सूचना प्रबिधिभन्दा टाढा छ निसेलढोर

डम्मर बुढा मगर, बागलुङ
सूचना र प्रविधिको विकासले अहिले आम नागरिकको दैनिकी बदलिएको छ । सूचना आदानप्रदानका लागि अहिले अनेक प्रकारका संचारका माध्यम हरेक नागरिकको हातहातमा छ । अहिले गाउँ–गाउँमा सूचना प्रवाहलाई सहज बनाउन नेट इन्टरनेट पुगेका छन् । तर बागलुङको निसेलढोर अहिले पनि सूचना प्रबिधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यत्ति प्रभावकारी भने बन्न सकेको छैन ।

प्राकृतिक रुपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रबिधि पुगेको छैन । जसका कारण यहाँका सयौँ नागरिकले टाढा–टाढाको सूचना थाहा पाउन सक्दैनन् । विद्युतको पहुँचसमेत नपुग्दा टुकी र दियालोकै भरमा स्थानीयले रात बिताउँदै आएका छन् । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने निसेलढोरमा अहिलेसम्म विद्युत र सूचना संचारविहीन हुँदा आगन्तुक र स्थानीयले सास्ती खेप्नु परेको छ । निसीखोला गाउँपालिका–५ मा पनि निसेलढोर क्षेत्रलाई विद्युत र सूचना प्रविधिले जोड्न तर्फ सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

यहाँ कोहीले मोबाइल चलाउन चाहे पनि चार्ज गर्नका लागि विद्युत र फोन तथा सामाजिक सञ्चाल चलाउन इन्टरनेट अभाव छ । एक दशक अगाडिसम्म उत्तर गंगा ढोरपाटन क्षेत्रमा पनि इन्टरनेटको सुविधा थिएन । नेपाल टेलिकमले टावर राखेपछि अहिले ढोरपाटन क्षेत्र भने संचारसँग जोडिएको छ । निसेलढोरमा खास गरि निसीखोला गाउँपालिका–५ निसीका स्थानीयहरु बस्ने गर्छन् । पहिले–पहिले बर्खाको समयमा मात्रै बस्ने गरे पनि सडकले निसेलढोर जोडिएपछि स्थायी रुपमा धेरै नागरिक यहाँ बसोबास गर्दै आएका छन् । फोनले काम नगर्दा अन्य ठाउँमा हुने घटनाहरु महिनौपछि थाहा पाउने स्थानीय रनबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले निसी गाउँ झर्दा नेटले काम गरेर सूचना आदानप्रदान गर्न पाए पनि निसेलढोरमा बस्दासम्म बाहिरी सूचना थाहा पाउन नसक्ने बताउनुभयो । सरकारले विद्युत र टावरको व्यवस्था गरि दिएर निसेलढोरमै फोन चलाउन पाइने र सूचना आदानप्रदान गर्न सहज हुने घर्ती मगरले बताउनुभयो । फोनले काम नगर्दा आफूहरुले धेरै समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ ।

“निसेलढोरमा फोनले काम गर्दैन, बिजुली पनि छैन, बेसी झर्दा त मोबाइल चार्ज गर्न सकिन्छ, आफन्तहरुसँग फोनमा कुराकानी पनि हुन्छ तर निसेलढोरमा त्यो सुविधा छैन, तल गाउँमा केही घटना भयो भने महिनौपछि बल्ल थाहा पाइन्छ” उहाँले भन्नुभयो – “देश विदेशको खबर सुन्न रेडियो राखेको बेटारी (बेट्री) सकिहाल्छ, बिजुली छैन, त्यत्ति राम्रोसँग टिप्दा पनि टिप्दैन, निसेलढोरमा केही घटना भएर प्रहरी र तल बेसीका अरु गाउँलेलाई जानकारी गराउन धेरै समय लाग्छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जिल्लाकै सबैभन्दा विकट हुँदा अहिलेसम्म इन्टरनेटको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । निसेलढोरलाई विद्युत र इन्टरनेटसँग जोड्नका लागि विभिन्न निकायसँग सहकार्य भइरहेको उहाँको भनाइ छ । अहिले निसेलढोरमा टेलिफोन सेवा संचालनका लागि टावर निर्माणका काम सुरु भएको उहाँको भनाइ छ । निसीखोला गाउँपालिका–६ को चौरीभुजुङ्गीमा नेपाल टेलिकमले टावर निर्माण गरि रहेको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो ।

“निसेलढोर पहिलेदेखिनै राज्यको नजरमा पर्न सकेन, सिकार आरक्ष क्षेत्र पनि यहाँ पर्छ, धेरै विदेशी सिकारीहरु पनि आउँछन्, तर अहिलेसम्म यहाँ विद्युत र संचारको पहुँच पुगेको छैन, यहाँका धेरै नागरिक विद्युत र संचारबाट वञ्चित छन्” अध्यक्ष घर्ती मगरले भन्नुभयो – “फोनका लागि टावर निर्माण हुँदैछ, विद्युत ल्याउनका लागि पहल गरि राखेका छौँ, फोन भए पनि चलाउन पाए भने सूचनाआदान प्रदानमा थोरै भए पनि सहज हुने छ ।”

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले निसेलढोरलाई लक्षित गरि मोबाइल टावर निर्माण गर्न थालेको बताउनुभयो । अहिलेसम्म संचारको पहुँबाट बाहिर रहेका निसेलढोरवासीलाई संचारसँग जोड्ने ३७३० मिटरको उचाइमा टावर निर्माण सुरु भएको प्रमुख शर्माले बताउनुभयो । टारवर उच्च स्थानमा राख्न थालेको हुँदा यहाँ विद्युतको पहुँच नभएको भन्दै सोलारमार्फत टावर संचालन गर्ने उहाँको भनाइ छ । यस स्थानमा फोर जी चल्ने गरि टावर निर्माण भइरहेको शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *