ढोरपाटन पाखाथरमा १५ शैयाको नगर अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङ
चार वर्ष अगाडि ढोरपाटनमा कसैलाई सामान्य चोट पटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची र जोखिम युक्त सडकमा घण्टौँ यात्रा गरेपछि मात्रै बुर्तिबाङ बजार पुग्नु पर्ने बाध्यता स्थानीयलाई थियो । तर अहिले सामान्य उपचारका लागि बुर्तिबाङ धाउनु पर्दैन । ढोरपाटन नगरपालिकाले वि.सं. २०७४ सालमा स्यालपाखेमा सहरी सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएपछि स्थानीयलाई सामान्य उपचारका लागि बजार झर्नु पर्ने बाध्यता हटेको छ । गत वर्षदेखि वडा नम्बर ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । पाखाथरमा ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीय खुसी भएका छन् ।

केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट यहाँ नगर अस्पताल निर्माण हुन थालेको हो । सहरी सामुदायिक स्वास्थ्य इकाई संचालन आउनु पूर्व ढोरपाटन क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच थिएन । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । स्वास्थ्य सेवाको पहुँचबाट धेरै टाढा हुँदा यस क्षेत्रका धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको स्थानीय विरबहादुर घर्ती मगरले बताउनुभयो ।

वर्षौँदेखि स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सहरी सामुदायिक स्वास्थ्य केन्द्रले ठूलो राहत दिएको उहाँको भनाइ छ । ढोरपाटनमा बिरामी परेको नागरिकलाई बुर्तिबाङसम्म पु¥याउँदा धेरैले बाटोमै ज्यान गुमाउनु परेको भन्दै अहिले बन्दै नगर अस्पताल संचालनमा आएपछि यहाँका स्थानीयलाई ठूलो राहत मिल्ने घर्ती मगर बताउनुहुन्छ । यति ठूलो क्षेत्रमा अहिलेसम्म पनि राम्रो उपचार गर्ने अस्पताल नहुनु दुःखत विषय भएको भन्दै यस्प्रति राज्य गम्भीर बन्नु पर्ने उहाँको भनाइ छ ।

“ढोरपाटन सेवा सुविधाको हिसाबले धेरै पछाडि छ, सडकले जोडिएको वर्षौँ भयो तर अहिलेसम्म गतिलो बन्न सकेको छैन, अस्पताल पोहोर सालदेखि बन्न थालेको छ, गाउँमा अस्पताल बन्न थालेपछि हामीहरु धेरै खुसी भएका छौँ,” घर्ती मगरले भन्नुभयो – “पहिला–पहिला बिरामी भएका मान्छेलाई अस्पताल पुराउँदा पुराउँदै बाटोमै बित्थे (मृत्यु हुनु), अहिले पनि ठूलो रोगको उपचार हुन्न घाउ चोट लागेको र ज्वरो आएका मात्रै औषधि पाइन्छ, अल्ली ठूलो रोग लाग्यो भने, बुर्तिबाङ, पोखरा, काठमाडौँ जानु पर्छ, हुने खाने त जान्छन्, गरिब मान्छे त उपचार पाउन नपाएर मर्नुको विकल्प छैन ।”

केन्द्र सरकारले विनियोजन गरेको साढे १४ करोड ७६ लाख लागतमा नगर अस्पताल निमाण हुन लागेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शैयाको हुने थापाको भनाइ छ । बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा रहेको हुँदा नगरपालिकाले ढोरपाटनमा नगर अस्पातल बनाउन थालेको उहाँले बताउनुभयो । हाल ढोरपाटनमा संचालनमा रहेको सहरी सामुदायिक स्वास्थ्य इकाईबाट आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको संयोजक थापाले जानकारी दिनुभयो ।

संयोजक थापाले भन्नुभयो –“हामीले ढोरपाटनबाट स्वास्थ्य सेवा दिन थालेको धेरै समय भएको छैन, त्यहाँ स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन थालेपछि स्थानीयहरुलाई ठूलो राहत भएको छ, यहाँबाट प्रसुति सेवाका लागि वर्थिङ सेन्टर पनि सुरु गरेका छौँ, दुई जना स्वास्थ्यकर्मी र दुई जना कार्यालय सहयोगी राखेर सेवा दिइरहेका छौँ, नगर अस्पताल बनेपछि डाक्टरसहितको सेवा सुरु हुने छ, अहिले अस्पताल निर्माण हुने कार्य भइरहेको छ ।

ढोरपाटनमा नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि टिकाबहादुर घर्ती मगरले बताउनुभयो । विं सं. २०७९ भदौमा सम्झौता गरि काम सुरु गरेको र वि.सं. २०८२ असार मसान्तसम्म म्याद रहेको घर्ती मगरको भनाइ छ । हालसम्म निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । अहिले अस्पतालको पिल्लर उठाउने काम सकिएको उहाँ बताउनुहुन्छ । समयमै निर्माण सक्ने गरि काम गरि रहेको भन्दै यो ठाउँ निकै चिसो भएको हुँदा काम गर्न केही समस्या भइरहेको घर्ती मगरको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *