ओझेलमा बडिगाडको पर्यटकीय क्षेत्र तीनचुले

डम्मर बुढा मगर, बागलुङ
विशाल पहाड । यही पहाडको शिरमा समथर मैदान । यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले आन्तरिक तथा बाह्य पर्यटक पर्खिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी भेडीखोरमा पर्ने तीनचुले प्रचारप्रसारको अवभामा ओझेलमा परेको छ । पदयात्राका लागि उपयुक्त मानिने तीनचुले निकै रमणिय छ । तर पूवार्धार निर्माण नहुँदा फाट्टफुट्ट आन्तरिक पर्यटक मात्रै पुग्छन् । स्थानीयले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरि रहेका छन् । मध्यपहाडी लोकमार्गदेखि गाडीमा साढे तीन घण्टा र करिब चार घण्टाको पैदल यात्रामा तीनचुले पुग्न सकिन्छ ।

ग्रामीण जीवनशैली, कला, संस्कृति र परम्परासँग रमाउँदै तीनचुले पुग्न सकिने भए पनि अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । बढ्दो सहरीकरणका कारण पछिल्लो समय पद यात्रामार्फत गाउँ घुम्ने संस्कृति बढ्दो छ । हरेक महिना सहरी क्षेत्रबाट बागलुङका थुप्रै गाउँहरुमा घुम्न आउनेको संख्या बढ्दै गएको छ । घुम्न आउने युवायुवतीहरुले पुराना कला संस्कृति र रीतिरिवाजलाई बढी मन पराउने गरेका छन् भने अग्ला पहाडका चुचुरोसम्म पुग्ने गरेका छन् । तीनचुले पनि उहाँहरुका लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ । तीन हजार ४०० मिटरको उचाइमा रहेको तीनचुले क्षेत्रमा अहिलेसम्म कुनै पनि पूर्वाधार बन्न सकेका छैनन् ।

यहाँबाट अन्नपूर्ण, माछापुछ«े, धौलागिरी लगायतका दर्जनौँ हिमश्रृङ्खलासहित बागलुङ जिल्लाका विभिन्न क्षेत्र, म्याग्दी गुल्मी, अर्घाखाँची जिल्लाको अवलोकन गर्न सकिने स्थानीय हमाल घर्ती मगरले बताउनुभयो । तीनचुलेमा पुग्ने पर्यटक गोठाला हिड्ने गोरेटोबाटो हुँदै जाने गरेको भन्दै अहिलेसम्म व्यवस्थित पदमार्ग बन्न नसकेको बताउनुभयो । नयाँ वर्ष, होलीपूर्णिमा र दसैँ तिहारका बिदाको समयमा बढी पर्यटक तीनचुले जाने गरेको घर्ती मगरको भनाइ छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले यहाँ लगानी गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उहाँले बताउनुभयो । भौगोलिक विकटताका कारण तीनचुलो संभावना हुँदा हुँदै पनि ओझेलमा परेको घर्ती मगर बताउनुहुन्छ ।

“यो ठाउँ ग्रामीण जनजीवन र पराखपेरा मन पराउने पर्यटकका लागि निकै राम्रो गन्तव्य हो, बडिगाड गाउँपालिकाको कार्यालयर रहेको मध्यपहाडी लोकमार्गबाट जलजला हुँदै रणसिंहकिटेनीबाट यहाँ पुग्न सकिन्छ, अहिलेसम्म कुनै पनि संचरना बनेको छैन, यहाँ पुग्नेहरु पुरानो गोरेटोबाटोको प्रयोग गरेर जाने गरेका छन्” उहाँले भन्नुभयो – “राज्यले थोरै भए पनि लगानी गरेर आधारभूत संरचना बनाएर प्रचारप्रसार गर्न सक्यो भने धेरै पर्यटक भित्राउन सकिन्छ, यस ठाँउ साहसिक पर्यटकहरुका लागि पनि निकै उपयुक्त छ ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले यहाँ अहिलेसम्म लगानी गर्न नसकेको भन्दै आगामी वर्षदेखि योजना बनाएर प्रवद्र्धनका लाग्ने बताउनुभयो । तीनचुलेसँगै रहेको शिवधुरीमा शिव मन्दिर निमार्ण भएको र यस वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको भन्दै उक्त रहेकमले पर्यटकको सहजताका लागि पदमार्ग निर्माण गर्ने बताउनुभयो । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटरको उचाईमा रहेको शिवधुरीलाई तीनचुलेसँग जोडेर आकर्षक गन्तव्यका रुपमा विकास गर्ने अध्यक्ष अधिकारी बताउनुहुनछ ।

उहाँले भन्नुभयो – “बडिगाडमा थुप्रै पर्यटकीय स्थलहरु छन्, सबै ठाउँमा एकै पटक लगानी गर्न सक्ने अवस्था छैन, हरेक वर्ष फरक फरक ठाउँमा लगानी गर्दै आएका छौँ, यस वर्ष पनि शिवधुरी लगायतका ठाउँमा बजेट विनियोजन गरेर काम गर्ने चरणमा छौँ, तीनचुले पनि हाम्रो प्रमुख गन्तव्यमा पर्छ, यसको विकास गरि प्रचारप्रसार र प्रवद्र्धन गर्न तर्फ लागेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *