बागलुङमा बढ्यो डेँगु : १३० जनामा संक्रमण पुष्टी


खेमराज गौतम, बागलुङ

बागलुङमा पछिल्लो समय डेँगु संक्रमण ह्वातै बढेको छ । पछिल्लो तथ्याङक अनुसार जिल्लामा १३० जनामा डेँगु संक्रमण पुष्टी भइसकेको पाइएको छ ।

पछिल्लो एक महिनाको अवधीमा मात्रै ९० जना भन्दा बढीको संख्यामा डेँगी पुष्टी भएको छ ।

साउन यताको तथ्याङ्क अनुसार १३० जनामा डेँगी संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा डेँगु संक्रमण तिब्र रुपमा फैलिएको बताउदै सचेत हुँन आग्रह गर्नुभयो ।

“एक महिना अघि सम्म डेँगु संक्रमण निकै कम थियो, ४० जनालाई मात्रै संक्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई संक्रमण भएर अहिले संक्रमणको संख्या १३० पुगेको छ, सबै भन्दा बढी ढोरपाटन नगरपालिकामा संक्रमण फैलिएको हो” प्रमुख शर्माले भन्नुभयो “डेँगुको संक्रमण तिब्र भइरहेकाले सबैले सचेत रहन आवश्यक रहेको र लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।”

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै संकास्पद विरामीहरुलाई परिक्षण गर्दा ९६ जनामा डेँगु संक्रमण पुष्टी भएको छ । यस्तै धौलागिरी अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा २ जनामा डेँगु संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङका १० पालिका मध्ये बरेङ गाउँपालिका बाहेक अन्य नौ पालिकामा डेँगु संक्रमण पुष्टी भइसकेको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बागलुङको ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा ८, जैमिनी नगरपालिकामा २, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा ३, बडिगाड गाउँपालिकामा १०, निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा ४ र ताराखोला गाउँपालिकामा १ जनामा संक्रमण पुष्टी भएको हो ।

डेँगु संक्रमण फैलिरहेको समयमा धौलागिरी अस्पताल बागलुङमा ज्वरोको विरामीहरु ह्वातै बढेको धौलागिरी अस्पतालले जनाएको छ । जिल्लामा डेँगुको लक्षण भएका बिरामीको समेत धौलागिरी अस्पतालमा चाप बढिरहेको पाइएको छ ।

धौलागिरी अस्पतालमा उच्च ज्वरोका विरामीको संख्या ह्वातै बढेको छ । ज्वरो आएका विरामीहरुको अस्पतालले निःशुल्क डेँगु परिक्षण गरिरहेको छ ।

धौलागिरी अस्पतालमा डेँगु संक्रमण भई भर्ना भइरहेका केही विरामीलाई थप उपचारका लागि पोखरा समेत पठाइएको छ भने सामान्य विरामीलाई अस्पतालमै उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।

अहिले अस्पतालमा दैनिक ओपिडी र इमरेजेन्सीमा आउने अधिकांश विरामी ज्वरोको आउने गरेको पाइएको छ ।

अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको संख्या वृद्धि भएको भएपनि सबैमा डेँगु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाई छ ।

डेँगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ ।
लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित समेत भएको छ । डेँगु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम समेत थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *