दसैँले गाउँमा चहलपहल, बजार सुनसान

डम्मर बुढा मगर, बागलुङ
दसैँको टिकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरु धमाधम गाउँ फर्कि रहेका छन् । बजारबाट गाउँ फर्कनको संख्या दिनानुदिन बढ्दै गएको छ । यति बेला गाउँमा निकै चहलपहल बढेको छ, भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहार बाहेक अन्य समय सुनसाननै हुन्छन् । स्थानीयको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जत्ति रमाइलो छैन । खास गरि पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले गाउँ धानेका छन् ।

एक दशक अगाडिसम्म गाउँ भरीभराउ थियो । तर अहिले गाउँका घरहरु खाली छन् । दसैँ सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ । बजारमा गोठा तथा घर भाडामा लिएर बस्नेहरु यति बेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलासिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट बजार पनि यति बेला सुनसान बन्दै गएका छन् । परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि विदेश आइ रहेका छन् ।

एक साता अगाडिसम्म गलकोटका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मान्छेहरुको जमघटले चहपहल बढेको स्थानीय तिर्सना थापाले बताउनुभयो । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेकाहरु र विदेशमा गएहरु दसैँ तिहार बनाउन गाउँ आएको उहाँले बताउनुभयो । तिहार सकिएपछि पुनः गाउँ सुनासन हुने थापाको भनाइ छ । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउने र आत्मियता बढाउने उहाँ बताउनुहुन्छ । अहिलेका चाडवाडहरुमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्ने थापाको भनाइ छ ।

उहाँले भन्नुभयो – “गाउँमा घटस्थापनाभन्दा अगाडि २÷४ जना मात्रै आएका थिए, त्यसपछि दैनिक १२÷१५ जना स्थानीयहरु गाउँ आएका छन्, केही दिन अगाडिसम्म सुनसान भएका घरहरुमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधैभरी गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहरनै पस्छन्, गाउँमा बस्ने त उही हामी बुढाबुढीहरु मात्रै हो, खै के जमाना आए यस्तो सबैले सहर बजारनै बस्न खोज्छन् ?”

एक सातादेखि बागलुङ बजारदेखि गाउँ जानेको भीड देखिन्छ । बजारको जिपपार्क, बसपार्क र विभिन्न चोकबाट गाउँ फर्कने गाडीहरु भरिभराउ देखिन्छन् । एक हप्ता पहिले गाउँ फर्कनेहरुले किनमेल गर्दा बजारका पसहलहरुमा पनि बाक्लै भिड देखिन्थ्यो तर अहिले व्यापार निकै कम भएको देखिन्छ । बजारमा बस्नेहरु गाउँ जान थालेपछि बजारमा व्यापार घटेको स्थानीय व्यापारी नविनकुमार क्षेत्रीले बताउनुभयो । जिल्लाका धेरै गाउँहरुबाट सदरमुकाम बागलुङमा बस्नेहरुको संख्या ठूलो रहेको भन्दै उनीहरु गाउँ गएपछि दिनमा दश हजारको पनि व्यापार गर्न नसकेको उहाँ बताउनुहुन्छ ।

“आर्थिक मन्दिले गर्दा व्यापार थिएन, दसैँ आउन थालेपछि केही दिन राम्रो व्यापार भएको थियो, तर अहिले धेरै कम भएको छ, मान्छे जति सबै चाडपर्व मनाउन गाउँ गए, बजारमा घर भएकाहरुको पनि गाउँमा आफन्त छन्, उति दसैँ मनाउन जान्छन्,” क्षेत्रीले भन्नुभयो – “अब गाउँबाट मान्छे नफिर्कदासम्म बजारको व्यापार निकै थोरै हुन्छ, बाहिरबाट आउने मान्छेले धेरै सामान किनमेल गर्दैनन्, अब व्यापार हुनलाई तिहार कुर्नुपर्छ ।”

जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा पनि व्यापार घटेको व्यवसायीको भनाइ छ । अन्य समय राम्रो व्यापार हुने बुर्तिबाङमा दुई दिनदेखि कमी आएको स्थानीय व्यापारी सुनिल पौडेलले बताउनुभयो । बजारमा आएर बस्ने तथा व्यापार गर्ने अधिकांश गाउँबाट झरेकाहरु भएको हुँदा चाडबाडको बेला बजार सुनसान हुने पौडेलको भनाइ छ । आफू पनि दसैको अघिल्लो दिन गाउँ जाने तयारीमा रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “मान्छेले सेवा सुविधा खोज्दै बजार झरे तर रमाइलो त गाउँमै छ नि, हाम्रो परम्परा अनुसार मनाइने हरेक चाडपर्व गाउँमा विभिवत् रुपमा बनाइन्छ, मौलिक संस्कृति र परम्परा अनुसार मनाइन्छ, तर बजारमा त्यस्तो हुँदैन, बुर्तिबाङ बजारमा अधिकांश मानिसहरु गाउँबाट झरेका छन्, उनीहरु सबै दसैँ मान्न गाउँ जान्छन्, म पनि गाउँ जाने तयारी गरि राखेको छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *