कालीगण्डकी नदीमा थपियो ५२३ मिटर लामो झोलुङ्गे पुल


खेमराज गौतम, बागलुङ

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा अर्को लामो झोलुङ्गे पुल थपिएको छ ।

लामा र अग्ला झोलुङ्गे पुलहरुको जिल्लाको रुपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथी पुन अर्को ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

जिल्लाको बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी रु. सात करोड लागतमा ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त पुलको साईडबार मात्रै लगाउन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी गत साउनबाट निर्माण शुरु भएको पुल एक वर्षमै अन्तिम चरणमा पुगेको छ । अबको दुई महिना भित्रै पुल सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौले गरेको हो ।

बागलुङको गौरिधाम देखि पर्वत जिल्लाको जलजला स्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको पुल निर्माण गर्न थालेको एक वर्षमै अन्तिम चरणमा पुगेको हिम शिखर कन्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । खड्काकै निर्माण कम्पनीले विश्वकै दोस्रो लामो बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वतको अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल समेत सम्झौता अगावै सम्पन्न गरेको थियो ।

बागलुङ बजारलाई पर्वतको जिल्लाको जलजला गाउँपालिका संग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजला बासीहरु घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुँने बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्रीले बताउनुभयो ।

जलजलाका नागरिकहरु प्रशासनीक कामका लागि सदरमुकाम कुस्मा गएपनि व्यापारिक कामका लागि बागलुङ आउने भएकाले पुल निर्माणले सहज हुने देखिन्छ । पुल निर्माणका लागि २०७९ जेठमा निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङ तर्फको झण्डै ६ अना जग्गा स्थानीय राजेन्द्र बहादुर जिसीले केरा खेती मासेर उपलव्ध गराउनुभएको थियो । जिसीले गौरीधाम शिव मन्दिरमा आउने भक्तजनहरुमा समेत पुल निर्माण पछि सहज हुँने बताउनुभयो ।

पछिल्लो समय गौरिधाम शिव मन्दिरका कारण गौरीधाम क्षेत्रको विकास भइरहेको सन्र्दभमा कालिगण्डकीमाथी अर्को लामो पुल थपिएको हो । पुलले आन्तरिक पर्यटकहरुलाई समेत आकर्षण गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *