पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था

डम्मर बुढा मगर बागलुङ
बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचि छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्ने र्गछन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यहाँ पुग्ने सडकको दुरावस्थाका कारण आगन्तुक र स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । बागलुङको सिंगो दक्षिण भेगलाई जोड्ने गरि निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्याक खुलेको एक दशक बितिसक्दा पनि स्तारोन्नती हुनु सकेको छैन । यस सडकलाई निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रुपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नती गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने निकै जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङको बीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडकको वर्षौँसम्म पनि स्तरोन्नतीको काम हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्ने गरेका छन् । जोखिमपूर्ण सडकका कारण जागाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतीका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनुवाई हुन सकेको छैन । बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमश्रृङ्खलाको दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन् र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि जाने पर्यटक सडकका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकले बताउनुभयो ।

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उहाँको भनाइ छ । आफूहरु दैनिक यही सडक भएर सामान किनमेल र सरकारी कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गर्नुभयो । दशौँ वर्षसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजा दहमा आउने पर्यटक बढाउन नसकेको विकले बताउनुभयो । नेताहरुले स्तरोन्नती गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उहाँको भनाइ छ ।

विकले भन्नुभयो – “यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनि नसक्नु छ, जंगलको बीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन्, सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एक पटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण गरि दिए त अल्ली बिसेक हुन्थ्यो नि, कसको ध्यान जाने ?, हामीहरु त दिक्क भयौँ, पहिले यो गाजाको दहका कति धेरै मान्छे आउँथे, अहिले त धेरै कम भएको पाएका छौँ ।”

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नती गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको सुनाउनुभयो । सडक साँघुरोका कारण समय–समयमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएको हुँदा दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतीका लागि माग गरे पनि सुनुवाई नभएको उहाँको गुनासो छ ।

बागलु बजारदेखि सिगानासम्मको काम कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर अहिले काम गरेको भुक्तानी नपाएपछि रोकिएको छ । ३० महिनाको समय अवधी पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको छ । यस आयोजनाको जिम्मा आएको कर्ण विल्डर्सका प्रमुख नविन गुरुङले गत वर्ष काम गरेको साढे दुई करोड रुपैयाँ अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताउनुभयो । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म साढे नौँ करोड बढीको काम गरेको उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *