सालझण्डी–ढोरपाटन सडकको कामले गति लिन थाल्यो

डम्मर बुढा मगर, बागलुङ
लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडकले गति लिन थालेको छ । तराई पहाड जोड्ने गरि निर्माण थालिएको यस सडकको बागलुङ खण्डमा मंसिर लागेपछि बल्ल कामले गति लिन थालेको हो । राष्ट्रिय प्राथमिकताको योजनाको रुपमा रहेको यो सडक बागलुङ खण्डमा ट्रयाक खुलेको आठ वर्ष बितिसक्यो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नती हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतीका लागि गत वर्ष ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नती गर्नका लागि सम्झौता भएको थियो । सडक स्तरोन्नतीका लागि गत वर्ष कार्तिकमा स्वच्छन्द÷ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रुपैयाँमा ३० महिनामा सक्ने गरि जिम्मा लिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दवाब बढेपछि अहिले बल्ल काम थालेको हो । सडक खण्ड अन्तगत पर्ने बुर्तिबाङ–ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थामा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्टान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभी कम्पनीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गर कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर विकले बताउनुभयो । निर्माण कम्पनीले धमाधम काम सुरु गरेपछि अब सडक बन्ने आशा पलाएको उहाँको भनाइ छ । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको बताउनुभयो । बाटो राम्रो बनेपछि स्थानीय र पर्यटकलाई सहज हुने उहाँ बताउनुहुन्छ ।

निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरको बतासेडाँडा वडा नम्बर ९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरि रहेको निर्माण कम्पनी स्वच्छन्द÷ओमबुद्ध जेवीका प्रतिनिधि दिपेश लामाले बताउनुभयो । आगामी २०८१ बैसाख ४ गते निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कम्पनीले हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगती गरेको उहाँको भनाई । अब सडकको काम सकेर मात्रै जाने उहाँ बताउनुहुन्छ ।

कुल १९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ । त्यस मध्य चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्रे भइसकेको छ । त्यस बाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खास्सै काम हुन सकेको छैन । सडकको ट्रयाक आर्थिक वर्ष २०७२÷०७३ मा खुलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *