खेमराज गौतम, बागलुङ
दशैं अगावै बागलुङको सिगानामा फलेका बेमौसमी सुन्तला टोप बहादुर खड्काले रु. एक सय प्रति केजीमा विक्रि गर्नुभयो । उन्सु जातको सुन्तला समेत उत्पादन गदै आउनभएका खड्काले दशैंको कोसेलीका रुपमा आफन्तलाई समेत सुन्तला पठाउनदै आउनुभएको छ ।
खड्का सिगानको पहिलो सुन्तला किसान हुनुहुन्छ ।
उहाँले सुन्तलाको सिजनमा रु.तीन लाखको सुन्तला विक्रि गर्नुहुन्छ भने असोजमा पाक्ने उन्सु जातको सुन्तलाको समेत परिक्षण उत्पादन गर्दै आउनुभएको छ । उहाँले गत वर्ष बेमौसमी जातको सुन्तला विक्रिबाट रु. ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु.२० हजारको विक्रि गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताउनुभयो ।
“परिक्षणका लागि पाँच/छ वर्ष अघि मात्रै उन्सु जातको सुन्तला लगाएको थिए, विक्रिका लागि नभई परिक्षणका लागि लगाएको हो” खड्काले भन्नुभयो “तर दशैं खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ, अन्य सुन्तलाहरु आफन्त र परिवारका विभिन्न सदस्यलाई कोलेसी पठाउदै आएको छु, आफ्नो घरमा फलेको सुन्तला विक्रि गरेर स्याउ किन्नु भन्दा घरमा समेत सुन्तलानै उपभोग गरिन्छ ।”
सुन्तला गाउँका रुपमा परिचय कमाउदै आएको बागलुङको सिगाना गाउँमा मौसमी सुन्तला विक्रिबाटै रु. तीन करोड वार्षिक रुपमा गाउँ भित्रिदै आएको छ ।
अगुवा सुन्तला किसान टोप बहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउदै आउनुभएको छ ।
खड्काले चार वर्ष देखि बेमौसमी सुन्तला समेत उत्पादन गर्दै आउनुभएको छ । तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुँने गरेको छ ।
सामान्यतः सुन्तलाको सिजन मंसिरबाट शुरु भएपनि उहाँले ५० बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैगचामा विभिन्न प्रजातीका १० देखि २० केजी सम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परिक्षण स्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै पाक्ने गरेको छ । उहाँले उक्त सुन्तला केही विक्रि गर्ने, केही घरमै खाने र आफन्तलाई कोसेलीका रुपमा पठाउने गर्दै आउनुभएको छ । अहिले पाकेका सुन्तला उन्सु जातका भएपनी एसोधा र पोङ्कान भने एक महिना पछि पाक्नेछन् त्यसपछि मौसमी सुन्तलाको सिजन शुरु हुने गर्दछ ।
“बेमौसी सुन्तला व्यवसायीक भन्दापनि परिक्षण्का लागि हो, उन्सु जातको सुन्तला असोजमा टिपियो, अब एक–एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो” खड्काले भन्नुभयो “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका ५ वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।”
बगैचा सजावटमा समेत उक्त सुन्तला प्रयोगमा आइरहको हुन्छ । खड्काका वेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताउनुभयो ।
२०३२ सालदेखि चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ ।
छ वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोट मध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेको हो । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । नेपालमा अधिकांश कात्तिक मंसिरमा पाक्ने सुन्तलाका जातको खेती गरिदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानिज जातका सुन्तला लगाउनुभएको हो ।
खड्काले पाँच रोपनी सुन्तला बगैचामा हाल सम्म १४ प्रजातीका सुन्तलाका विरुवा रहेको बताउनुभयो । उहाँसंग पाँच रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादन संगै किबी, अलैची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।