लोकमार्ग कालोपत्रे भएपछि एक साताको यात्रा पाँच घण्टामै

डम्मर बुढा मगर, बागलुङ
डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनु पर्ने बाध्यता थियो । सडक संजालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएका छन् । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्रे भएपछि हिजाओज यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउन सकिन्छ । जिल्लाको ससबैभन्दा टाढाका गाउँ मानिने सीखोला गाउँपालिका–५ र ६ का बस्तीलाई अहिले सडकले नजिक बनाएको छ ।

पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले रुपै स्वरुप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैकि दर्जनौँ गाडी गुड्न थालेका छन् । जसले गर्दा दैनिकीसमेत फेरिएको छ । खास गरि लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग गोडिएपछि शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोला लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोका खुलेका छन् । लोकमार्ग वरपरका खाली जग्गामा धमाधम घर भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । जसले गर्दा यहाँका हजारौँ नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेकाहरु अहिले आफ्नै ठाउँ बजार हुँदा दंगछन् ।

स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलो पटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले विहान गएर साँझ अबेरसम्म घर आइ पुग्ने बताउनुभयो । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झण्डै एक महिना बिताउनु परेको स्मरण गर्दै आजझोली सबै काम बुर्तिबाङमा हुन थालेको सुनाउनुभयो । सडक लोकमार्गले गाउँ नजोडिदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पा लगायतका स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको उहाँ बताउनुहुन्छ ।

“विकास हुन धेरै समय लाग्दो रैनछ, यहाँका कोहीले पनि यो ठाउँमा सडक आउला र मुहार फेर्ला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन” पुन मगरले भन्नुभयो – “उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले त पाँच घण्टामै पुगन सकिदो रैछ, मन छक्क परे, एउटा कामले छोरोसँग मोटरसाइकलमा गाको, उत्तिखेरै पुगेर साँझ घरको आइयो, हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा लिन पाएनन्, हामीहरुले बुढेसकालमा भए पनि सुविधा लिन पायौँ ।”

स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताउनुभयो । पहिले–पहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै अहिले धमाधम पक्की भवन, सडक र विद्यालयहरु बन्न थालेको सुनाउनुभयो । पाँच वर्ष अगाडिसम्म पनि आफ्नो ठाउँमा कच्ची घरहरु रहेकामा अहिले बजारबाट सिमेन्ट छड लगायतका सामग्रीहरु सहज रुपमा ढुवानी गरेर ल्याउन थालेपछि पक्की बन्न थालेको उहाँ बताउनुहुन्छ । सहर बजार जाँदा पनि दिनभरीनै लाग्ने गरेको भन्दै अहिले जिल्लाको जुनसुकै ठाउँमा केही घण्टा मात्रै लाग्ने सुनारको भनाइ छ ।

उहाँले भन्नुभयो – “लोकमार्गले यात्राका लाग समय कम लाग्ने मात्रै भएन, यसले हामी जस्तो विकट ठाउँका मान्छेको जीवनशैलीनै बदलियो, सरसफाइदेखि लिएर स्वास्थ्य शिक्षामा हामीहरु धेरै पछाडि थियौँ, तर अहिले धेरै सुधार भएको छ, बाहिरबाट मान्छेहरु पनि आउँछन्, उनीहरुबाट पनि केही नयाँ कुरा सिक्ने अवसर पनि मिलेको छ, गाउँमा उत्पादन हुने वस्तु विक्री गर्न र बाहिरबाट ढुवानी गरेर ल्याउनका लागि पनि धेरै सहज भएको छ ।”

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुङ्गादेखि रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । तीन वर्ष अगाडि कालोपत्रे भएपछि निसीखोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *