पुष्प खेतीमा रमाउदै रामरेखाका बोहोरा

खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहोरा पुष्प व्यवसायमा लागेको ८ वर्ष भयो । भारतको नया दिल्लीमा बिएसी बोट्नी विषयमा अध्ययन पश्चात काठमाण्डौंमा शिक्षक पेशामा आबद्ध बोहोरा आफ्नै ठाउँमा पुष्प व्यवसायको राम्रो संभावना देखेर फर्कनु भएको थियो ।

साविकको धौलागिरी अञ्चलमा व्यवसायीक पुष्प खेतिको अभाव रहेको र बजार विस्तारको राम्रो संभावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसक्नुभएको छ ।

२९ वर्षिय बोहोराले सञ्चालनमा ल्याउनुभएको ऋषिका नर्सरी मार्फत अहिले ठूलो मात्रमा पुष्पको कारोबार हुँदै आएको छ । उहाँले पुष्प संगै फलफूलका विरुवा समेत विक्रि मात्रै नभएर बगैचा सजावटको काम समेत गर्दै आउनुभएको छ ।

पछिल्लो समय धौलागिरीको बागलुङ सहित र म्याग्दी र पर्वत जिल्लासम्म आफ्नो बजार विस्तार भइरहेको भन्दै तिहारको समयमा बढी मात्रमा फूलको कारोबार हुँने भुवनको भनाई छ । तिहारको समयमामात्रै रु. पाँच लाख सम्म फूलको कारोबार गर्ने उदेश्य रहेको उहाँको भनाई छ ।

उहाँले मौसमी मात्रै नभएर बेमौसी फूलहरुको समेत उत्तिकै कारोबार गर्दै आउनुभएको छ । उहाँले फुल विक्रिबाटै तिहारको समय बाहेक समेत मासिक एक लाख ५० हजार आम्दानी समेत गर्दै आउनुभएको छ ।

“सम्बन्धीत विषयमा अध्ययन समेत गरेको थिए, शिक्षक हुँन भन्दा धौलागिरीमा फूलको खासै कारोबार नभएको देखे, आफै बजार विस्तार गर्ने लक्ष्यसहित ८ वर्ष अघिदेखि पुष्प व्यवसायमा लागेको हु” बोहोराले भन्नुभयो “तिहारको समयमा सयपत्री फुल र तयारी माला विक्रि गर्ने भएपनि अघिपछि गमला सहितका गृह सजावटा धेरै फूलहरु विक्रि गर्ने गर्दछु, अहिले आफ्नो नर्सरीमा उत्पादन भएका विशेष फूलहरु काठमाण्डौ र पोखरा समेत पठाउदै आएको छु ।”

तीन वर्ष काठमाण्डौमा विज्ञान विषयको शिक्षक भएपनि व्यवसायमा नाम संगै आम्दानी गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको उहाँको भनाई छ । बोहोराको अनुसार नर्सरीमा अहिल तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । पुष्प व्यवसाय भन्दा वित्तिकै तिहारमा मात्रै गरिने व्यवसायलाई सोचिने भएपनि आफूले बाह्रै महिना फूलको कारोबार गर्ने बताउदै म्याग्दीका तीन वटा स्थानीय पालिका संग फूल र फलफूलका विरुवा निर्यात गर्ने वार्षिक सम्झौता अनुसार काम भइरहेको बताउनुभयो ।

“वार्षिक ग्राहकहरु समेत बनाइसकेको छु, उहाँकै बगैचाको डिजाईन र दुबो सहितको फूल लगाउने संगै परामर्श समेत दिइरहेको हुन्छु” पुष्प व्यवसायी बोहोराले भन्नुभयो “धौलागिरीमा पछिल्ल्लो समय घर सजावटमा फूलको प्रयोग गर्ने, बगंैचामा दुबो लगाउने प्रचलन बढेर गएको छु, आफूलाई खुसी लाग्छ, तिहारलाई मात्रै लक्षित गरेर सयपत्री फूल खेत बारीमा समेत लगाउन सकिन्छ तर मेरो व्यावसायिक पुष्प खेती हो, वार्षिक १५ लाख सम्मको फूलको कारोबार हुन्छ, तिहारमा मात्रै सयपत्री फूलको माग बढी हुन्छ, अन्य समय अन्य बेमौसमी फूलहरुको माग छ ।”

धौलागिरीमा मासिक चार लाखको फूलको कारोबार गर्ने लक्ष्य अनुसार आफूले योजनाबद्ध ढंगबाट काम गरेको बताउदै विस्तारै फूल तथा बगैचा सजावटको बजार बिस्तार भइरहेकोमा खुसी भएको बताउनुभयो । उहाँको साढे चार रोपनी जग्गामा फैलिएको नर्सरीमा हाल सम्म एक करोड लगानी भइसकेको बताउदै दीर्घकालिन लक्ष्यका साथ पुष्प व्यवसायमा लागेको बताउनुहुन्छ ।

उहाँको नर्सरीमा अहिले सयपत्री फूल, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरु रहेका छन् । यस्तै मेवा, आप, अम्बा, किबी, चेरी, एबोकाडो र आरुका उन्नत जातका विरुवाहरु समेत उत्पादन र विक्रि भइरहेको छ ।

साढे तीन रोपनी आफ्नै जग्गा रहेको बताउदै बोहोराले वार्षिक ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिएको बताउनुभयो ।

धौलागिरीमै आफ्नो ठूलो नर्सरी रहेको दाबी गर्दै आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउदा सन्तुष्ट भएको बताउदै उहाँको पुष्प व्यवसायमा बुबा चतुरबहादुर बोहोराले साथ दिदै आउनुभएको छ ।

चार जिल्लाका सरकारी कार्यालय सजावट र फूल आफ्नै नर्सरीबाट निर्यात भइरहेको बताउनुभयो । नेपालमा वार्षिक रुपमा पाँच अर्बको फूल खपत भइरहेको सन्र्दभमा चार जिल्लामा मात्रै कारोबार गर्दा समेत आफूले मनग्य आम्दानी गर्न सफल हुँने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *