पाइँनैनन् हल गोरु, ट्याक्टरले दाइँ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै गएसँगै संकटमा परेको हो । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामाa दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसानहरू पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् ।

एक दशक अघिसम्म कात्तिक मंसिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँहाल्ने परम्परा भएपनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो । गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्याक्टरले खेत जोत्ने, थ्रेरसले धान चुट्न थालिएको बागलुङ नगरपालिका–४ कुँडेलेका किसान काशिनाथ शर्माले जानकारी दिनुभयो ।

कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको बताउदै शर्माले धेरै मात्रमा धान उत्पादन हुँने कुडुँले फाँटमा ट्याक्टरको सहायताले खेत रोप्ने र ट्याक्टरलेनै दाइँ हाल्ने बताउदै धान भने परम्परागत तरिकालेनै चुट्ने गरिएको बताउनभयो । थ्रेसर मेशिन, ट्क्याटर हलो, पावर टेलर र मिनि टेलर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको वचत भएता पनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुने शर्माले बताउनुभयो ।

दाइँको तयारीका लागि ५÷७ दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गह्रो खुर्केर खलो बनाएरत्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले सुन्न मात्रै पाइने बागलुङका स्थानीय किसान छायादत्त रेग्मीले बताउनुभयो ।

उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाइँ गरिएकै स्थानमा पराल थन्क्याउने चलन रहेकोमा अहिले धान चुट्न साथ ट्याक्टरले दाइँ हालेर ट्याक्टरमै राखेर घरमा पु¥याइने गरिन्छ ।

अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले बागलुङका किसानहरूले पराल दाइँ हाल्न र खेतबाट घरमा पु¥याउन ट्याक्टरकै प्रयोग बढी हुने गर्दछ ।

गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्राउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

“गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ, खर्च धेरै नै हुन्छ” रेग्मीले भन्नुभयो “ट्याक्टरले एकैपटक धेरै पराललाई दाइँ हालेर एक घण्टामै सक्छ, उपरकणको सहायताले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ट्याक्टरको प्रयोग गर्दै आएका छन् ।

ठूला फाँटहरुमा चार पाङ्ग्रे ट्याक्टरहरुले खेत जोत्ने र साना तथा भिरालो खेतमा मिनि टेलर हलोको सहायताले खेत जोत्ने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार बागलुङमा ५ हजार ८ सय ८३ हेक्टर जमिनमा धान रोपाई हुन्छ ।

१० स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बागलुङमा बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *