शहरको पैसा गाउँ फर्काउदै दूग्ध किसान

खेमराज गौतम, बागलुङ

पछिल्लो समय गाउँको रकम शहर केन्द्रित भइरहेको सन्र्दभमा बागलुङका दूग्ध किसानले भने शहरको पैसालाई गाउँ फर्काउन सफल भएका छन् ।

दूधमा आत्मनिर्भर बागलुङ जिल्लाका दुई पालिकाका किसानले मात्रै एक वर्षमा सात करोड रकम दूध विक्रिबाटै गाउँ भित्राउन सफल भएका छन् ।

बागलुङको काठेखोला र बागलुङ नगरपालिकाका किसानहरुले दुध विक्रि गरेको आर्थिक वर्ष २०७९÷८० मा रु. ७ करोड ३४ हजार रकम गाउँ भित्राउन सफल भएका हुन् । उक्त रकम १४ वटा दूग्ध सहकारीमा आवद्द किसानहरुले सहकारी मार्फत एक वर्षमा प्राप्त गरेका हुन् ।

दूधमा आत्मनिर्भर बागलुङ जिल्ला बनाउनका लागि ठूलो योगदान गर्दै आएको बागलुङ दूग्ध उत्पादक सहकारी संघमा आवद्ध १४ सहकारी संस्था र एक हजार ४०० किसानहरु आबद्ध रहेका छन् । २२ वर्ष अघि स्थापना भएको सहकारीले बागलुङ बजारको दूधको मागको ७५ प्रतिशत आपूर्ती गर्दै आएको छ ।

किसानले उत्पादन गरेको दूध सहकारी मार्फत प्रशोधन सहितको बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् । दूधको बजारको ग्यारेण्टी भएकाले वर्षेनी दूधको कारोबार बढ्दै आएको भन्दै बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थि वर्ष २०७८÷७९ मा रु. ६ करोड ११ लाखको दूध किसानबाट खरिद गरेको छ ।

जिल्लाको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आवद्ध किसानहरुले आर्थिक वर्ष २०७८/७९ मा दूध बिक्रि गरेर रु. ६ करोड ११ लाख ६८ हजार ३१६ आम्दानी गर्न सफल भएका थिए भने २०७९/८० मा रु. सात करोड ३४ हजार आम्दानी गरेको बागलुङ दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

“सहकारीमार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसानहरुले दीर्घकालिन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् भने किसानले वर्खाको सिजनमा समेत दूध खेर फाल्नुपर्ने अवस्था छैन” अध्यक्ष गौतमले भन्नुभयो “किसानले सकेजती दूध उत्पादन गर्नलाई सहकारीले दूध मात्रै खरिद गर्दैनै किसानको पशुको बीमा, स्वास्थ्य उपचार र अन्य अनुदानका कार्यक्रम मार्फत सहयोग समेत गर्दै आएको छ ।”

दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–८ लेखानीका दूग्ध किसान मिन कंडेलले बताउनुभयो । कंडेलले गाजा दुग्ध उत्पादक सहकारी मार्फत दूध संकलन गरेर बागलुङ दूग्ध उत्पादक सहकारी संघ बागलुङ बजारमा पाठाउनुहुन्छ । अहिले बागलुङ बजारमा सहकारीको दूध नपुगेको कुनै गल्ली र चोक नभएको उपभोक्ताको भनाई छ । अहिले सहकारीको दूध र सहकारीको छुर्पी ब्राण्ड भइसकेको छ ।

“हाम्रा बाले तीन वटा लैना भैसी पालेर दूध विक्रि गर्न नसक्दा मोही भैसीलाई खुवाएर घ्यू मात्रै विक्रि गर्नुहुन्थ्यो, मैले प्रत्यक्ष देखेको थिए, अहिले दूध उत्पादन गर्न सके जति पनी विक्रि हुन्छ लेखानीमा” कंडेलले भन्नुभयो “सहकारीले बजारको ग्यारेण्टी गरेको छ, दूध विक्रि हुँदा वा नहुँदा मुल्य एउटैमा खरिद गर्छ सहकारीले त्यो नै किसानका लागि खुसीको कुरा हो, गाउँमा छरिएर रहेको दूधलाई एकिकृत गर्न सिकाएकै सहकारी संघले हो ।”

काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक ३०० दूध सहकारी संघलाई बजारीकणमा पठाउने गरेको बिहुँका किसान बालानन्द कंडेलले जानकारी दिनुभयो ।

“दूध उत्पादन मात्रै गरेर भएन, विक्रिका लागि बजार टाढा छ, दश लिटर दूध लिएर बजार आउने कुरा भएन सहकारी मार्फत दूध विक्रि गर्दा दूध धेरै टिकाउन सकिने, दूधको प्रशोधन पछि विक्रि नभएमा अन्य उत्पादन गर्ने भएकाले हाम्रो दूधको बजार सुनिश्चितता भयो” कंडेलले भन्नुभयो “सहकारीले दूधको रकम सहकारी मार्फत भुक्तानी गर्दा सहकारीको कारोबारको आधारमा नाफा समेत आउछ, किसानलाई दूध ढुवानी, घाँस ढुवानीमा अनुदान आउछ साथै पशुका लागि प्राविधिक सल्लाह र उपचार समेत सहकारी मार्फत नै हुँदा सहज भएको छ ।”

१४ वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा संकलन गरेको दूध एक मुष्ट बागलुङ दुग्ध उत्पादनक सहकारी संघले संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । किसान मार्फत खदि गरेको दूध विक्रि गरेर सहकारी संघले कमाएको नाफा पुन किसानमै फर्काउने र घाँस ढुवानी, पशुधनको बीमा र स्वास्थ्य उपचार गर्दा किसानलाई राहत मिलेको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु. सात करोड बढीको दूध खरिद गरेर विक्रि वितरण गरेको सहकारीका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुँने मुख्य समस्यालाई भन्यनजर गर्दै २२ वर्ष अधि दूग्ध सहकारी संघ स्थापना गरेको बताउदै गौतमले दूधलाई तापक्रम मिलाएर राख्न पर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्थामा सहकारीले तत्कालै दूध खरिद गरेर ल्याउने अवस्थाले बागलुङमा सहकारीको दूधको ब्राण् बनी सकेको जानकारी दिनुभयो ।

किसान विचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारी मार्फत दूध संकलन गरी सहकारीलेनै घर–घरमा दूध पु¥याउने कार्य सहकारीले गर्दै आएको छ ।

सहकारीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई मासिक रुपमा भुक्तानी गर्दा किसानहरु सहकारी मार्फत बजारीकरणबाट खुसी हुँदै दूध उत्पादनलाई बढाउदै लगैका छन् ।

थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भएपनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारी मार्फत एक मुष्ट बागलुङ बजारमा ल्याउदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् । सहकारी २०५७ सालमन स्थापना गर्दा दूध संकलन गरी ल्याउने र विक्रि नभएर नालीमा फाल्ने गरेको थियो । बिस्तारै सहकारीको दूधको उपभोग गर्ने प्रचलन बनाउदै बागलुङमा दूधको ब्राण्डनै बनाएको छ । सहकारीले भने १५ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।

दूधलाई एकत्रित गर्ने ताजा दूध विक्रि गर्ने, विक्रि गरेर बाँकी रहेको दूधको दूधजन्यपदार्थहरु जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइक्रिम बनाएर विक्रि गर्ने काम गर्दै आएको सहकारी संघका प्रबन्धक वैकुण्ठ प्रसाद शर्माले बताउनुभयो ।

शर्माका अनुसार सहकारीले आर्थिक वर्ष २०७९/८० मा मात्रै किसानलाई सात करोड ३४ रकम दूध खरिद वापतको रकम भुक्तानी दिएको र सहकारी संघले समेत रु. ९८ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बिमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रर्बद्धनात्म काममा लगनी गर्ने सहकारी संघले जनाएको छ । संघले दूध सहित ९ प्रकारका दूग्धजन्य परिकारहरु बिक्रि तथा वितरण समेत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *