तीन सय ५० जनालाई निःशुल्क चस्मा

डम्मर बुढा मगर, बागलुङ
गलकोटका तीन सय पचास जना नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको छ । गत भदौ महिनामा गलकोट नगरपालिका–५ ले निःशुल्क आँखा शिविर गरेको थियो । शिविरमा आँखा चेक गरेका पाँच सय जनाको रिपोर्टलाई वडा कार्यालयले जापान पठाएको थियो । जापानमा पाँच सय जनाको रिपोर्ट पठाएकोमा चस्मा लगाउनु पर्ने ३५० जनाका लागि त्यहाँको वनडेज् चस्मा कम्पनीले निशुल्क उपलब्ध गराएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो । वनडेज् चस्मा कम्पनीले करिब साढे ३२ लाख बढीको चस्मा उपलब्ध गराएको उहाँको भनाइ छ ।

चस्मा ‘ब्राण्डेड’ भएको हुँदा एउटाको मूल्य १२ देखि १५ हजार रुपैयाँ परेको अध्यक्ष हमालले बताउनुभयो । चस्मा वितरणका लागि वनडेज् चस्मा कम्पनीले चार जना प्रतिनिधि पठाएको र उनीहरुकै उपस्थितीमा नागरिकलाई चस्मा वितरण गरेको उहाँको भनाइ छ । चस्मा आयातको लागि घुम्टे विकासले सहयोग गरेको अध्यक्ष हमालले बताउनुभयो । चस्मा पाएपछि यहाँका नागरिक खुसी भएको उहाँ बताउनुहुन्छ ।

“ग्रामीण क्षेत्रमा आँखाको उपचार हुँदैन, धेरै नागरिक आँखाको रोगबाट ग्रसित हुने पाइयो, त्यसले गर्दा हामीहरुले भदौमा निःशुल्क आँख शिविर संचालन ग¥यौँ र आँख चेकजाँज गरेका सबैको रिपोर्ट जापान पठाएका थियौँ, त्यहाँको चस्मा कम्पनीसँग सहकार्य ग¥यौँ र अहिले कम्पनीले निःशुल्क लाखौँको चस्मा उपलब्ध गरायो” अध्यक्ष हमालले भन्नुभयो – “एउटै चस्माको मूल्य १२ हजारदेखि १५ हजारसम्म पर्दो रहेछ, चस्मा कम्पनीबाटै प्रतिनिधि आउनु भयो र सबैलाई वितरण गरिसक्यो, यसले गाउँका धेरैलाई सहज बनाइ दिने छ ।”

स्थानीय ७५ वर्षीया भीमकुमारी शेरचनले लामो समयदेखि आँखा कमजोर भएपछि हिँडडुल गर्दै समस्या भएको भन्दै चस्मा पाएपछि सबै देख्न थालेको सुनाउनुभयो । नजिकमा आँखा अस्पताल नहुँदा पोखरा काठमाडौँ जादा हजारौँ रुपैयाँ खर्च हुने भन्दै अहिले घरमै निःशुल्क चस्मा पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “वडा कार्यालयले राम्रो काम ग¥यो, हामी जस्ता बुढाबुढीलाई धेरै सुविस्ता भयो, मैले चस्मा नलगाउँदा यतायती हिँड्नै सक्दैनथे, छरछिमेकीलाई भेट्न मन लाग्थ्यो, जाँदा कतै लडिने डर हुन्थ्यो, अहिले त टाढा–टाढा पनि देख्न सक्ने भएको छु, धेरै पटक अस्पताल पुगेको थिएँ, अस्पतालले आँखामा राख्ने औषधी मात्रै दिएको थियो, औषधी लगाएर निकोनै हुँदो रहेनछ ।”

स्थानीय ५८ वर्षीय दुर्गाबहादुर खत्रीले जनप्रतिनिधिले रोगी र बिरामीको समस्या बुझेको सुनाउनुभयो । आफू लामो समयदेखि आँखाको समस्या भोग्दै आएको भन्दै चस्मा पाएपछि संसार देखे जस्तो भएको खत्रीको भनाइ छ । आँखा चेकजाँच गर्दा पनि कुनै शुल्क नलागेको र चस्मा पनि ‘फ्रि’मा पाएको उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *