बागलुङका स्थानीय तहद्वारा भुकम्प पीडितलाई ३० लाख सहयोग


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका दश स्थानीय तहले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई रु. ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर १७ गते राती गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रमा जनधनको क्षति भएको भन्दै बागलुङ जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले एक मुष्ट ३० लाख रकम प्रदान गर्ने भएका हुन् ।

जिल्लाको सबैं स्थानीय तह, सहयोगी संघ संस्थाहरुबाट संकलन गरिएको राहत रकम र जिन्सी सामाग्री एक मुष्ट बागलुङ जिल्लाको तर्फबाट हस्तान्तरण गर्ने जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको आइतबारको निर्णय अनुसार उक्त रकम संकलन गर्न थालिएको छ ।

बागलुङ जिल्लाको चार नगरपालिकाले रु. तीन लाख ७५ हजारका दरले रु. १५ लाख र छ गाउँपालिकाले रु. २ लाख ५० हजारका दरले रु. १५ लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लव अफ बागलुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामाग्री सहित आवश्यक औषधी समेत लगेर सोमबारनै बागलुङको समूह जाजारकोट तर्फ जाने योजना रहेको बताउनुभयो ।

भुकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य संघ मार्फत कपडा तथा फेन्सी व्यवसायी समितिद्वारा संकलन गरिएको छ । रु. १२ लाख बराबरको लत्ता कपडा फेन्सी व्यवसायीहरुबाट संकलन गरी भुकम्प प्रभावित क्षेत्रमा पठाउन लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।

यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले भुकम्प पीडितका लागि रु. एक लाख, सिवाईसी नेपालको तर्फबाट रु. ५० हजार र नेपाल चिकित्सक संघ बागलुङले रु. ५० हजार सहयोग प्रदान गरेका हुन् ।

राहत सामाग्री संगै आवश्यक औषधी र चिकित्सक पठाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *