डम्मर बुढा मगर, बागलुङ
बागलुङका १० वटै पालिकामा यति बेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैठौँ पटक प्रतियोगिता संचालन गरि रहेका छन् । स्थानीय तह आउनु पूर्व पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन्थे । खास गरि माध्यमिक तहमा पढ्ने बालबालिकाहरु प्रतियोगितामा सहभागी हुन्छन् र आफ्नो प्रतिभा प्रस्फुटन गर्छन् । जिल्लाका धेरै विद्यालयमा खेल मैदानको अभाव छ । तर पनि विद्यार्थी बारीको कुना, सडक र साँघुरा ठाउँमा खेल खेल्दै आएका छन् । धेरै ठाउँका विद्यार्थी मध्यपहाडी लोकमार्गमा बढी खेल्ने गरेको पाइन्छ । खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै ।
बागलुङमा अहिलेसम्म पनि व्यवस्थित खेल मैदान नहुँदा यहाँका हजारौँ बालबालिका र खेलाडीलाई खेल्ने र सिक्ने वातावरण राम्रो छैन । यद्यपी बागलुङबाट राष्ट्रिय स्तरका खेलाडी धेरै छन् । जिल्ला सदरमुकाम स्थित बाङ्गेचौर खेल मैदान, तमानखोलाको तमान मिनी रंगशाला र बुर्तिबाङमा रहेको उत्तर गंगाक माविको खेल मैदान बाहेक अन्य ठाउँमा पर्याप्त खेल्ने ठाउँ छैन । जिल्लाका सबै पालिकामा व्यवस्थित खेल मैदान हुनु पर्ने हो तर सरोकारवाला निकायले खेल क्षेत्रलाई उपेक्षामा पारेको खेलाडीहरुको गुनासो छ । हरेक वर्ष पालिकाले संचालन गर्ने राष्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगितात्मक कार्यक्रम कि सडकमा कि विद्यालयको प्राङ्गणमा गर्दै आएका छन् । जसले गर्दा सडकमा दुर्घटना हुने जोखिम बढेको छ भने विद्यालयमा पढाई रोकेर कार्यक्रम गर्नु पर्ने अवस्था छ ।
हरेक वर्ष पालिकाहरुले संचालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियो गर्दा खेल मैदानको अभाव भोग्दै आए पनि व्यवस्थापन गर्न तर्फ चासो दिएका छैनन् । विद्यालय र गाउँपालिकामा व्यवस्थित खेल मैदान नहुँदा वर्षौँदेखि आफूहरु सडकमै खेल खेल्ने र अभ्यास गर्ने गरेको निसीखोला गाउँपालिका–५ का बिमल घर्ती मगरले बताउनुभयो । उहाँले विद्यालयले दौड, कपर्डी लगायतका खेल लोकमार्गमा खेलाउने गरेको भन्दै समय समयमा विद्यार्थीहरु लडेर चोटपटक लाग्ने गरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो – “स्कूलको खेल मैदान बाहेक अन्य ठाउँमा पनि व्यवस्थित खेल मैदान हुनु पर्ने हो, तर कतै पनि छैन, हाम्रो निसीखोलामा धेरै मेला महोत्सव लाग्छन्, ति मेला महोत्सव सबै विद्यालयमा लाग्ने गर्छन्, त्यसले गर्दा धेरै दिन स्कूल बन्द हुन्छ, मेलाले गर्दा पढाई रोकिने समस्या धेरै वर्ष पहिले देखियो, स्थानीय सरकार छ, तर अहिलेसम्म राम्रो खेल मैदान बनाउन सकेको छ, खेल क्षेत्रको विकासका लागि लगानीसमेत गरेको पाइँदैन ।”
निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले अहिलेसम्म पालिकामा खेल मैदान निर्माण नभएको जानकारी दिनुभयो । यस वर्ष गाउँपालिकाले वडा नम्बर ७ को नरसिंहकोटमा पालिका स्तरीय खेल मैदान बनाउने गरि निर्णय गरेको भन्दै आगामी वर्ष बजेट विनियोजन गरेर निर्माण गर्ने गौतमको भनाइ छ । खेल क्षेत्रको प्रवद्र्धनका लागि पालिकाका विभिन्न ठाउँमा खेल मैदान आवश्यक रहेको छ निर्माणका लागि योजना बनाएको उहाँ बताउनुहुन्छ ।
जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिकामा पनि व्यवस्थित खेल मैदान बन्न सकेका छैनन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पालिकाको ग्रामीण क्षेत्रमा खेल मैदान भए पनि बजार आसपासमा नभएको बताउनुभयो । बजार क्षेत्रमा जग्गा व्यवस्थापन गर्न समस्या भएको हुँदा विद्यालयहरुमै कार्यक्रमहरु गर्दै आएको उहाँको भनाइ छ । नगरपालिकाको वडा नम्बर १ दुदिलाभाटी, वडा नम्बर ८ को काँडबास र वडा नम्बर ११ को रिघामा खेलमैदान रहेको भण्डारीले बताउनुभयो ।
“गलकोट नगरपालिकामा खेल मैदान नभएका होइनन्, गाउँका केही ठाउँमा छन्, तर पालिका स्तरीय कार्यक्रम गर्नु पर्दा बजारमै खेल मैदान नहुँदा नजिकका विद्यालयहरुमा गर्ने गरेका छन्, यस क्षेत्रमा धेरै युवा र बालबालिका भलिबल खेलप्रति बढी चासो देखाउने गरेका छन्, त्यसले गर्दा जग्गा पाइने ठाउँहरुमा खेल मैदान बनाउने गरि काम गरेका छौँ” उहाँले भन्नुभयो – “विद्यालयमा पनि व्यवस्थित खेल मैदानको जरुरी हुन्छ, नगरपालिकाले साँघुरा र अप्ठ्यरा मैदानलाई व्यवस्थित बनाउने तयारीमा छ ।”