असिनासहितको वर्षाले फापर खेती नष्ट

डम्मर बुढा मगर, बागलुङ
सोमबार साँझ परेको असिनासहितको भिषण वर्षाले फापर बाली र तरकारी नष्ट गरि दिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरि दिएको हो । वर्षासँगैँ आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरि दिएको स्थानीय दिलीप बुढाथोकीले बताउनुभयो । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको बुढाथोकीको भनाइ छ ।

उहाँका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिना पानीले क्षति पु¥याएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारि दिएपछि कृषिक चिन्तित बनेका छन् । असिनाले तरकारीका विरुवा ढलाइ दिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पु¥याएको बुढाथोकी बताउनुहुनछ ।

उहाँले भन्नुभयो – “गाउँमा धेरैजसो किसानले फापर खेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गथ्र्यो, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरी तोरो, तकारी र फापर सबै भुइँभरी ढलेको छ, कात्तिकमा भित्राउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरी झरेका छन्, तोरो भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ ।”

हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पु¥याएको छ । बागलुङ नगरपालिका–३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँ भरि भएको स्थानीय सरोज कार्कीले बताउनुभयो । केही दिन अगाडि आएको हावाहुरीले केही ठाउँमा ढले पनि सोमबारसँझाको पानीले ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो बेलाको वर्षाले धान, कादो, भट्टमास लगायतका बालीमा क्षति पु¥याउने गरेको बताउनुभयो । किसानले जिल्लाको विभिन्न स्थानबाट धान ढलेको गुनासो गरेको भन्दै क्षति भएको तथ्याङ्क लिएर राहतका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने बताउनुभयो । यो समय धान बाली भित्राउने भएको हुँदा किसानले मौसम हेरेर मात्रै धान काट्नु पर्ने प्रमुख सिलवाल बताउनुहुन्छ । यो सिजनमा पानी मात्रै परे कुनै पनि बालीलाई क्षति नगर्ने भन्दै हावाहुरी र असिना परे खाद्यबाली, तरकारी र फलफूलमा क्षति पु¥याउने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्