदन सहित गृह मन्त्रालयमा पठाइएको श्रेष्ठले बताउनुभयो ।

“सेवाको दुरी र लागत घटाउनका लागि गलकोटमा इलाका प्रशासन कार्यालय, नापी र मालपोत कार्यालय स्थापनाको आवश्यकता, भौगोलिक अवस्था र सेवा प्राप्त गर्ने जनसंख्या लगायतको ३५ पेजको प्रतिवेदन सहित वडा स्तर, पालिका स्तर जिल्लास्तरको सर्वपक्षीय सहमतीमा सिफारिस गरेका छौं” श्रेष्ठले भन्नुभयो “२०७६ सालमा समेत सिफारिस गरिएको रहेछ त्यो समयमा सर्वदलीय निर्णय मात्रै पठाइएको रहेछ, यस पटक कार्यालय स्थापना लागि आवश्यक जनशक्ति, सेवा लिने जनसंख्या, लाभान्वित पालिका र आवश्यक वार्षिक बजेट सहित सिफारिस गरिएको छ ।”

भौगोलिक रुपमा समदरमुकाम भन्दा ४५ किलोमिटर टाढा रहेको गलकोटमा तीन वटा कार्यालय राख्दा गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाको केही वडाका नागरिकलाई सहज हुने र सेवा लिन आउने लागत घट्ने भएकाले कार्यालय स्थापनका लागि आवश्यक औचित्य सहित सिफारिस गरिएको छ ।

गलकोट नगरपालिकाका उपप्रमुख फमलाल न्यूरेले वडा तह र पालिका तहको निर्णयलाई जिल्ला प्रशासनले गहन छलफल, प्रतिवेदन निर्माण सहित प्रकृया पु¥याएर सम्बन्धीत मन्त्रालयमा सिफारिस गरिएको भन्दैै कार्यालय स्थापनका लागि गलकोट नगरपालिकाले आवश्यक जग्गाको समेत खोजी गर्ने जानकारी दिनुभयो ।

सिफारिस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई ध्यानाकर्षण गराउन जाने कार्यक्रम रहेको उपप्रमुख न्यूरेले जानकारी दिनुभयो । “नागरिकता बनाउन र जग्गा पास गर्न समेत घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताबाट आजित बनेका त्यस क्षेत्रका बासिन्दाहरुले चार वर्षदेखि इलाका प्रशासन कार्यालय सहित मालपोत र नापी कार्यालयको माग गर्दै आइरहेका छन्” न्यूरेले भन्नुभयो “अहिले सकरात्मक कदम चालिएको छ, नेपालका अन्य जिल्लाहरुमा समेत इलाका प्रशासन कार्यालय थप गर्ने भन्ने सुनियो, यहाँका जनतालाई सेवा लिन आउने समय र खर्च दुबैको बचत गर्न इलाका प्रशासन गलकोटमा आवश्यक छ ।”

प्रशासनीक सेवा सहजरुपमा पाउनुपर्ने जनताको अधिकार भएको भन्दै प्रकृया अनुसार नै प्रतिवेदन निर्माण गरेर कार्यालयको माग गरिएको हो । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासनले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका तीन वटा वडाका एक लाख १२ हजार जनतालाई सेवा दिने, इलाका प्रशासन कार्यालय बुर्तिवाङले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाडका ७ वटा वडाका ८५ हजार जनतालाई सेवा दिने र गलकोट नगरपालिकाले बडिगाडका ३ वटा वडा, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाका दुई वटा वडाका ५९ हजार जनतालाई सेवा दिनेगरी प्रतिवेदन तयार गरिएको छ ।

गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालयमा ३३ जनाको जनशक्ति र रु. दुई करोड १६ लाख वार्षिक खर्चको अनुमान सहित सम्बन्धीत मत्तालयमा सिफासिर गरिएको हो । नसंख्याको आधारमा नभई भोगोलिक विकटताका आधारमा कार्यालय राख्न प्रतिवेदन बनाइएको हो ।

इलाका प्रशासन कार्यालय खोल्ने निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने भन्द बागलुङ जिल्लाका १४ जना संघ र प्रदेशका सांसदहरुले ध्यानाकर्षण गराइसकेको र यसपकट जसरीपनी जनताको सेवालाई मध्यनजर गर्दै कार्यालय स्थापना गर्न पहल भइरहेको सोही क्षेत्रका गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनले जानकारी दिनुभयो ।

जिल्लाको भौगोलिक अवस्थितिका कारण गलकोटमा इलाका प्रशासन कार्यालय अपरिहार्य बनेको बताउदै नेपाली कांग्रेस गलकोट नगरसभापती विरजंग भण्डारीले भौगोलिक हिसावले गलकोट उपेक्षामा परेकाले नागरिकता, राहदानी र जग्गाको काम गलकोटबाट हुनुपर्ने बताउनुभयो ।
जनस्तरबाटै गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना हुनुपर्ने माग उठ्दै आएकोमा यसपटक लिपिबद्ध गरेर सिफारिस गरिएको र केन्द्रमा निरन्तर पहल गरिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो । जिल्लाको पश्चिम बुर्तिवाङमा भने २०५२ सालबाटै एकीकृत सेवा केन्द्रमार्फत नागरिकता, राहदानी र जग्गाको सेवा उपलब्ध भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *