रु. ५८ करोड अनुदानमा बागलुङ नगरका तीन सडक कालोपत्र गरिदै


खेमराज गौतम, बागलुङ

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका भित्रका तीन सडक कालोपत्र गरिने भएको छ । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिका बीच अनुदान सम्झौताका गरिएको थियो । सम्झौता अनुसार रु. ५८ करोड रकम अनुदान मार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न आउने भएको हो ।

अनुदान रकमलाई नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्ने विश्व बैंकको नीति रहेको छ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदान मार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अगाडी बढाएको हो ।

उक्त सम्झौता तीन वर्ष पछि कार्यान्वयनमा आउन थालेको हो । आगमी दुई वर्ष भित्रै उक्त सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले विश्व बैंक संगको संझौता अनुसार डिपिआर निर्माणको काम भइरहेको छ । बागलुङ नगरपालिका भित्रका तीन सडकहरु ८ मिटर चौडा बनाइ १३ किलोमिटर सडक कालोपत्र गरिने भएको हो ।

डिपीआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थाल अनुगमन, नाँप चाज तथा विश्व बैंकको प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“दुई वर्ष भित्रै तीन सडक कालोपत्रे गर्नेगरी डिपीआरको अन्तिम तयारी छ, एक महिना पछि डिपीआर सकिन्छ तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्र गरिन्छ” श्रेष्ठले भन्नुभयो “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको बताउदै नगरपालिका भित्रका तीन सडक कालोपत्रले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ ।”

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम मार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने भएको छ ।
विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरु स्तरोन्नतीको पर्खाइमै थिए । संघ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदान मार्फत पक्की बनाउन थालिएको हो । उक्त सडकहरु अत्यन्तै सुविधा सम्पन्न हुँने र नविनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरु निर्माण गरिने छ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ ।
त्यसका लागि विश्व बैंकले रु.५८ करोड अनुदान उपलब्ध गराउने छ भने सडक निर्माण गर्दा बचत हुँन आएको रकम सामाजिक विकासमा खर्च गरिने छ । प्रारम्भिक सर्भेक्षण भएर डिपीआरको अन्तिम चरणमा पुगेको इन्जिनियर गिरीको भनाई छ ।

विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, शहरी विकास मन्त्रालयको प्रोजेक्ट को–अर्डिनेटर रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टिम संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ । उक्त सडकहरु ६ मिटरदेखि ८ मिटर सम्म चौडा हुनेछन् ।

सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ ।

बैंकले नेपाल भर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । बागलुङ नगरपालिकालाई यस अघि समेत अनुदानमा सडक निर्माण गरेको थियो ।

उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले हुँदै मुलपानी तर्फको चक्रपथ निर्माण गरिएको थियो । अहिले उक्त सडकलाई टुङ्गोमा पु¥याइने छ । स्थलगत अध्ययन अनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा ६ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *