डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दुध उत्पादन गर्दै आउनु भएको छ । उहाँले दुध उत्पादन गरे पनि विक्री हुँदैन । छिमेकी ब्राहमण, क्षेत्री र मगर समुदायको दुध सहकारी तथा दुधडेरीहरुले खरिद गरे पनि विकले उत्पादन गरेको दुध कसैले किन्दैनन् । चन्द्रबहादुरको मात्रै होइन यहाँ रहेका दलित सुमदायले दैनिक ४० लिटरभन्दा बढी दुध उत्पादन गर्दै आएका छन् । सिम गाउँमा रहेका सात दलित परिवारकोले उत्पादन गरेको दुध विक्री नभएपछि निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ ।
दुध विक्री नभएपछि दलित समुदायका किसानहरुले घिउ बनाउँदै आएका छन् । दैनिक १० औँ लिटर दुध उत्पादन गर्ने चन्द्रबहादुरले विक्री नहुँदा घर खर्च चलाउन गाह्रो हुने गरेको बताउनुहुन्छ । छिमेकीले दुध बचेर वार्षिक लाखौँ कमाने भन्दै आफूहरुले एक रुपैयाँ पनि आम्दानी गर्न नसकेको दुखेसो पोख्नु भयो । जातीय छुवाछुत र विभेदकै कारण आफूहरुले उत्पादन गरेको दुध विक्री नभएको विक बताउनुहुन्छ । आफूहरुले उत्पादन गर्ने दुधको गुणस्तर कत्ति पनि कमसल नभएको उहाँको भनाइ छ ।
“दुध त एउटै हो, हाम्ले उत्पादन गरेको दुधको रंग पनि सेतै हुन्छ, अरुको विक्री हुने हाम्रो नहुने, यसले दलित समुदायका धेरैलाई दुःखी बनाएको छ, गाउँबाट दिनदिनै अरुले उत्पादन गरेको सयौँ लिटर दुध विक्री हुन्छ” विकले दुःखी हुँदै भन्नुभयो – “हाम्रो समाज कस्तो छ है, एउटै जनावरबाट उत्पादन हुने दुधमा पनि विभेद छ, हामी सात घर परिवार छौँ सबैले ५÷१० लिटर दुध दैनिक उत्पादन गर्छन्, उत्पादन भएको आधा दुध विक्री भए पनि छोराछोरीलाई कापी कलमको खर्च हुन्थ्यो, नुन, चामल खाने पैसा हुन्थ्यो, हाम्रो समस्या कसलाई सुनाउने ?”
गाउँमा आफूहरुले उत्पादन गरेको दुध अरुको सँग मिसाउँदा गाडी दुर्घटान हुन्छ भन्ने गरेको विकले बताउनुभयो । दलित समुदायलाई भेदभाव गरेर सहकारी र स्थानीयले दुध नकिन्ने उहाँको भनाइ छ । गाउँका छिमेकीहरूले दुध विक्री गरेर हजारै रुपैयाँ कमाएँ भनेर सुनाउँदा पनि मन अमिलो हुने उहाँको भनाई छ । दुध विक्री नभएपछि अचेल भैँसी पालन पनि कम गर्न थालेको विकले बताउनुभयो ।
चन्द्रबहादुर जस्तै बागलुङमा धेरै दलित समुदायका घर परिवारहरूले उत्पादन गरेका दुध विक्री हुँदैन । जिल्लामा संचालित दुग्ध सहकारीमा बारम्बार दुध मिसाउनका लागि आवाज उठाउँदा सुनुवाइ नभएको दलित किसानहरुको भनाइ छ । दलितहरुले उत्पादन गरेको तरकारी, फलफूल, बाख्रा, कुखुरा लगायतका वस्तुहरु विक्री हुने गरे पनि दूध विक्री गर्न मुस्किल पर्ने निसीखोलाका पूर्णबहादुर परियारले बताउनुभयो । सरकारले डेढ दशक अगाडि छुवाछुतमुक्त मुलुक घोषणा गरे पनि अहिलेसम्म दलित समुदायले निकै विभेद खेप्दै आएको गुनासो पोख्नुभयो ।
पशुपालन गरेर दुग्ध व्यवसाय गर्ने दलित समुदायलाई वातावरण नभएको भन्दै माथिल्लो जाति भनिनेबाट छुवाछुत हुँदा पनि चुपचाप सहेर बस्नु बाहेक अरु विकल्प नभएको उहाँको भनाइ छ । विभेदमा परेर कानुनी उपचारका लागि सरोकारवाला निकायमा पुगे पनि विभेदका घटनाहरु गुपचुप पार्ने गरेको परियारको गुनासो छ ।
परियारले भन्नुभयो – “हामीहरुले गरेको श्रम चल्ने, उत्पादन गरेको फलफूल, खासीबोका र पैसा चल्ने तर दुध, घ्यू किन नचलेको होला, दुध चाहियो भने आफै आएर गाईभैँसी दुहेर लैजाने, हामीले दुहेर दिएनको नलाने, कस्तो अचम्मको समाज छ ?, गाउँ–गाउँमा दुध संकलन गरेर विक्री गर्ने सहकारीहरु पनि छन्, त्यसमा दलितलाई पनि सदस्यमा राख्छन् तर दुध राख्दैनन् ।”
बागलुङमा दुध उत्पादक सहकारी संघ बागलुङका अध्यक्ष दीपकराज गौतमले गाउँ–गाउँबाट सहकारीले संकलन गरेर ल्याएको दुध आफूहरुले विक्री विदरण गर्दै आएको बताउनुभयो । गौतमले गाउँबाट सहकारी संस्थाहरुले क–कसको दुध ल्याउँछन् भन्ने आफूलाई जानकारी नभएको भन्दै सबै समुदायको दुध आफूहरुले विक्री गर्ने बताउनुहुन्छ । दुध उत्पादन, प्रशोेधन र बजारीकरण गर्दै आएको संघले कसैलाई विभेद नगर्ने अध्यक्ष गौतमको भनाइ छ ।
दुग्ध उत्पादक संघमा हाल १४ वटा दुग्ध सहकारी संस्थाहरु आवद्ध रहेका छन् । दैनिक दुई हजार ५०० सय लिटर दुध विक्री वितरण हुने गरेको र संघमा झण्डै एक हजार ५०० कृषक आवद्ध रहेको उहाँको भनाइ छ । सहकारी संघले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दुध संकलन गर्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो । संघले मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ । विक्री नभएको दुधबाट दहि, पनिर, छुर्पी लगायतका परिकार बनाइ विक्री वितरण गर्ने गरेको उहाँको भनाइ छ ।
अध्यक्ष गौतम भन्नुहुन्छ – “हामीलै सबैको दुध राख्छौँ, गाउँ–गाउँका सहकारी संस्थाहरुले क–कसको दुध ल्याउँछन्, त्यो हामीलाई थाहा हुँदैन, हाम्रो सहकारी संघमा आवद्ध भएका जनसुकै किसानको दुध हामीहरुले ल्याउँछौँ, बजारका उपभोक्ताले माग गरेको सबै ठाउँमा पु¥याउँछौँ, विक्री वितरण गरेर बाँकी रहेको दुधलाई प्रशोधन गरेर विधिन्न परिकार बनाउने गरेका छौँ ।”
बागलुङमा सबैभन्दा बढी दुध उत्पादन काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिकामा हुने गरेको पाइन्छ । यि क्षेत्रका किसानले दुध विक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् भने अन्य पालिकामा भने दुध उत्पादन भए पनि कम मात्रामा विक्री हुने गरेको पाइएको छ ।