आदर्श अनलाइन, बागलुङ
पुर्खौदेखि सुन चालेर, डुङ्गा खिआएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायको अहिले रोजी रोटी खोसिएको छ । पुर्खौ देखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका माझी समुदायहरु नदीमा छिर्न नपाउदा अहिले फुर्सिदला भएका छन् ।
न्यून आयस्तरभएका सिमान्तकृत माझी समुदायहरु आश्रीत भएको कालीगण्डकी नदीमा नपसेको दुई वर्ष पुगेको माझी समुदायको दुखेसो छ । पुस्तौदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदायहरु बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएर बागलुङको बाङ्गेचौरमा आश्रीत थिए ।
बागलुङ नगरपालिकाले सिमान्तकृत माझी समुदायलाई पाँच अघिमात्रै खनियाबासमा जग्गा सहितको घर बनाइदिएको थियो । पुस्तौदेखि यही कालीगण्डकी नदीको छेउमा बस्तै आएका हामीहरुलाई दुई वर्षदेखि कालीगण्डकी नदीमा पस्न नदिएको देउ कुमारी माझीले दुखेसो गर्नुभयो ।
“हाम्रो आश्रय स्थलनै कालीगण्डकी नदी थियो, अहिले त्यही नदीमा नगएको दुई वर्ष भयो, माझी समुदायको पीडा कस्ले बुझ्ने, कालीगण्डकी नदीमा खनीखोस्री गरेर जीििवका चलाउदै आएका थियौ, अहिले बालुवा निकाल्न दिइदैन, रातको समयमा डोजरले निकालेर आँखै अगाडी लगेर जान्छ, हामी त हेरेको हेरै” माझीले भन्नुभयो “पहिला सुन चाल्ने बगर अहिले छैन, खोलामा डोजर हालेर बगर नै राखेनन् त्यही बालुवा निकालेर पेट पाल्दै आएका थियौ, अहिले बालुवा लिनलाई ट्याक्टर आउदैनन्, हामीले बील बनाएर बालुवा विक्रि गर्न कहाँ सक्छौं र ?”
देउ कुमारी माझीले पुर्खौ देखिको पेसालाई सरकारले हटाउदा माझी समुदायले हात मुख जोर्न समस्या भएको भन्दै स्थानीय सरकारलाई पटक–पटक गुनासो गरेपनि सुनुवाई नभएको बताउनुभयो । उहाँले नदीजन्य उत्खनन् रोक्नका लागि हामी जस्तालाई रोक लगाएको र क्रसर व्यवसायीहरुलाई प्रोत्साहन गरेको दुखेसो सुनाउनुभयो । पहिला सुन चाल्ने गरेपनि अहिले खोला गहिरोभएर गएकाले एक दशक देखि यहाँका माझी समुदायले सुन चाल्न छोडेका छन् ।
पछिल्लो समय कालीगण्डकीमा माछा समेत कम पाइन थालेपछि विस्तारै यहाँका माझी समुदायहरु पेशाबाट पलायन भइरहेको पाइएको छ । यहाँका माझी समुदायहरु हातमुख जोर्नकै लागि विस्तारै पेशा परिवर्तन गर्न बाध्य भएको स्थानीय मंगली माझीले बताउनुभयो ।
“हाम्रो त खोलाबाट बालुवा निकाल्ने अधिकारनै हो तर माफियाहरुले गरिखान दिएनन्, रातीमा डोजर लगाएर चोर्नेकार्य भइरहन्छ, हामीलाई एक बोरा बालुवा निकाल्न नदिएको दुई वर्ष भयो, हाम्रो पीडा कसैले बुझ्दैनन् यहाँका माझीहरु अहिले अरुको घरमा काम गर्ने, ज्यालादारीमा खोतालो जाने, खेतबारीमा काम गर्न जान थालेका छौं” मंगली माझीले भन्नुभयो “अहिले यहाँका युवाहरुले माछा मार्ने जाल र ढडिया बुन्न छोडेका छन्, खोलामा पस्न नपाएपछि माझी समुदायको असित्वनै खतरामा प¥यो, माझी समुदायलाई नगरपालिकाले जग्गा दियो, घर दियो तर रोजीरोटीका लागि पहल गरोस भन्ने चाहना छ ।”
खनियाबासमा अहिले १७ माझी परिवार वसोवास गर्दै आएका छन् । यहाँका युवायुवतीहरु विस्तारै सहकारी र अन्य संघ संस्थामा जागिरखान थालेका छन् भने वृद्धवृद्धाहरु नदीमा बालुवा निकालन नपाएपनि फुर्सदिला भएका छन् । माझी परिवारका अधिकांश सदस्यको जीविका कालीगण्डकीको बगरमा निर्भर भएपनि पछिल्लो दुई वर्ष यता कालीगण्डकी नदीमा बालुवा निकाल्न प्रशासनले रोक लगाएको छ ।
तर खनीखोस्री बालुवा निकाल्न प्रशासनले रोक लगाएपनि पारीपट्टी पर्वत तर्फबाट भने रातको समयमा अबैद्य कालीगण्डकी नदी दोहोन रोकिएको छैन । ठूला उपकरणले रातको समयमा कालीगण्डकी नदी दोहन गर्दा कालीगण्डकीको बगर पर्वत तर्फ र कालीगण्डकीको धार बागलुङ तर्फ फर्केको छ ।
कालीगण्डकीको धार परिवर्तन हुँदा बागलुङ तर्फको माझी बस्ती र मालढुङ्गाको बस्ती समेत जोखिममा परेको छ । कालीगण्डकी किनारमा गिट्टी कुट्ने, बालुवा चाल्ने र माछा मार्ने माझीहरुले आफ्नो जीविका चलाउनका लागि विभिन्न विकल्प खोज्न थालेको स्थानीय माझी समुदाय हर्क बहादुर बोटेले दुखेसो सुनाउनुभयो ।