डम्मर बुढा मगर, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अवभामा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएनै थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ । आर्थिक वर्ष २०७७÷०७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्न गर्छ ।
पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । पहिलो जनैपूर्णिमा र बैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्ष यता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको संख्या ठूलो छ । अझ यस वर्ष दसैँ बेला निकै ठूलो संख्यामा पर्यटक आएको पाइन्छ । विदेशी पर्यटक सिकार यामका बेला सिकार खेल्न हेलिकप्टर मार्फत आउने गर्छन् । त्यसबाहेक गाडी तथा मोटरसाइकल मार्फत घुम्न आउनेको संख्या पनि बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको संख्या दुई हजार छ सय नौ छ ।
असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्याङ्कमा उल्लेख छ । असोज महिनामा नेपाली चार सय ७५ र विदेशी २१ गरि चार सय ९६ जना ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिनुभयो । कार्तिक दसैँ तिहारको महिना भएको हुँदा यस बेला दुई हजार एक सय १३ पर्यटक आएको उहाँको भनाइ छ । कार्तिकमा दुई हजार ९७ नेपाली र १६ जना विदेशी पर्यटक आएको सूचना अधिकारी पंगेनी बताउनुहुन्छ ।
गत आर्थिक वर्षमा सात हजार छ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आर्थिक वर्षको चार महिनामा तीन हजार ९९९ पर्यटक भित्रिएको अधिकारीको भनाइ छ । अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै यो आर्थिक वर्ष सकिदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उहाँले बताउनुभयो । गत वर्ष १९ लाख ६२ हजार पाँच सय राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षमा बढ्न सक्ने पंगेनीले बताउनुहुन्छ ।
सूचना अधिकारी पंगेनीले भन्नुभयो – “अहिले पर्यटक आगनमलाई निकै बढी छ, यहि हिसाबले पर्यटक आइ राखे यस बढी आउने संभावना देखिएको छ, हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजश्व वृद्धिमा टेवा पुग्ने छ ।”
ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरूले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आर्थिक वर्ष २०७७÷०७८ आन्तरिक पर्यटकहरूले समेत १०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६÷०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकरूको समेत रेकर्ड राख्दै आएको छ ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण)ले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नु परेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उहाँको भनाइ छ । अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको संख्या हरेक दिन बढ्न थालेको कार्यवाहक नगर प्रमुख कायत बताउनुहुन्छ । पहिले विहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उहाँको भनाइ छ ।
“ढोरपाटन देशै उत्कृष्ट गन्तव्यमा पर्छ, तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्राउन सकेको अवस्था थिएन, अहिले पर्यटक आगमन निकै उत्साहजनक छ, अप्ठ्यारो सडकमा पनि पर्यटकहरु गाडी लिएर आएको पाइन्छ, अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेण्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन” कायतले भन्नुभयो – “प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौँ ।”