पूर्वाधार अभावमा बागलुङका पर्यटकीय क्षेत्र

डम्मर बुढा मगर, बागलुङ
हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रका बारेमा धेरै चर्चा हुने गर्छ । तर अन्य दिन सरोकारवालाहरुले त्यत्ति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अहिले पनि ओझेलमा छन् । चर्चामा रहेका केही गन्तव्यहरुमा भने पूर्वाधार निर्माण हुन नसक्दा पर्यटनमैत्री भन्न सकेका छैनन् । प्राकृतिक सौन्दर्यले भरिएका पर्यटकीय ठाउँसँगै मानव निर्माण धार्मिक स्थल पनि बागलुङमा बढ्दै गएका छन् । ति स्थलहरुमा पछिल्लो समय आन्तरिक तथा केही बाह्य पर्यटकको पनि आगन राम्रै छ ।

तर सम्बन्धित निकायले भौतिक पूर्वाधारमा लगानी गर्न नसकेको गुनासो बढेको छ । बागलुङ बजार नजिकै बागलुङ कालिका, सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम संग्राहलय, विश्वको सबैभन्दा लामो दाबी गरिएको झेलुङ्गे पुल छन् । यि ठाउँहरुमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको आगमन उल्लेख्यनै छ । प्राकृतिक सौन्दर्यले भरिएको ढोरपाटन, गाजाको दह, रिगताल, घुम्टे, नरसिंहकोट, बराह ताल, लगायतका ठाउँमा भने कम मात्रै पर्यटक पुग्ने गरेको पाइन्छ । यि ठाउँसम्म पुग्ने पदमार्ग तथा सडक व्यवस्थित नहुँदा पर्यटकको कम पुग्ने गरेका हुन् ।

जिल्ला सदरमुकाम वरपर रहेका मानव निर्मित गन्तव्यमा भौतिक पूर्वधारले सम्पन्नता र सहज पहुँच मार्गका कारण पर्यटक बढ्ने गरेको पाइन्छ । बजारभन्दा टाढा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार हुन नसक्दा धेरै पर्यटक पुग्न नसकेको होटल व्यवसहायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । अहिले पनि चर्चित पर्यटक ठाउँहरुमा पुग्ने सडकको अवस्था निकै कमजोर र त्यहाँ पुगेपछि बस्ने खाने व्यवस्थित होटल तथा रेष्टुरेन्ट नहुँदा पर्यटक कम पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

“बागलुङका धेरै पर्यटकीय ठाउँहरु अहिले पनि ओझेलमा छन्, तिनीहरुको प्रचारप्रसार गर्न सके धेरै पर्यटक बागलुङमा ल्याउन सकिन्छ, यति धेरै संभावना बोकेका ठाउँ छन् तर त्यहाँ व्यवस्थित संरचना बन्न सकेको छैनन्, सडकको अवस्था बेहाल छ, प्रचारप्रसारमा कसैको ध्यान छैन अनि कसरी पर्यटक पुग्न सक्छन् ?,” राजभण्डारीले भन्नुभयो – “पर्यटक आकर्षणका लागि पहिले त पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनु पर्छ, त्यहाँसम्म पुग्ने सडक र पदमार्ग निर्माण गर्नु पर्छ, बास बस्न, खाना र पर्यटकले रुचाउने अन्य विषयमा ध्यान दिन जरुरी हुन्छ ।”

पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले अहिलेसम्म पर्यटन बोर्ड र सरकारबाट आउने बजेट समन्वय नगरि आउने हुँदा पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउनुभयो । पर्यटन विकास समितिले अब पर्यटन बोर्ड लगायत अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर बागलुङको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने बताउनुभयो । बागलुङका धेरै पर्यटकीय ठाउँसम्म पुग्ने सडक व्यवस्थित नहुँदा पर्यटक भित्राउन नसकिएको उहाँको भनाइ छ । वर्षौँदेखि चर्चामा रहेका गन्तव्यहरुमा अहिलेसम्म पनि खानेपानी, शौचालय लगायतका सामान्य पूर्वाधार बन्न नसक्नु दुःखद भएको बताउनुहुन्छ ।

“पर्यटकीय स्थल मात्रै भएन, त्यहाँसम्म पुग्ने सडक, पदमार्ग, शौचालय, खानेपानी, बास स्थानको सुविधा पनि हुनु पर्छ, अब हामीहरुले जिल्लामा लुकेर रहेका गन्तव्यहरुको पहिचान गर्ने, अहिले चर्चामा रहेका ठाउँहरुको विकास गर्न सरकारसँग सहकार्य गर्छौँ” अध्यक्ष खड्काले भन्नुभयो – “पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने तयारीमा छौँ, अब जिल्लाको पर्यटन विकासका लागि ठाउँ–ठाउँका घरबासलाई व्यवस्थित गर्ने, होटल व्यवसायीहरुलाई प्रोसाहित गर्ने र पर्यटन भित्राउन कसरी सकिन्छ त्यस तर्फ ध्यान दिएका छौँ ।”

बागलुङमा तीन वटा राष्ट्रिय राजमार्ग पर्छन् । तीन वटै राजमार्गले बागलुङमा रहेका पर्यटकीय क्षेत्रहरुलाई जोडेका छन् । मध्यपहाडी लोकमार्गले पूर्व कालिका मन्दिरदेखि पश्चिम पातिहाल्ने, रिगताल जोडेको छ । कालिगण्डकी कोरिडोरले पनि बञ्जी जम्प लगायतका गन्तव्यलाई जोडेको छ । तराई पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले गंगरे, नरसिंहकोट र ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई जोडेको छ । यि मुख्य सडक कालोपत्रे भए भने जिल्लामा धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *