कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाउन थालेको चार दिनभयो । चार दिनसम्म पनि पालो नपाउँदा दिक्क हुनु भएको छ । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गर्नु भएको छ । तीन जना बुर्तिबाङ पुगेको एक तर्फी भाडानै दुई हजार दुई सय लाग्छ । चार दिनसम्म उहाँहरुले गाडी भाडा मात्रै आठ हजार ८०० रुपैयाँ खर्च गरि सक्नु भयो । खाना र खाजामा चार हजार बढी खर्च भयो । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनु पर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा लिन आउने धेरैको हुने गरेको छ ।

दिनभरी लाइन बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको संख्या सयौँ छ । दाईको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता आउनु भएका हर्कबहादुरले यस्तो समस्या पहिले बागलुङ पुगेर सेवा दिँदा पनि नपाएको सुनाउनुहुन्छ । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै ऋण खोजेर नागरिकता बनाउन आएको बताउनुभयो । एकै दिनमा नागरिकता बन्ने बोकेर आउनु भएका विकले प्रशासनका आफ्नो बोल्ने मान्छे नहुँदा अहिलेसम्म नागरिकता बन्न नसकको विक बताउनुहुन्छ । कर्मचारीलाई नागरिकताका विषयमा सोध्दा बेवास्ता गरेको गुनासो पोख्नुभयो ।

“यतिका दिनभयो, घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन, दिनदिनै हजारौँ रुपैयाँ खर्च भइराखेको छ, काम बन्दैन, मान्छेको ठूलो लाइन छ, पालो कुर्दा कुर्दा दिन बित्छ तर पालो आउन्न” विकले भन्नुभयो – “पहिलो दिननै नागरिकता बन्छ होला भनेर छिमेकीलाई पाँच हजार ऋण मागेर आइयो, अहिलेसम्म नागरिकता नबन्दा पाँच हजार होइन, २० हजारले पनि नपुग्ने अवस्था भयो, भतिजाको नागरिकता बनाइ दिएर विदेश पठाउने भनेको भएन, हाकिम सरहरुले आगामी मंगरबार बल्ल पालो आउँछ भन्नुहुन्छ ।”

ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमतीको नागरिकता बनाउन आएको तीन दिन बित्यो तर अहिलेसम्म पालो नहुँदा भारत फर्कन ढिला भएको छ । दुई दशकदेखि भारतमा रोजगार गर्दै आउनु भएका गुरुङले अहिलेसम्म श्रीमतिको नागरिकता बनाउनु भएको थिएन । नागरिकता बनाएर मंगलबारनै भारत फर्कने भने पनि अहिलेसम्म बन्न नसकेको गुरुङले गुनासो गर्नुभयो । प्रशासनमा सेवा लिनेको ठूलो भिड हुँदा पालो आए नआएको थाहा पाउन पनि मुस्किल पर्ने उहाँको भनाइ छ । कर्मचारीले आइतबार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङ बताउनुहुन्छ ।

गुरुङले भन्नुभयो –“वडा कार्यालयबाट सिफारिस लिएर आएको तीन दिन भयो, गाउँमा त छिटै काम हुन्छ भन्थे तर यहाँ आएको तीन दिन बित्यो तर काम बन्ने अत्तोपत्तो छैन, धेरै जसो हामी इन्डिया तिरै बस्छौँ, त्यही भएर नागरिकता बनाइएको थिएन, अहिले चाहियो र बनाउन लागेको धेरै ढिला भयो, किन ढिला भयो भनेर सोध्दा काम गर्ने मान्छे छैनन् भन्छन्, आउँदा जाँदा धेरै खर्च भयो, उता (भारत) जान पनि ढिला भइसक्यो, आइतबारसम्म पालो आउँछ कि भन्छन् ।”

इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले आवश्यकभन्दा धेरै कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । कार्यालयमा १० दश जनाको दरबन्दी रहे पनि हाल तीन जनाले मात्रै काग गर्नु परेको बताउनुभयो । विभिन्न कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरु आउँदाकै दिन अन्तै सरुवा हुने हुँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाइ छ । यहाँबाट नागरिकता, राहधानी, राष्ट्रिय परिचय पत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उहाँ बताउनुहुन्छ । कर्मचारी नहुँदा अहिले राहधानीको काम ठप्प भएको कुँवरले बताउनुभयो ।

“हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नु हुन्छ, सबैलाई सेवा दिएर पठाउने कोशिस गर्छौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदो रैछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन, अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनको संख्या निकै ठूलो छ” प्रमुख कुँवरले भन्नुभयो – “सरुवा भएर आएका कर्मचारी एक दिन पनि बस्दैनन्, त्यसले गर्दा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *