डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो प्रचलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रंङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनकनै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।
पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । जसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ । १० वर्ष अगाडिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । जुन घरमा माटो र कमेरोले लिपपोत गर्न मिल्दैन । उनीहरुले इनामेल र चुना लगायतका रङ्ग प्रयोग गर्ने गरेको पाइन्छ ।
हरेक दिन गाउँमा मौलिक घरहरु विस्थापित हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाहरुले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरि रहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान पनि गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताउनुभयो । देखासिकी र प्रबिधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यस तर्फ ध्यान दिनु पर्ने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउनुहुन्छ ।
“आजाभोलीको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा–टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पुरै हरायो” खत्रीले भन्नुभयो – “आजकाल त बजारमा जाने रङ्ग किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङ्ग भन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरुको संस्कार सिके ।”
बागलुङको निसीखोला गाउँपालिकी तिलकुमारी सुनारले अचेल रातोमाटो र कमेरो विक्री हुन छोडेको बताउनुभयो । वर्षौँदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको भन्दै गाउँ–गाउँमा पक्की घर बन्न थालेपछि माटो विक्री गर्न मुस्किल पर्ने गुनासो पोख्नुभयो । पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घर–घरमा माटो र कमेरो पु¥यान भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाउनुभयो । माटो बेचेर मासिक १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनु परेको बताउनुहुन्छ ।
“घर माटोले पोत्ने चलन हरायो, गाउँका कच्ची घरमा पनि बजारबाट रातो रङ्ग लिएर लगाउन थालेका छन्, पहिले मैले एकै दिनमा १७÷१८ घरमा माटो पु¥याउने गर्थे, अहिले २÷३ घरबाट पनि माग आउँदैन, अहिलेत सबैका घरमा सिमेन्ट लगाएका छन्, टिन (जस्तापाता)ले छाएका छन्, त्यस्तो घरमा कमेरो र माटोले पोत्न मिल्दैन” सुनारले भन्नुभयो – “दसैँ आएको छ, माटो कसैले किन्दैनन्, कहिँबाट पैसा पनि आउँदैन, पहिले त पैसा हुनेले पैसा, नहुँनेले धान, मकै, मिठो दिन्थे, परिवार पाल्न सजिलो थियो, अहिले त अरु काम गर्नु पर्छ ।”
स्थानीय मिनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिलाहरु माटो विक्री गर्न घर–घरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिड्ने बताउनुभयो । दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेको भन्दै अहिले त्यो प्रचलन हराएको बताउनुभयो । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याने गरेको बताउनुभयो । नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवनहरु पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरु पक्की बनेकोले त्यसको आवश्यक नपर्ने उहाँ बताउनुहुन्छ ।
पौडेलले भन्नुभयो – “घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दसैँका बेला त्यहाँ ठूलो भिड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नु पथ्र्यो, तर अहिले त्यो ठाउँ पुरौ झारपातले पुरिएको छ, धेरै वर्ष भयो, यहाँ कोही पनि कमेरो ल्याउन आएका छैनन्, त्यस बेला त स्कूलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थीहरु लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो तर अहिले स्कूल पनि सिमेन्टका बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन ।”