लगानी पर्खेको ढोरपाटन

आदर्श अनलाइन, बागलुङ
“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपती, प्रधानमन्त्री तथा मन्त्रीहरु समेत पटक–पटक आउनुभयो तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन” बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भन्नुभयो “ढोरपाटन आउने सडक निकै समस्यामा छ, पाहुँनालाई राख्ने सुविधा सम्पन्न होटलहरुको अभाव छ, प्राकृतिक सुन्दरता हेर्नका लागि आउने पर्यटकहरुलाई पूर्वाधारको कमी छ, अब हामीलाई आश्वासन हैन लगानी आवश्यक छ, ढोरपाटन ठूला लगानीकर्ता पर्खीरहेको छ ।”

कायतका अनुसार ढोरपाटनमा नीजि क्षेत्रका उद्यमी तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न केन्द्रिय बैंठकले ढोरपाटनमा नीजि क्षेत्रको लगानी आउनेमा आशावादी भएको बताउनुहुन्छ । नेपालको एक मात्र सिकार आरक्ष समेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्ष सम्म ढोरपाटनको मुहार नफेरिएको हो ।

ढोरपाटनको विकास नीजि क्षेत्रको सहकार्य बीना संभवन नहुँने भन्दै कायतले ढोरपाटन नगरपालिकाले यसका लागि पहलकदमी गर्ने बताउनुभयो । ढोरपाटन प्रचुर संभावना भएर समेत लगानीकर्ताको नजरमा नपरेको भन्दै कायतले ठूला होटल, स्थानीय उत्पादनको बजारीकरण, हाइअल्टीचियुट खेल मैदान, कृतिम ताल, स्याउ बगैचा, प्याराग्लाइडिङ र पदयात्रा पर्यटन लगायतको ठूलो संभावना रहेपनि हाल सम्म लगानी भित्रिन नसक्नु ढोरपाटनका लागि दुखद् रहेको कायतको भनाई छ ।

निकै संभावना भएर समेत नीजि क्षेत्रको ध्यान नपुगेको भन्दै चन्द्र प्रसाद ढकाल नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघले असोज १५ र १६ गते केन्द्रिय बैठकसंगै पर्यटनको संभावना र लगानीको विषयमा अन्तरक्रिर्या आयोजना गरेको थियो । ढोरपाटनमा स–साना होटल सञ्चालनमा आउनेक्रम जारी रहेको सन्र्दभमा ठूला होटलको खाँचो रहेको ढोरपाटनका स्थानीय बेद बहादुर बिकले बताउनुभयो । उहाँले नीजि क्षेत्रका उद्यमी तथा व्यवसायीको ढोरपाटन भ्रमणले ढोरपाटनमा लगानीको ढोका खुलेकोे बताउनुभयो ।

“सामान्य पर्यटकीय स्थलहरुमा ठूलो लगानी गरेको नीजि क्षेत्रले ढोरपाटन देख्न सकेको थिएन, अहिले आशावादी समेत भएका छौं, देशभर लगानी विस्तार गर्नुभएका उद्यमी चन्द्र ढकालले ढोरपाटनको विकास र लगानी गर्नका लागि इच्छा व्यक्त गर्नुभएको छ” स्थानीय बिकले भन्नुभयो “विदेशी पर्यटकहरु सोझौ हेलिकप्टर मार्फत आउजाउ गर्ने परम्परालाई रोक्न ठूला होटलको नै आवश्यकता छ ।”

प्रचुर संभावना भएर समेत नीजि क्षेत्रको नजरमा नपरेको ढोरपाटनले लगानी पर्खेर बसेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले बताउनुभयो । उहाँले पहाड र हिमाली क्षेत्र मिलेर बनेको सिकार आरक्षमा सिकार खेल्न विदेशी मात्र आउने गरेको र स्वदेशीहरु सिकार आरक्षको कार्यालय वरपर मात्रै घुम्ने गरेकाले सिकार आरक्ष भित्र पैदलयात्रा मार्फत पर्यटक घुमाउन सके आरक्ष र स्थानीय दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

“बागलुङ संगै पूर्वी रुकुम र म्याग्दी सम्म फैलिएको सिकार आरक्षको टकसेरा गाउँ, जलजला लगायतको प्रचार प्रसार समेत हुँन सकेको छैन, कम्तिमा ढोरपाटन आएका पर्यटकलाई जलजला पु¥याउन आवश्यक छ, यहाँको नाउर, झारलको संरक्षण र सिकार, स्थानीयको आर्थिक जिवनस्तर सुधार गर्न धेरै पर्यटकहरु आउन आवश्यक छ” कंडेलले भन्नुभयो “यहाँ आउन सडक यात्रा सहज बनाउने, सुरक्षित होटल तथा पर्यटकलाई चाहिने अन्य सुविधा थप्ने हो भने पर्यटकहरुको आगमन बढ्ने देखिन्छ ।”

ढोरपाटन उपत्यका, सिकार आरक्ष संग्रहालय, ढोरबराह मन्दिर, छेन्तुङ गुम्बा, स्यालपाखे लगायतको क्षेत्र पर्यटकका लागि घुम्न लायक क्षेत्र हुन् । यस क्षेत्र धार्मिक हिसावले समेत अत्यन्तै पवित्र क्षेत्र रहेको ढोरपाटन पुग्नुभएका जगन्नाथ आचार्यले सुनाउनुभयो । पवित्र उत्तरगंगा नदी र ढोरवराह मन्दिर धार्मिक आस्थाको केन्द्र रहेको आचार्यको भनाई छ ।

ढोरपाटन जैविक विविधितायुक्त पर्यटकीय स्थल भएकाले यस क्षेत्रमा आतिथ्यता सम्बन्धी व्यवसायमा नीजि क्षेत्र इच्छुक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा सफल उद्यमी चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

“ढकालले यहाँ आउने सडक सुधार गर्न सरकार लाग्ने हो भने ठूला होटल लगायतको क्षेत्रमा आफूहरुले लगानी गर्ने संभावना रहेको छ, ढोरपाटनमै केन्द्रिय बैठक आयोजना गर्नु र आफ्नो गृह जिल्ला समेत भएका कारण ढोरपाटनमा केही न केही लगानी नीजि क्षेत्रबाट हुन्छ” ढकालले भन्नुभयो “हाल सम्म ढोरपाटन पछि पर्नुमा नीजि क्षेत्रले नदेखाएको चासो भन्ने लाग्दछ, अथाह संभावना छ, ढोरपाटन बैठकले पारित गरेको देशभरका उद्यमीहरु संयुक्त कम्पनी मार्फत यहाँ होटल लगायतको आतिथ्यता क्षेत्रमा लगानी गर्नेछौं ।”

ढकालले नीजि क्षेत्रको लगानीका आधारमा नेपालका थुप्रै पर्यटकीय स्थलहरुको विकास भइरहेको बताउदै ढोरपाटनमा आउनुभएका म सहित अन्य नीजि क्षेत्रका साथीहरु लगानीका लागि आर्कषित भएको सुनाउनुभयो । विदेशी सिकारीले चिनेको ढोरपाटनमा सिकारीको बसाई जंगलमै हुँनेभएकाले सिकारी संगै ढोरपाटनमा अन्य विदेशी पर्यटक समेत ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको छ ।

ढोरपाटनमा वार्षिक सरकारले तोकेको कोटाको आधारमा दुई याममा नाउर, झारल र बँदेलको सिकार हुँने गर्दछ । यस वर्षको पहिलो सिकार याममा आरक्षमा अमेरिकाका मात्रै पाँच सिकारीसंगै विकसित देशका ८ सिकारी सिकार खेल्न यहाँ आउन अनुमती पाइसकेका छन् । पहिलो याममा ८ नाउर, ८ बँदेल र ४ नाउरको सिकार हुँदैछ ।

प्रचुर संभावनाको खानी रहेको ढोरपाटन लगानीको अभावमा कुहिरोको काग बनिरहेको छ । यहाँ ठूलो लगानी भित्रिएमा राज्यलाई समेत ठूलो आम्दानी हुँने र स्थानीयहरुको आर्थिक विकास समत हुँने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *