मौरीपालनमा महिलाको अग्रसरता


खेमराज गौतम, बागलुङ
बागलुङको प्रसिद्ध बलेवा कालभैरव मन्दिरको काखको भिरालो बारीमा टिनको छानो बनाएर मौरीपालन गरेको मन्दिर पुग्ने जो कोहीले देख्छन् ।

मौरीपालनलाई थप व्यवसायिक बनाउन मौरीको घारमाथीबाट टिनको छानो लगाइएको छ, जस्कारण टाढाबाट देख्दा सानो–सानो घर जस्तो देखिन्छ । मौरीको घारमुनी लटरम्म काउली र बन्दा समेत हुर्केका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौर स्थित चोलादेवि पाठक यतिबेला आफ्नो घरमुनीको बारीमा मौरीको स्याहारमा दिन बिताउन थाल्नुभएको तीन वर्ष पुग्यो ।

बाख्रापालन र मौरीपालन एकसाथ थाल्नुभएको पाठकले महिलाले समेत पुरुषले सरह उद्यम गर्न सक्ने बताउदै श्रीमानको सहयोग रहेको बताउनुहुन्छ ।

अहिले पाठककको मौरीफर्ममा ४५ मौरी सहितका घार रहेका छन् । पाठकले बाख्रापालन भन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताउनुभयो ।

उहाँले वर्षमा ५५० किलोग्राम मह उत्पादन हुँदै आएको बताउनुभयो ।

“परिवारको सहयोग छ, आफै मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हो, अहिले उत्पादन भएको मौरी विक्रिका लागि बजार पुग्न पर्दैन भैरवस्थान मन्दिर दर्शनका लागि आएकाहरुले खरिद गरेर लैजान्छन्” पाठकले भन्नुभयो “४५ वटा बाख्रा समेत पालेको थिए, तर बाख्रा पाल्न अलि धेरै खर्च हुँने रहेछ, अहिले १० वटा मात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेती समेत गर्दै आएको छु ।”
पाठकका ससुराबुबा देवि प्रसाद पाठकले परम्परादेखि पाल्दै आउनुभएको मुडे घारको मौरीलाई तीन वर्ष अघिदेखि व्यावसायिक बनाउन थालिएको हो । घरमा अझैपनि केही मुडे घार छन् ।

बाख्रापालनका लागि २०० वटा राइखन्यूका विरुवाहरु लगाइएको र आगमी दिनमा बाख्रा समेत बढाउदै लैजानेगरी आधुनिक खोर व्यवस्थापन समेत गरिएको छ ।

५० वटा बाख्रा अट्नेगरी खोर व्यवस्थापन गरिएको पाठकको भनाई छ । “बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भएपनि आम्दानी राम्रो छ, गत वर्ष रु. एक लाख ५० हजार बराबरको अनुदान समेत पाएको थिए” उहाँले भन्नुभयो “४५ घारबाटै वार्षिक ६ लाख बढी कमाउन सकिने रहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगमी दिनमा १०० मौरीका घार पु¥याउने हाम्रो परिवारको योजना रहेको छ ।”
मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्ने उहाँको भनाई छ ।
महिला अगाढी बढेर बाख्रा पालन र मौरीपालनमा लाग्नदा परिवारको राम्रो सहयोग मिलेको बताउदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाई छ ।

चार वर्ष अघि कुश्मा पुगेर मौरीपालन तालिम लिए पश्चात मौरीपालनमा लाग्नुभएको पाठकले मौरीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि दंग हुनुभएको छ ।

अहिले प्रतिकेजी रु. एक हजार २०० मा मह विक्रि भइरहेको बताउदै पाठकले बजारको समस्या नरहेको जानकारी दिनुभयो ।

अर्गानिक मह उत्पादन गर्न सके बजारको चिन्ता लिन नपर्ने उहाँको भनाई छ । उहाँको फर्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक खार रहेका छन् जसन घार भारत समेत निर्यात गरिएको छ ।

मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाई छ ।

कोट भैरव कृषि मौरी र पशुपंक्षी फर्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रम अन्र्तगत रु. एक लाख ५० हजार अनुदान समेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।

पुनले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *