एक जना कर्मचारीको भरमा चल्छन् छ जिल्लाका स्वास्थ्य बीमा बोर्ड


–खेमराज गौतम, बागलुङ

स्वास्थ्य बीमा बोर्ड बागलुङमा बिहान नौ बजेनै सेवाग्राही पुग्छन्, कतिले स्वास्थ्य बीमाको जानकारी लिन त कतिले हराएको कार्ड बनाउन ।

कार्यालयमा जिल्लाभर छरिएका दर्ता सहयोगीहरुको फोनको घण्टी बजेको बज्यै छ तर कार्यालयमा रहनुभएका एक जना कर्मचारी सेवाग्राहीसंग कुरा गर्नेकी फोनमा दर्ता सहयोगी संग कुरा गर्ने । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगी समेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त देखिन्छ ।

पाँच जनाको दरबन्दी रहेको स्वास्थ्य बीमा बोर्ड बागलुङमा तीन महिना देखि एक जना कर्मचारीको भरमा चलेको छ । काजमा खटिएका कर्मचारीहरु आफु अनुकुल हुँदा मात्रै स्वास्थ्य बीमा बोर्डमा आउने जाने गरेका छन् ।

स्वास्थ्य बीमा गर्नेको संख्या दिनानुदिन बढ्दै गएको भएपनि तीन महिना अघि एकसाथ तीन कर्मचारीहरुले बीमा बोर्ड छोड्दा समस्या भएको छ ।

अहिले बीमामा आबद्ध भएका नागरिकहरुको फर्म दर्ता सहगीबाट कार्यालयले संकलन गर्नै हम्मे हम्मे रहेको पाइन्छ । स्वास्थ्य बीमा बोर्ड बागलुङ स्थापना भएदेखि काम गर्दै आउनुभएका दर्ता अधिकारी नारायण शर्माले बीमा गर्ने संख्यामा वृद्धि भइरहदा एक्लै फर्म अपडेट गर्न भ्याउने अवस्था अब निकै गाह्रो रहेको बताउनुभयो ।

“शुरुमा दुई जना कर्मचारी थियौ, बीमा कर्ता थोरै हुनुहुन्थ्यो, अहिले बीमा गर्नेको संख्या वृद्धि भइरहेको छ, दर्ता सहयागीबाट आएको फर्म संकलन गर्न नै नभ्याउने अवस्था आइसक्यो, अपडेटका लागि रातीको समय व्यवस्थापन गरेको छु” शर्माले भन्नुभयो “यो हाम्रो मात्रै समस्या हैन गण्डकी प्रदेशभर यस्तै छ भन्ने सुनेको छु, बीमा गर्नेको संख्या बढ्ने कर्मचारी घट्ने भएको छ, तीन महिना अघि तीन जना स्वास्थ्यका कर्मचारी हुनुहुन्थ्यो, मन्त्रालयको पत्र आएपछि जानुभयो ।”

बागलुङ जिल्लामा स्वास्थ्यबीमा गराउनेको संख्या ४३ प्रतिशत पुगिसकेको दर्ता अधिकारी शर्माको भनाई छ । जिल्लामा हाल एकलाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्द भइसकेका छन् ।

आगमी असार मसान्त सम्म ५० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्द गराउने स्वास्थ्य बीमा बोर्ड बागलुङको लक्ष्य रहेको छ ।

जिल्लामा ७८ जना दर्ता सहयोगी मार्फत घर–घरमै पुगेर स्वास्थ्य बीमा गराउने कार्य भइरहेपनि स्वास्थ्य बीमा बोर्डमा कर्मचारी अभाव हुँदा दर्ता सहयोगीका समस्याहरु समेत तत्कालै समाधान गर्न नसकेको बोर्ड कार्यालयको भनाई छ ।

पाँच जनाको दरबन्दी रहेको बागलुङमा एक जनाको भरका कार्यालय सञ्चालन हुँदा विरामी पर्दा कार्यालयनै बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ । बागलुङ जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै स्वास्थ्य बीमा बोर्डमा कर्मचारी अभाव रहेकाले समस्या भएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक महेश प्रसाद ठाकुरले बताउनुभयो । ठाकुरका अनुसार कर्मचारीका लागि बोर्डले परिक्षा लिइसकेको र नतिजा प्रकाशनको तयारीमा रहेकाले केही समयमै थप कर्मचारी आउने तयारी भएको छ ।

“कर्मचारीको समस्या बागलुङमा मात्रै हैन गण्डकी प्रदेशका ६ जिल्लामा छ, तर बागलुङमा धेरै बिमित भएकाले समस्या बढी नै भइसक्यो” ठाकुले भन्नुभयो “एक लाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्द भएको बागलुङमा एक जना कर्मचारीको भरमा यो निकै समस्या हो, हामीले कर्मचारी ल्याउन केन्द्रमा पहल गरिरहेका छौं ।” अन्य जिल्लामा भन्दा बागलुङमा स्वास्थ्य बीमा कार्यक्रम पहिलै शुरु भएको र जनसंख्या समेत धेरै भएकाले बागलुङमा बढी समस्या सृजना भइरहेको छ ।

गण्डकी प्रदेशका बागलुङ सहित स्याङ्जा, पर्वत, मनाङ, मुस्ताङ र गोखरा जिल्लामा समेत स्वास्थ्य बीमा बार्ड एक जना कर्मचारीकै भरमा रहेको प्रदेश संयोजक ठाकुरको भनाई छ ।
स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष नहुँदा कर्मचारीहरुको नतिजा प्रकाशनमा ढिलाई भइरहेको पाइएको छ । नतीजा प्रकाशन संगै यो समस्या समाधान हुने बताउदै उहाँले बागलुङमा कम्तिमा तीन जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो । हाल गण्डकी प्रदेशमा २४ लाख जनसंख्यामा रेहकोमा ९ लाख २८ हजार ४५९ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *